८ वैशाख २०८१ शनिबार
खेल

आवाजको आकर्षणले डो-याउँदा

काठमाडौं - कोटेश्वरका अस्थायी बासिन्दा भूपेन तीन वर्षअगाडि कलेजबाट फर्किंदा सधैंजसो सडकनजिकै मार्सल आर्ट्सका खेलाडीहरूको अभ्यासका अवाज सुन्ने गर्थे। भूपेनले खेलाडीको अभ्यास आवाज सुने पनि त्यसमा खासै ध्यान दिँदैनथे। मोरङबाट विज्ञान विषय पढ्न काठमाडौं आएका भूपेनका लागि खेलतर्पm खासै ध्यान नहुनु स्वाभाविक पनि थियो। उच्च शिक्षाको लक्ष्य लिएर आएका भूपेन आफैको पनि चाहना पढाइमै केन्द्रीत हुने थियो। त्यसैले पनि खेलाडीका अभ्यासका आवाजले भूपेनलाई खासै प्रभाव परेको थिएन।

तथापि हरेक दिन सोही आवाज सुनिरहँदा एकदिन पक्कै पनि त्यसले सकारात्मक प्रभाव पार्ने गर्छ। भूपेनका लागि पनि त्यस्तै भयो। हरेक दिन खेलाडीका अभ्यासका आवाज सुनिरहँदा उनलाई पनि खेलौखेलौं जस्तो लाग्न थाल्यो। मानिसहरूले भन्ने गरेको एक कथ्य नै छ ‘,जुराएको छ भने भइ नै हाल्छ।’ सायद भूपेनका लागि पनि त्यो मार्सल आट्र्स खेल्न जुराएकै रहेछ।

१२ कक्षामा पढ्दै गर्दा एक दिन उनका साथी पृथ्वी खरेलले सोही मार्सल आटर्स खेलिरहेका ठाउँमा जान प्रस्ताव गरे। उनका साथी पनि त्यहीं तेक्वान्दो खेल्दा रहेछन्। भूपेन साथीसँगै गएको स्थान थियो ‘कोटेश्वर तेक्वान्दो डोजाङ।’ यहाँबाट यसअघि नै दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेताद्वय दाजुभाइ निरञ्जन र निर्मल श्रेष्ठ जस्ता खेलाडीलाई उत्पादन गरेको स्थान थियो।

यी दुवै पाकिस्तानको इस्लामवादमा सम्पन्न नवौं सागका स्वर्ण विजेता हुन्। सोही डोजाङबाट राष्ट्रिय टोलीमा धेरैजसो खेलाडीमा आउने गर्छन्। सोही डोजाङका प्रमुख तथा राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका नवीनकुमार श्रेष्ठले भूपेनलाई देख्ने बित्तिकै भनिहाले ‘भाइ, तिमी तेक्वान्दो खेल्छौ।’ नभनून् पनि किन ? भूपेन खाइलाग्दा थिए र उचाइ ६ फिटभन्दा माथि।

भूपेनले पनि ‘हुन्छ’ भनिहाले। खेल्न थालेपछि मात्र भूपेनलाई थाहा भयो। जुन स्थानमा उनी खेलिरहेका छन् ‘त्यो डोजाङबाट दुई दर्जनभन्दा बढी राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका रहेछन्। १२ कक्षा सकिएपछि प्रशिक्षण गर्दा सदैव उनलाई प्रशिक्षण हलमा रहेको दुई फोटोले ध्यान खिच्दो रहेछ। ती फोटोहरू सागका स्वर्ण विजेताद्वय दाजुभाइ निरन्जन र निर्मलकै थिए।

सोही फोटो हेर्दै उनी पनि कल्पना गर्दै मनमनै भन्ने गर्थे ‘यो भित्तामा मेरो पनि फोटो भए।’ जुन भूपेनको कल्पना बिहीबार पूरा भएको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको अन्तिम प्रतिस्पर्धा पुरुष ८७ केजी तौलसमूहमा भूपेनले स्वर्ण जितेका छन्। खेल्न सुरु गरेको तीन वर्षमै २१ वर्षे भूपेनले जीवनकै उत्कृष्ट सफलता प्राप्त गरे।

फाइनलमा भारतका अक्ष होडालाई २९–२७ को रोमाञ्चक स्कोरले हराउँदै भूपेन स्वर्ण जित्न सफल भए। केही महिनाअगाडि मात्र भारतमा सम्पन्न भारत ओपन उनै होडालाई १२–५ ले सहजै हराएका भूपेनका लागि बिहीबार भने त्यति सहज बनेन। होडाले सुरुआतीदेखि नै भूपेनमाथि दबाब बनाउँदा दोस्रो चरणसम्म २०–१९ ले अग्रता लिएका थिए।
तर उत्कृष्ट पुनरागमन गर्दै भूपेनले स्वर्ण आफ्नो बनाए।

उनले स्वर्ण जितेसँगै यस सागमा तेक्वान्दोका २९ स्वर्णको प्रतिस्पर्धा सकिएको थियो। त्यो स्वर्णसँगै नेपालले तेक्वान्दोतर्फ १२ स्वर्ण पदक पनि आफ्नो बनाउन सफल भयो। बिहीबार नेपाललाई स्वर्णमा निल हुनबाट बचाएपछि भूपेनले भने, ‘मेरो सपना पूरा भएको छ।’ साथै उनै भूपेनले मजाक गर्दै भने ‘मलाई तेक्वान्दो खेल्न सिकाएको डोजाङमा मेरो पनि फोटो हुनेछ।’ उनले आफ्नो सफलताका श्रेय आफ्ना प्रशिक्षकसँगै बुबा आमालाई समर्पित गरेका छन्।

तेक्वान्दोमा नेपाल सफल
नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको २९ स्वर्णका प्रतिस्पर्धा सकिँदा १२ स्वर्ण, ७ रजत र ११ कांस्य जितेको छ। नेपालले फाइटमा पाँच स्वर्ण र पुम्सेमा ७ स्वर्ण जित्न सफल भयो। भारतले ९ स्वर्ण, ९ रजत र ९ कांस्य जित्दा श्रीलंकाले ४ स्वर्ण, ७ रजत र १६ कांस्य तथा पाकिस्तानले तीन स्वर्ण, पाँच रजत र ९ कांस्य जित्न सफल भयो। बंगलादेशले एक मात्र स्वर्ण जित्दा भुटान भने स्वर्णविहीन रह्यो।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न  ६ स्वर्ण प्रतिस्पर्धामा भारतले तीन, पाकिस्तानले दुई र नेपालले एक मात्र स्वर्ण जितेका थिए। भूपेन श्रेष्ठले स्वर्ण दिलाएसँगै नेपालले तेक्वान्दोको प्रतिस्पर्धामा कुल १२ स्वर्ण आफ्नो बनाएको थियो। बिहीबार नेपालका तीन खेलाडी मनिता साही, अप्सरा कार्की र किरणबहादुर आले स्वर्ण जित्नबाट चुके।

भारतका पूर्वा दीक्षितले ४९ केजीमुनि तौलसमूहमा श्रीलंकाकी इरानगनी पुष्पालाई १४–६ ले हराउँदै स्वर्ण जितिन्। सोही तौलमा नेपाली युनिसा राई र श्रीलंकाकी आयसा नुरले कांस्य पदक जिते। महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले स्वर्ण जित्दा फाइनलमा नेपाली अप्सरा कार्कीलाई ८–५ ले स्तब्ध बनाइन्।

यस तौलमा भुटानकी सोनम यान्सो र बंगलादेशकी मस्ट सल्माले कांस्य जितेका थिए। भारतकी मार्गेरेट मारियाले स्वर्ण जित्न फाइनलमा मनिता साहीलाई १५–० ले हराइन्। पाकिस्तानका लागि पुरुषतर्फ हरुन खान र रब नवाजले स्वर्ण जिते। हरुनले ५८ केजी तौलसमूहमा भारतका निरज चौधरीलाई २७–१८ ले हराए।

यस तौलमा नेपालका गोविन्दबहादुर आले र बंगलादेशका कमरुल इस्लामले कांस्य जिते। नवाजले भने पुरुष ८० केजीमुनि नेपालका किरणबहादुर आलेलाई ३३–७ ले हराउँदै स्वर्ण जिते। यस समूहमा भारतका लक्ष र श्रीलंका सुरङ्गा दिहानले कांस्य जिते।    


 

प्रकाशित: २० मंसिर २०७६ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App