८ वैशाख २०८१ शनिबार
खेल

दर्शक छैनन् पोखरामा

पोखरा - खेलका कुनै पनि गतिविधि हुँदा पोखराले हत्तपत्ती दर्शक अभाव झेल्नु पर्दैनथ्यो, बरु भीड थाम्न नसकेर आयोजकलाई हम्मेहम्मे पर्दथ्यो। पोखरामा बर्सेनि जसो हुने फुटबल, भलिबल, क्रिकेटजस्ता खेलले त थामिनसक्नु दर्शक पाउँदै आएका थिए। दर्शकको भीड बढेपछि व्यवस्थापनमा आयोजकलाई टाउको दुखाइ हुन्थ्यो। यतिसम्म कि यहाँ हुने खेलका गतिविधिमा दर्शकको चापले गर्दा प्यारापिटमा बस्ने त परैको कुरा, उभिने ठाउँसमेत पाउन हम्मेहम्मे हुन्थ्यो।

यति बेला यहाँ १३औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहेको छ। सागका आठवटा खेल पोखरामा हुँदै छन्। सागका सबैजसो खेल यहाँका विभिन्न ठाउँमा भइरहेका छन्। धेरैजसो गतिविधि रंगशाला परिसरभित्रै भइरहेका छन्। खेलकुदप्रेमी दर्शकको रूपमा पोखराका बासिन्दाले यसअघि पहिचान बनाउँदै आए पनि यति बेला चलिरहेको सागको खेलमा भने दर्शकको सहभागिता साहै्र न्यून छ। एकाध खेलमा दर्शक केही बढेजस्तो देखिए पनि अधिकांश खेलमा प्यारापिट रित्तै देखिन्छन्।

फेवाताल किनारमा बिहीबार बिच भलिबल हुँदा दर्शक निकै नै कम थिए। अरू बेला बिच भलिबल हुँदा त्यही स्थानमा दर्शक अभाव हुँदैनथ्यो। त्यस्तै बिहीबार नै ह्यान्डबल हुँदा पनि दर्शकदीर्घा पूरै खाली थियो। नेपाल र पाकिस्तानबीच पुरुष ह्यान्डबल प्रतियोगिता हुँदा न्यून संख्यामा मात्र दर्शक थिए। बिहीबार नै भएको भारत र श्रीलंकाबीचको महिला फुटबल प्रतियोगितामा पनि रंगशालाले दर्शक अभाव खेपेको थियो। त्यसै गरी बंगलादेश र मालदिभ्सबीचको क्रिकेटले पनि सोचेजति दर्शक पाएन। मध्याह्नपछि नेपाल र माल्दिभ्सबीच भएको महिला फुटबलमा केही दर्शक बढेजस्तो देखिए पनि अरू बेलाका प्रतियोगितामा जस्तो चाप थिएन।

फेवाताल किनारमा बिहीबार बिच भलिबल हुँदा दर्शक निकै नै कम थिए। अरू बेला बिच भलिबल हुँदा त्यही स्थानमा दर्शक अभाव हुँदैनथ्यो। त्यस्तै बिहीबार नै ह्यान्डबल हुँदा पनि दर्शकदीर्घा पूरै खाली थियो। नेपाल र पाकिस्तानबीच पुरुष ह्यान्डबल प्रतियोगिता हुँदा न्यून संख्यामा मात्र दर्शक थिए।

सागको यति ठूलो प्रतियोगिताले दर्शक पाउन नसक्नुको कारणबारे प्रतियोगिताको स्थानीय श्रोतसाधन परिचालन संयोजक सञ्जीवबहादुर कोइराला भन्छन, ‘यहाँ दर्शक तान्ने गरी कुनै पनि प्रतियोगिता भएका छैनन्। केही सौखिन खेलाडीले खेल्ने खेलका प्रतियोगिता पोखरामा आयोजना हुँदा सबै दर्शकको चासो ती खेलमा नभएको हुन सक्छ।’


कोइरालाका अनुसार पोखरामा फुटबल खेलमा केही बढी संख्यामा दर्शक हुने गरे पनि अरू खेलमा दर्शकको सहभागिता न्यून छ। ‘बिहीबार नेपाल र मालदिभ्सबीचको फुटबलमा पर्याप्त दर्शक थिए। तर, क्रिकेट, भलिबल, ब्याडमिन्टन, ह्यान्डबलमा दर्शक निकै नै कम भए,’ उनले भने, ‘दर्शकका लागि सबै खेल र खेलाडी रुचिकर भएनन्।’ दर्शक तान्ने गरी पोखरामा चर्चित खेल नै नभएको उनले बताए।

‘सागको प्रतियोगिता भए पनि रोचक खेल नै पोखरामा आयोजना हुन सकेन। अनि दर्शक सहभागी हुन रुचाएनन्,’ कोइरालाले भने, ‘कहिलेकाहीँ त लज्जास्पद हुने गरी दिनमा ५ सय हाराहारीमा मात्र टिकट बिक्री भएको छ। फुटबल हुने दिन २ हजारसम्म टिकट बिक्री भएका छन्।’ अरू खेलको तुलनामा फुटबलले केही बढी दर्शक तानेको उनले बताए।

कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल पोखरामा यति ठूलो प्रतियोगिता हुँदा पनि दर्शक कम भएको बताउँछन्। दर्शकले ‘लो प्रोफाइल’ खेलको रूपमा सागका प्रतियोगितालाई हेरेको उनले बताए। ‘अन्तर्राष्ट्रियस्तरमा एक्सपोजर पाएका खेलाडी यहाँ खेल्न आएका छैनन्। कुनै विशेष टिम र खेलाडीका कारण पनि दर्शक खेल हेर्न रंगशाला आउँछन्,’ सिग्देलले भने, ‘तर, त्यस्ता हाइलाइटेड खेलाडी र टिम यहाँ नआएकाले पनि दर्शकको चासो कम भएको हो।’

अन्तर्राष्ट्रिय खेलका प्रतियोगिताका लागि पोखरा गतिलो गन्तव्य हो भनेर देखाउन पनि दर्शकको सहभागिता बढी चाहिने भए पनि त्यो हुन नसकेको उनले बताए। कम्तीमा सरकारले पोखरेलीलाई निशुल्क खेल हेर्न आउनुस् भनेर समेत आह्वान गर्न नसक्दा सबै खेलले दर्शक अभाव झेलेको उनले बताए। ‘टिकट काटेर दर्शकले खेल हेर्न रुचाएनन्,’ उनले भने, ‘यति बेला सित्तँैमा पोखरेलीलाई खेल हेर्न आऊ भनेर आह्वान गर्नुपर्ने थियो। तर त्यो नै हुन सकेन।’

कुन खेल कहिले र कहाँ हुँदै छ भनेर समेत कतै प्रचारप्रसार नहुँदा पनि दर्शकको चासो कम भएको उनले बताए। अरू बेलाका प्रतियोगिता हुँदा यहाँ खेलका टिमको प्रतिस्पर्धाबारे दर्शकलाई अग्रिम जानकारी दिने गरी सञ्चारमाध्यमबाट प्रचारप्रसार हुने गरे पनि यस पटक रंगशाला परिसरबाहिर कतै प्रचारप्रसार नभएको उनले बताए। ‘कुनकुन टोलीबीच प्रतिस्पर्धा हुँदै छ र कोको खेलाडी सहभागी छन् भनेर समेत कतै प्रचार गरिएको छैन,’ उनले भने, ‘खेल पदाधिकारी र सरोकारवालाबाहेक अरू कसैलाई पनि यहाँ सागका खेल गतिविधिबारे चासो छैन।’

यति बेला क्रिकेटका दर्शक नपाएको सागले अर्काे साता हुने हुने पोखरा प्रिमियर लिग (पिपिएल) ताका प्यारापिटमा दर्शक नअटाउने उनको अपेक्षा छ। ‘अघिल्लो वर्ष दर्शकका लागि पिपिएलमा निशुल्क प्रवेश दिँदा दर्शकको ठूलो सहभागिता भयो। त्यसले पनि यो वर्ष पोखरामा साग र पिपिएल ल्याउन बल मिल्यो,’ उनले भने, ‘तर, सागको यति ठूलो प्रतियोगितामा कतै दर्शक बोलाउने र बटुल्ने प्रयास नै भएन।’ पोखरा रंगशालामा सागका खेल हेर्न  प्रवेश शुल्क तय गरिएको छ। साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ।

सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ। भलिबल संघ कास्की अध्यक्ष भीम पराजुली पनि खेलकुदको क्रेज पोखरामा अधिक भए पनि अहिले सबै खेलले दर्शक अभाव खेप्नुपरेको बताए। ‘प्रचारप्रसारको कमीले यति ठूलो प्रतियोगिता हुँदा पनि दर्शक नआएका हुन्। अन्तर्राष्ट्रिय खेल हुँदा दर्शक खचाखच हुनुपर्ने हो,’ पराजुलीले भने, ‘बिच भलिबलमा केही सन्तोषजनक दर्शक देखिए पनि पोखराका दर्शकको आकार निकै नै ठूलो हुनुपर्ने हो। खेलप्रेमीको वास्तविक आकार कुनै पनि खेलले पाएका छैनन्।’

पोखरामा भइरहेको सागका यी खेलकुदको कतै प्रचारप्रसार नै नहुँदा सबै खेलले दर्शक अभाव खेपेको उनले बताए। ‘सोचेजति दर्शक कुनै पनि खेलले पाएका छैनन्। पोखरामा फुटबल, क्रिकेट, भलिबलमा दर्शक अभाव भएको हामीले देखेका थिएनौं,’ उनले भने, ‘अहिले त झनै बढी दर्शक हुनुपर्ने हो। तर, यति ठूलो प्रतियोगिताले दर्शक तान्न सकेन।’ भलिबलमा राष्ट्रियस्तरको प्रतियोगितामा हुँदा दर्शक बढेर कतिपय बेला टिकट नै बन्द गर्नुपरेको समेत उनले अनुभव सुनाए।

प्रकाशित: २० मंसिर २०७६ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App