६ वैशाख २०८१ बिहीबार
समाज

त्रियुगा उद्योग वाणिज्य संघ आफ्नो म्याद आफै थप्दै

उदयपुर- उदयपुरका व्यापारीहरुको छाता संगठन त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले कार्यवधि सकिएको ६ महिना बितिसके पनि अधिवेशन गर्ने टुंगो लगाएको छैन्। गत असारमा ३ वर्षे कार्यकाल सकिइसकेको संघ पदाधिकारीले विधानतः त्यतिबेलै अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरी कार्यभार सुम्पनुपर्नेमा ६ महिना बित्न लागे पनि अधिवेशन गर्नेतर्फ कदम नचालेको व्यापारीहरुको गुनासो छ।

०७३ असारमा सम्पन्न छैठौं अधिवेशनबाट चयन भएको कार्यसमितिले गत असारमै गर्नुपर्ने अधिवेशन बिबिध कारण देखाउँदै ६ महिनापछि धकेल्ने निर्णय गरेको थियो। अवधि सकिएको ६ महिनाभित्र अधिवेशन गर्ने निर्णय अनुसार मंसिरभित्र अधिवेशन गरिसक्नुपर्ने हो। तर, मंसिर दोस्रो साता बसेको संघको पछिल्लो बैठकमा केही पदाधिकारीले पुनः अर्को ६ महिना कार्यसमितिको म्याद थप्ने प्रस्ताव गरेको संघकै सदस्यहरु बताउँछन्। पहिलो ६ महिना आप्mनो कार्यकाल आफै थप्ने अध्यक्ष गजेन्द्र भगतको प्रस्तावमा साथ दिने पदाधिकारीले अर्को ६ महिना थप्न प्रस्ताव गर्दा भने आनाकानी गरेको बताइएको छ। सर्वसम्मत निर्णय गराउन नसकेपछि बैठक पुस्तिका बोकेर पदाधिकारीको घरघर धाउँदै अध्यक्ष भगतले हस्ताक्षर गराउन प्रतिनिधि खटाएको व्यापारीहरुको गुनासो छ।

बैठकमा सर्वसम्मत निर्णय हुन नसकेपछि यही मंसिर २८ र २९ गते गर्ने निर्णय सार्वजनिक भएको सातौं अधिवेशन आउन साता दिन मात्र बाँकी हुँदा अर्को ६ महिना म्याद थप्ने निर्णय गुपचुप लेखेको माईन्युटबुकमा हस्ताक्षर गराउन कार्यसमिति पदाधिकारी रिझाउँदै हिडेको आरोप व्यापारीहरुले भगतमाथि लगाएका छन्। कार्यसमितिकै केही व्यक्तिले नाम नबताउने सर्तमा बताए अनुसार वर्षेनी गर्नुपर्ने वार्षिक साधारणसभासमेत तीन वर्षमा एकै पटक गरिएको छैन्। ‘वर्षेनी गर्नुपर्ने साधारणसभा संस्थाले अहिलेसम्म गरेको थाहा छैन्’ एक सदस्यले भने ‘अधिवेशनबाट छानिने कार्यसमितिको अवधि  ३ वर्ष हुने विधानमा व्यवस्था भए पनि ६ महिना कटिसक्दासम्म अधिवेशन अझै सार्ने भन्दैछन्।’

व्यापारीहरु संघसंस्था नियमसंगत चल्नुपर्नेमा आफै नियम मिचेर अरुलाई नियम सिकाउन नसुहाउने बताउँछन्। ३ वर्षे कार्यकाल सकिएलगत्तै अधिवेशन बोलाउनुपर्ने र प्राविधिक कारणवश गर्न नसके बढीमा ६ महिनासम्म स्पष्ट कारण देखाएर सार्नु पर्नेमा पटकपटक म्याद थप्दै लागेर संस्थाको गरिमा र अधिवेशनको महत्वमाथि प्रहार गर्ने काम हुने व्यापारीहरु बताउँछन्। यसअघि पनि निर्वाचित भगतको दोस्रो कार्यकाल अध्यक्ष हो। २ कार्यकाल अध्यक्ष भईसकेका व्यक्तिले अझै वर्षदिन म्याद थपेर अविधेशन लम्ब्याउन खोज्नुको तात्पर्य भने बुभ्mन नसकेको संघकै सदस्यहरु बताउँछन्।

स्थानीयतह चुनावपछि महासचिव र कोषाध्यक्षविहीन हुन पुगेको संघमा अध्यक्ष भगतले बल मिच्याई गरेर संस्था चलाउँदै आएको आरोप पनि लगाउनेहरु छन्। ०७४ असारमा सम्पन्न स्थानीयतह निर्वाचनमा संघका महासचिव चुडामणि कार्की र कोषाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ राजीनामा दिएर त्रियुगा नगरपालिकाका क्रमशः वडा नं. ३ र ११ को वडाध्यक्षमा उम्मेदवार बनेका थिए। तत्कालीन नेकपा (माओबादी) को तर्फबाट वडाध्यक्ष प्रतिस्पर्धी दुवै पराजित भए पनि संघमा उनीहरुले राजीनामा दिएपछि दुवै पद रिक्त छ।

संघले नियमानुसार संघलाई नेपाल सरकारको आधिकारिक निकायमा नविकरयणसमेत नगरेका व्यापारीहरुकोे आरोप छ। वर्षेनी जिल्ला प्रशासन कार्यालयमा दर्ता नविकरण गर्नुपर्ने संघ विगत ३ वर्षदेखि नविकरण भएको नदेखिएको प्रशासनले जनाएको छ।

प्रमुख जिलला अधिकारी धु्रबबहादुर खड्काले ३ वर्षयता संस्था नविकरण नभएको पुष्टि गरे। सिडिओ खड्काले ०७३ असारमा पछिल्लो नविकरण भएको र त्यसयता नविकरण गरेको नदेखिएको बताए। ‘स्थानीय सञ्चारमाध्याममा अधिवेशन नगरेको, नविकरण नगरेको भन्ने समाचार देख्न सुन्न पाएँ’ सिडिओ खड्काले भने ‘कार्यालयमा हेर्न लगाउँदा ०७३ असारसम्म नविकरण भएको देखियो। चालु आर्थिकवर्षको नविकरण गर्ने म्याद बाँकी भए पनि विगत २ वर्ष नविकरण गरेको पाइएन।’

संस्था नविकरण नगरेकै कारण साधारणसभा हुन नसकेको संघकै सदस्यहरु बताउँछन्। साधारणसभा गर्नुअघि संस्था नविकरण गर्नुपर्ने र नविकरण गर्न वार्षिक आर्थिक गतिबिधि अद्यावधिक गर्नुपर्ने हुनाले यस्तो हुन सक्ने अनुमान व्यापारीहरुको छ। संघले विगत वर्षहरुमा वर्षेनी व्यापार मेला लगाउँदै आएको छ। चर्चित राष्ट्रिय कलाकारहरु ल्याएर प्रस्तुति दिन लगाउने १० दिनसम्म लाग्ने मेलामा टिकट बिक्रबिाट दैनिक लाखौं रकम संकलन गरे पनि संघमा पारदर्शिताको समस्या रहेको संघभित्रै चर्चा चल्ने गरेको छ। व्यापारीहरुको सुखदुःख बोल्ने र बजार अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निभाउने उद्योग वाणिज्य संघकै साधरणसभा र अधिवेशन अनिश्चित भएपछि नेतृत्वप्रति बजारबासीले प्रश्न उठाउन थालेका छन्।

अध्यक्ष भगतले भने सकेसम्म छिट्टै अधिवेशन गर्ने पक्षमा आफु रहे पनि आर्थिक अभावमा ढिला भईरहेको बताएका छन्। वर्षेनी साधारणसभा राख्नुपर्ने भए पनि व्यापारीहरु व्यस्त हुने भएकाले गणपुरक संख्या उपस्थित नहुने समस्याले साधारणसभा र अधिवेशन एकैचोटी गरिदै आएको भगतले बताए।

अधिवेशन तोकिएकै मितिभित्र गर्ने या पछि सार्ने भन्ने बिषयमा समितिभित्र छलफल भईरहेको र सर्वसम्मत निर्णय गरेर अघि बढ्ने उनले बताए। उनका अनुसार कार्यसमितिको पदावधि तलमाथि गर्ने वा अधिवेशन सार्ने नसार्ने अधिकार संघको विधानमा व्यवस्था भए अनुसार हुनेछ।

प्रकाशित: १९ मंसिर २०७६ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App