७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल पदकविहीन

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत एथ्लेटिक्सको तेस्रो दिन बिहीबार श्रीलंकाले ४ स्वर्ण जित्दा नेपाल पदकविहीन बन्यो। श्रीलंकाले महिला ४ सय मिटर, पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो।

पहिलो दुई दिन दबदबा कायम गरेको भारतले १ र पाकिस्तानले १ स्वर्ण जिते। पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाए। महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारूले निर्धारित दूरी १५.६० सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।

पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मद नाइमले निर्धारित दूरी १४.३० सेकेन्डमा पूरा गर्दैै स्वर्ण जिते। भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा दूरी पूरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य जिते। सोही विधामा नेपालका चन्द्रदेव जोशीले १६.३९ सेकेन्डमा दूरी पूरा गरे।

महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कांस्य जितिन्। सुगन्धले निर्धारित दूरी पूरा गर्न १३.६८ सेकेन्ड खर्चिँदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेन्डमा दूरी पूरा गरे।

महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो। ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्वर्ण जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण जिते। महिलातर्फ स्वर्ण जित्ने क्रममा माहिसाले सो दूरी पार गर्न ५३.४० सेकेन्ड खर्चिँदा रजत जितेकी भारतकी प्रिया हब्बाथान र कांस्य जितेकी पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दूरी क्रमशः ५४.३१ र ५४.५८ सेकेन्डमा पार गरिन्।

पुरुषतर्फ दर्शणाले निर्धारित दूरी ४६.६९ सेकेन्डमा पूरा गर्दा रजत जितेका श्रीलंकाकै लक्मल प्रियानाथले ४६.७९ र कांस्य विजेता जेदवन कारेकोपले ४७.४२ सेकेन्डमा दूरी पूरा गरे। त्यस्तै, बिहीबारै भएको महिला ट्रिपल जम्पमा पनि श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटर जम्प गर्दै स्वर्ण जितिन्। सोही स्पर्धामा श्रीलंकाकी विधुसा लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्प गर्दै कास्य पदक जितिन्। छैठौं स्थानमा बसेकी नेपालकी शिला चौधरीले ११.०६ मिटर जम्प गरिन्।

यता पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्प गर्दै रजत जिते। श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कास्य जिते। नेपालका भुवन महतोले १३.५३ को जम्प गर्दै अन्तिम स्थानमा रहे।

प्रकाशित: २० मंसिर २०७६ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App