८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टीका(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल।फाइल तस्बिरः नागरिक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पार्टीभित्र सक्रियता बढाएका छन्। पार्टीका वरिष्ठ नेताहरूसँगको भेटघाटदेखि पार्टीका बैठकसमेत राख्न थालेका छन्। कार्यकारी अधिकार पाएपछि दाहाललाई पार्टीभित्र केही सहज भएकाले नेताहरूसँगको भेटघाट पनि बाक्लिदै गएको छ।

कार्यकारी भूमिका पाएलगत्तै दाहालले सक्रियता पनि बढाएका हुन्। पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहेका माधव नेपाललाई भेटघाट र छलफल गरेका छन्। नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई आफ्नै निवासमा बोलाएर पार्टी एकता र आगामी रणनीतिबारे छलफल गरेका छन्। अध्यक्ष दाहालले सचिवालय बैठक २३ गते बोलाएका छन्। उनको अध्यक्षतामा २३ गते दोस्रो बैठक बस्नेछ। २३ गतेको बैठकपछि सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटीको बैठक बोलाउने तयारी गरिएको छ। गत बर्ष मंसिर २९ गते देखि पुस १२ गतेसम्म स्थायी कमिटीको बैठक बसेको थियो। त्यसयता स्थायी कमिटीको बैठक बसेको छैन। ‘अब बस्ने सचिवालय बेठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सम्भावना छ,’ एक सचिवालय सदस्यले भने, ‘सरकार पार्टीको समीक्षा गर्नका लागि पनि स्थायी कमिटीको बैठक आवश्यक छ भने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको छलफल लगायतका विषयलाई ध्यान दिएर स्थायी कमिटीको बैठक बस्नुपर्नेछ।’ स्रोतका अनुसार अब बस्ने स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अस्पतालबाट निवास फर्केपछि बस्नेछ र सो बैठकमा ओली दाहाल दुवैले अध्यक्षता गर्नेछन्। स्थायी कमिटीको बैठक बोलाउनुपर्छ भन्दै भीम रावललगायतका नेताले निरन्तर दबाब दिन थालेपछि बैठकको मिति तय हुन लागेको हो। पार्टीका महासचिव विष्णु पौडेलले स्थायी कमिटीको बैठक अब चाँडै बस्ने बताए। ‘तयारी हुँदैछ, चाँडै नै स्थायी कमिटीको बैठक बस्नेछ,’ उनले नागरिकसँग भने।

मंसिर १ गतेदेखि नै अध्यक्ष दाहालले स्थायी कमिटी बैठकबारे माधव नेपाल झलनाथ खनाल, वामदेव गौतमलगायत नेतासँग परामर्श गरिरहेका थिए। यसपटकको स्थायी कमिटी बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पेस हुनेछ। गत साउनमै गौतमलाई सचिवालय बैठकबाट उपाध्यक्षमा प्रस्ताव गरिएको भए पनि स्थायी कमिटीको बैठक नबसेका कारण प्रस्ताव पास हुन सकेको छैन। ‘स्थायी कमिटीको बैठक अझै बस्न सकेको छैन। स्थायी कमिटीको बैठकबाट उहाँलाई उपाध्यक्ष बनाउने भनिएको छ, त्यसका लागि पनि बैठक आवश्यक भएको हो,’ एक सचिवालय सदस्यले भने।

साथै सो बैठकमा पार्टीको आगामी कार्ययोजना पनि पेस हुनेछ। विधानअनुसार तीन तीन महिनामा बस्नुपर्ने बैठक एक वर्ष पुग्न लाग्दा पनि बस्न नसकेको भन्दै रावललगायतका नेताले आफ्नो धारणा राख्ने ठाउँ पनि नभएको जनाएका थिए। ‘पार्टीको विधानले तोकेको समयमा बैठक बस्न सकेको छैन, पार्टीले देशको पक्षमा बोल्नु, जनातको पक्षमा बोल्नु भनेको छ त्यसकारण स्थायी कमिटीको बैठक नबसे पनि देश र जनातको पक्षमा बोल्न छुट छ,’ स्थायी कमिटी सदस्य रावलले भने।

दुई पार्टी एक भएर उपनिर्वाचनमा भाग लिदा पनि धरान उपमहानगपालिको मेयर र भक्तपुरको प्रदेश सभा सदस्य हार्नुको कारणबारे पनि पार्टीभित्र गम्भीर समीक्षा हुने भएको छ। बुधबार सम्पन्न नेकपा सचिवालय बैठकले पनि हालै सम्पन्न भएको निर्वाचनको समीक्षा बुझाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिइसकेको छ। पार्टीका दोस्रा अध्यक्ष दाहाललाई मंसिर पहिलो साता कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि पहिलोपटक उनकै अध्यक्षतामा पार्टी मुख्यालयमा बैठक बसेको बैठकले सो निर्दैशन दिएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आ–आफ्नो निर्वाचन क्षेत्रको समीक्षा दुई दिनभित्र पठाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको छ। मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा नेकपाले आफ्नो राम्रो प्रभाव भएका क्षेत्रमा समेत हार व्योहोर्नुपरेपछि स्थानीय पार्टी कमिटीसँग त्यसको कारण सहितको समीक्षा बुझाउन आग्रह गरेको हो। नेकपाले अघिल्लो निर्वाचनमा जित हात पारेको दाङ, भक्तपुर, चितवन, धरान अर्घाखाँचीलगायतका क्षेत्रमा प्रदेश सभा सदस्य, उपमहानगरपालिकाका मेयर तथा वडा अध्यक्षमा यसपटक हार व्यहोरेको थियो। सो विषयमा स्थानीय कमिटीबाट आएपछि २३ गते बस्ने सचिवालय बैठकमा थप छलफल हुने भएको छ।

प्रकाशित: २० मंसिर २०७६ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App