८ वैशाख २०८१ शनिबार
समाज

वडाले गरिदियो विपन्नको स्वास्थ्य बीमा

वडाले गरिदिएको स्वास्थ्य बीमाको परिचयपत्रका साथ साउनेचौंरका स्थानीय । तस्बिरः नागरिक

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका १५ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। विपन्न घर परिवार पहिचान सर्वेक्षण गर्नेक्रममा विपन्नको सूचीमा समावेश हुनबाट छुटेका विपन्न परिवारलाई छानेर वडा कार्यालयले निशुःल्क स्वास्थ्य बीमा गरिदिएको हो।

‘आफै उपचार गराउन सक्ने आर्थिक हैसियत नभएका विपन्न परिवारले अकालमै ज्यान गुमाउन नपरोस् र स्वास्थ सेवाबाट वञ्चित नहुन्’ भन्ने लक्ष्यका साथ वडा कार्यालयले प्रतिपरिवार ३ हजार ५ सयका दरले आर्थिक वर्ष २०७६/०७७ विनियोजित ५२ हजार ५ सय खर्च गरेर स्वास्थ बिमा गरिदिएको हो। गरिब भए पनि गरिबको सूचीमा राख्नबाट छुटाइएका परिवारलाई छानेर वडाकातर्फबाट बीमा गरिदिएको वडाध्यक्ष शम्भु निरौलाले बताए। आफै स्वास्थ्य बीमा गर्न नसक्ने अवस्थाका परिवारलाई वडाले सहयोग गरेको हो।

२०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बीमा सुरु गरिएको जिल्लामा हालसम्ममा २८ हजार जनाले स्वास्थ्य बीमा गरिसकेका छन्। उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम वापतको सेवा सुविधा प्राप्तिका लागि जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य बीमा दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ।

जिल्लाको ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुंगा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौं, भक्तपुरलगायतका सरकारी अस्पतालबाट बीमाको शर्त अनुसारका स्वास्थ्य सेवा लिन पाउने गरी स्वास्थ्य बीमा दर्ताको काम भइरहेको स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले बताए। हरेक वडामा नियुक्त गरिएका स्वास्थ्य बीमा दर्ता सहयोगीले अहिले पनि स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरणका काम गरिरहेका छन्।

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु अन्तरगत कार्तिकदेखि पुससम्ममा नाम दर्ता भएका नागरिकको स्वास्थ्य बीमा फागुन १ बाट, माघदेखि चैत्रकोबीचमा बीमा गरेका नागरिकको स्वास्थ्य बीमा जेठ १ बाट, बैशाखदेखि असारको बीचमा बीमा गरेका नागरिकको भदौ १ बाट र साउनदेखि असोजका बीचमा बीमा गरेका नागरिकको स्वास्थ्य बीमा मंसिर १ गतेबाट लागू हुने जनाइएको छ।

पाँच जनासम्मको परिवारले वार्षिक रुपमा २५ सयको स्वास्थ्य बीमा गरेपछि विरामी परेका समयमा वार्षिक ५० हजारको स्वास्थ्य उपचार पाउने सुनेपछि स्थानीय स्वास्थ्य बीमाप्रति हौसिएका छन्। पाँच जनाभन्दा बढि सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ती ४५० का दरले शुल्क बुझाउनु पर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ती थप १० हजारका दरले बढि पाउने वास्थ्य बीमा बोर्डले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७६ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App