coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस फाउन्डेसनविरुद्ध सूचना आयोगमा उजुरी

काठमाडौं–मधेस र मधेसी जनताको नाममा विभिन्न प्रतिवेदन बुझाएर दातृ निकायसँग ठूलो मात्रामा रकम ल्याउने तर त्यसको हिसाव किताब भने नदेखाउने प्रवृत्ति बढ्दै गएका बेला नेपाल मधेस फाउन्डेसनका गतिविधिबारे सूचना आयोगमा उजुरी परेको छ।

मधेसका राजनीतिक विश्लेषकका रुपमा परिचित तुलानारायण साहले नेतृत्व गरेको मधेस फाउन्डेसनले मधेसका बिषयमा विभिन्न कामकालागि दातृ निकायबाट ठूलो मात्रामा रकम ल्याएको तर त्यसको बिबरण भने सार्वजनिक नगरेपछि लिखित उजुरी परेको हो।

फाउन्डेसन प्रमुख तुलानारायण साहले भने सूचना नदिइ लुकाई रहेको निवेदक दिएको जनकपुर निवासी अरुणकुमार साहले नागरिकन्युजलाई बताए। ‘मैले मंसिर १२ गते नै उहाँको कुपोन्डोलस्थित अफिसमा पुगेर लिखित निवेदन दिएको थिएँ तर उहाँहरुले लिनै मान्नु भएन अनि बाध्य भएर हुलाकबाट निवेदन दिएँ तर अहिलेसम्म कुनै जानकारी दिनु भएको छैन,’ उनले भने।

फाउन्डेसनले सञ्चालन गरेको ४ वटा बिषयमा जानकारी लिनका लागि कानुन बमोजिम निवेदन दिइएको छ। पहिलो, ‘गर्र्भनेन्स् इन मधेस–२०१४’ को प्रोजेक्टका लागि कहाँ कहाँबाट कति रकम आयो? कुन कुन कार्य गरियो र कति खर्च भयो? बिबरण माग गरिएको छ।

दोस्रो, फाउन्डेसनले सञ्चालन गरेको ‘बेसलाइन एन्ड सिटिजन प्रि–क्रिप्सन सर्भे–२०१६’ का लागि कहाँवाट रकम उपलब्ध भयो ? कहाँकहाँ खर्च गरियो र कति खर्च भयो ? त्यसको बिबरण माग गरिएको छ।

तेस्रो, फाउन्डेसनले ‘स्पेक्ट्रम कन्सल्ट’ मार्फत मिथिला क्षेत्रमा सञ्चालन गरेको ‘स्टे«न्थ भ्वाइस एन्ड अकाउन्टेवल गर्भनेन्स (एस–भाग) परियोजना कुन दातृ निकायबाट ल्याइएको हो? त्यसको पनि जानकारी मागेका छन्।

निवेदक साहले बिगत ४ वर्षमा मधेस फाउन्डेसनका नाममा आएको रकम र भएको खर्च र उपलब्धिका बारेमा जानकारी दिन पनि माग गरेका छन्। तर, आफनो मागको सुनवाई भने अझै नभएको निवदेक साहको गुनासो छ।

केन्द्रीय कार्यालयमा नै पुगेर निवेदन दिएपनि फाउन्डेसनले लिन नमानेपछि हुलाकमार्फत पठाउन बाध्य भएको उनले अनुभव सुनाए। उनका अनुसार मंसिर १२ गते निवेदन दिन जाँदा फाउन्डेसन प्रमुख तुलानारायण साहकी पत्नी रिता साह कार्यालयमा भएपनि निवेदन नलिएको उनको भनाइ छ।

‘तुलाजीको मिसेस हुनुहुन्थ्यो, मेरो निवेदन लिइ दिनु पर्यो भन्दा मान्नु भएन, न त रिसेप्सनले नै मेरो निवेदन दर्ता गरायो, बरु रिताजीले मलाई केही थाहा नभएको भन्दै टकटकिनु भयो,’ उनले भने। उनका अनुसार उक्त निवेदन हुलाकबाट पठाएपछि जवाफ आएको÷नआएको बुझन सोमबार सूचना आयोगको कार्यालय अनामनगरसमेत पुगेका थिए।

त्यहाँ मधेस फाउन्डेसनबाट सोमबारसम्म कुनै जानकारी नआएको खबर पाएपछि निराश बनेका निवेदक साहलाई भने त्यहाँका कर्मचारीले अनिवार्य रुपमा सूचना पाउने भन्दै आयोग कर्मचारीले आश्वस्त पार्दै पठाएका छन्। तर, प्रक्रियागत रुपमा १५ दिनसम्म सूचना नदिएमा फाउन्डेसन विरुद्ध सूचना लुकाएको अभियोगमा कानुनी कारवाही हुने छ।  जनकपुर निवासी निवेदक साहले सूचनाको हक संवन्धी ऐन २०६४ को उपदफा बमोजिम कानुनले प्रमाणित गरेका कागजपत्रमार्फत जवाफ पाउनु पर्ने माग लिखित रुपमा नै गरेका छन्।

तुला साहले बिगत एक दशकदेखि मधेस र मधेसी जनताको पक्षमा भन्दै बिभिन्न कार्यक्रम र अनुसन्धान गर्दै आएका छन्। ‘तर, मधेस र मधेसी जनताको नाममा काम गरेको भन्दै हिड्ने तर के गरेको हो? त्यो नदेखाए पछि मैले जानकारी लिन खोजेको हुँ तर उहाँले अटेर गर्नु भयो, मधेस र मधेसी जनताका लागि लुकाउनु पर्ने कुरा के थियो र उहाँलाई?’ निवेदक साह प्रश्न गरे।

तर, फाउन्डेसन प्रमुख साहले भने भारतीय दूतावासमा कार्यरत गोविन्द साहसहितका व्यक्ति आएर सूचना माग गरेको तर राज्यको निकायले भने कुनै औपचारिक रुपमा पत्र नपठाएको बताए। ‘भारतीय दूतावासमा कार्यरत गोविन्दजी आएर सूचना माग गरेका रहेछन्, म त कार्यालयमा थिइन तर बाटोमा हिड्ने, जसले जे जे माग्दै हिँड्छ, त्यो दिने कुरा त भएन,’ साहले नागरिकन्युजसँग भने, ‘राज्यको निकायवाट पत्र आयो भने त्यही अनुसार दिने हो, यसै दिन त मिल्दैन।’ उनले कानुनतः सूचना दिन कुनै अप्ठयारो नभएको भन्दै मधेस फाउन्डेस राज्यको निकायसँग समन्वय गरेर अघि बढिरहेको संस्था भएकाले जिम्मेवार रुपमा प्रस्तुत हुने बताए।  

प्रकाशित: २८ मंसिर २०७३ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App