८ वैशाख २०८१ शनिबार
खेल

उसुमा निमाको कीर्तिमानी स्वर्ण

काठमाडौं - निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो संस्करणमा स्वर्ण जित्न सफल भएकी छन्। निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार कीर्तिमानी स्वर्ण जितेकी छन्। उनले उसुमा लगातार दुई सागमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

उसुमा नेपालले बिहीबार थप दुई स्वर्ण जित्दा निमाले महिला थाउलोको नानताउमा स्वर्ण दिलाइन्। नेपालले थाउलो र सान्डामा एक/एक पदक जितेको हो। जारी सागअन्तर्गत उसुमा नेपालले चार स्वर्ण जित्दा यसअघि थाउलोमै विजय सिञ्जाली, अस्मिता तामाङ र दीपक हमालले सफलता दिलाएका छन्।

लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा बिहीबार निमाले पनि अलराउन्डरमा १८.९१ अंक बटुल्दै स्वर्ण जितेकी हुन्। उसुमा निमाले जितेको चौथो स्वर्ण हो। सन् २०१६ मा भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद(साग)मा उसुकी खेलाडी निमा घर्तीमगरको नेपालभित्रै निकै चर्चा भएको थियो।

उनको त्यस किसिमको चर्चा स्वभाविक पनि थियो। निमाले जुन परिस्थितिबाट १२औं सागमा देशलाई स्वर्ण दिलाएपछि नेपाली खेलकुद हर्षित बनेको थियो। करोडौंका लगानीको नेपाली खेलकुदलाई उनले निराशा हुनबाट केही हदसम्म जोगाइएकी थिइन्। गत संस्करण नेपालले कुल तीन स्वर्ण जित्दा निमाले उसुको थाउलोबाट दिलाएकी थिइन्। २०५६ पुस २ गते रोल्पाको कोटगाउँ–१, माडिचौरमा जन्मिएकी निमाले घरेलु मैदानमा २० वर्षपछि साग हुनुअगाडि नै आफ्नो लक्ष्य दोस्रो स्वर्ण जित्ने रहेको बताएकी थिइन्।

जुन बिहीबार निमाले पूरा गरेकी छन्। निमाको खेल हेर्न उनका बुबा मन्सुर र आमा पुना सातदोबाटोको लगनखेलको आर्मीको कबर्ड हलमा पुगेका थिए। सोही क्रममा निमाले आफ्ना परिवारलाई स्वर्ण लगाइदिँदै खुसी साटेकी थिइन्। जितपछि निमाले परिवारको अघि राम्रो खेलेर स्वर्ण जितेको क्षण वर्णन गर्नै नसकिरहेको बताइन्। ‘यो क्षण मेरो लागि निकै अविस्मरणीय हुनेछ,’ निमाले भनिन्, ‘मेरो परिवारको साथमा स्वर्ण जितेको क्षण बाँड्न पाएको छु।’

सान्डामा जुनीले जितिन् स्वर्ण
सान्डाको महिला ५६ केजी तौल समूहमा नेपालकी जुनी राईले स्वर्ण जितिन्। उनले फाइनलमा श्रीलंकाकी मधुमालीलाई पराजित गरिन्। यससँगै नेपालले उसुमा पाँच स्वर्ण जित्न सफल भयो। महिला ५६ केजी तौल समूहमा भारतकी विद्यापति चानु र बंगलादेशकी साकी अख्तरले कांस्य जिते। थाउलोको नानताउ अलराउन्डरमा बंगलादेशकी मोर्जिना अख्तरले १६.३० अंकसहित रजत र श्रीलंकाकी सन्जु कुमारीले १४.७४ अंकका साथ कांस्य जितिन्।

थाउलोमै नेपालका मिना ग्लान र विश्व बुढामगरले रजत जिते। मिनाले महिला ताइचिचेन अलराउन्डर र विश्वले ताउसुकुन्सु अलराउन्डरमा रजत जितेका हुन्। महिला ताइचिचेनमा श्रीलंकाकी गुणसेखराले स्वर्ण र बंगलादेशकी दीप्ति दासले कांस्य जितिन्। ताउसुकुन्सु अलराउन्डरमा भारतका सुरियज सिंहले स्वर्ण र बंगलादेशकी मोहमद रसेल हुसेनले कांस्य जिते।

महिला ५२ केजीमा भारतकी सानाथोई देवीले स्वर्ण जितिन्। नेपालकी एलिना चौधरीले रजत, पाकिस्तानकी फतिमा र श्रीलंकाकी दिलहानीले कांस्यमा चित्त बुझाए। ६० केजीमा भारतकी रोसिविना देवीले स्वर्ण, पाकिस्तानकी माइरा करामतले रजत र बंगलादेशी रीताविश्वास पूजाले कांस्य जिते।

६५ केजीमा पाकिस्तानकी सुन्दासलाई पराजित गर्दै भारतकी सुशीलाले स्वर्ण जितिन्। महिलाको ७० केजीमा भारतकी दीपिकाले स्वर्ण र नेपालकी विन्दा पुनले रजत र बंगलादेशकी बासुना खन्डोटखरले कांस्य जिते। महिलाको ७५ केजीमा भारतकी पुनमले स्वर्ण र नेपालकी शिलु डंगोलले रजत पदक जिते।

सान्डाकै पुरुष ५२ केजीमा भारतका सुनिल सिंहले स्वर्ण, पाकिस्तानका फरहान अलीले रजत, नेपालका अशोक खालिङ र श्रीलंकाका चण्डिकाले कांस्य जिते। पुरुषकै ५६ केजीमा भारतका उचित शर्माले स्वर्ण, बंगलादेशका सोजिव हुसेनले रजत, पाकिस्तानका अब्दुल खालिक र श्रीलंकाका एसआर कुमाराले कांस्य पदक जिते।

पुरुषको ६० केजीमा भारतका विक्रान्त बालियानले स्वर्ण जिते। घाइते भएर खेल त्यागेका नेपालका मंगल थारूले रजत जित्दा श्रीलंकाका पीएन बलवारदना र बंगलादेशका मोहमद मिलोन अलीले कांस्यमा चित्त बुझाए। ६५ केजीमा भारतका रवि पञ्चालले स्वर्ण जित्दा निपुन सानिकाले रजत, पाकिस्तानका सद्दाम हुसेन र बंगलादेशका मोहमद रकिब हुसेनले कांस्य पाए।

सान्डा पुरुषकै ७० केजीमा भारतका सुरज यादवले स्वर्ण जिते। उनले पाकिस्तानका सहजैब खैरलाई पराजित गरे। यस स्पर्धामा श्रीलंकाका रुमेश र नेपालका चित्रसिंह ठकुरीले कांस्यमा चित्त बुझाए। ७५ केजीमा पाकिस्तानका माज खानले स्वर्ण, श्रीलंकाका पुष्प कुमाराले रजत, बंगलादेशका सलिम अहमद र भारतका भातकुमार जोगीनाथले कांस्य जिते।

८० केजीमा पाकिस्तानका साजिद हुसेनले स्वर्ण, भारतका नवभिनले रजत, बंगलादेशका मोहमद रुबेल खान र नेपालका निकेश श्रेष्ठले कांस्य पाए। पुरुषको ८५ केजीमा पाकिस्तानका मोहमद अम्जद इक्वालले स्वर्ण, श्रीलंकाका मधुशंकाले रजत र नेपालका किरण साउदले कांस्य जिते।

प्रकाशित: २० मंसिर २०७६ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App