coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

‘छोरीलाई अनिवार्य १२ कक्षा’

धनुषाको जनकपुरधाम उपमहानगर क्षेत्रमा छोरीको सानैमा विवाह गरिदिने चलन छ। त्यसकारण त्यहाँका छात्रा मुस्किलले कक्षा १० सम्म पुग्छन्। बालिका/किशोरी उमेरमै विवाह गरिदिने कारण उनीहरू बीचमै पढाइ छाड्न बाध्य हुन्छन्। स्कुलभित्र पनि लैंगिक हिंसा हुने गर्छ। यिनै विषयमा केन्द्रित रहेर नागरिकर्मी रूबी रौनियारले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग गरेको संवादको सम्पादित अंश:

जनकपुरधाम उपमहानगर क्षेत्रमा छोरीहरूलाई सानैमा विवाह गरिदिने चलन रहेछ, जसले गर्दा उनीहरूले बीचमै पढाइ छाड्नुपर्ने अवस्था पाइयो। यसलाई न्यूनीकरण गर्न उपमहानगरपालिकाले कुनै कार्यक्रम गरिरहेको छ कि ?
हो, यो सही हो। हाम्रो मधेसतिर छोरीहरूको बालविवाह गरिदिने विकृतिले जरा गाडेको छ। यसलाई एकैचोटि सुधार गर्न त मुस्किल छ तर छोरीहरूलाई कम्तीमा १२ कक्षासम्म अनिवार्य पढाउनुपर्ने अभियानै सञ्चालन गर्ने कार्यक्रम तयार गरेका छौं। अभिाभवकहरूसँग छलफल गरी छोरीहरूलाई पढाइलेखाइ गराई आत्मनिर्भर बनाउन सके उनीहरू सम्मानसाथ बाँच्न सक्छन् भन्ने सोच विकास गराउनतर्फ हामी लागेका छौं।

विद्यालयहरूमा पनि छात्रामैत्री शौचालय नभएका कारण छात्राहरू हिंसा भोग्न बाध्य रहेछन्। यसलाइ कसरी सम्बोधन गर्नुहुन्छ ?

हो, मैले पनि यहाँका धेरैजसो सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय नभएको जानकारी पाएको छु। म आफैं पनि स्कुलहरूमा पुग्दा छात्राहरूलाई यौनलगायत विभिन्न किसिमका हिंसा भइरहेको गुनासा सुनें र गुनासोपेटिकामा समेत यस्ता गुनासा लेखिएका पत्र भेट्टाएँ। स्कुलका शिक्षक र शिक्षिकाहरूले समेत बालबालिकालाई जथाभावी गालीगलौज गरेको थाहा पाएँ।

मुख्य समस्या– नेपाल–भारत खुला सिमाना हो। सीमापारिबाट ल्याइएका लागुपदार्थ बिक्री वितरण गरी हाम्रा युवालाई दुव्र्यसनी बनाइएको छ। जसले गर्दा स्कुल शिक्षा हासिल गरिरहेका केटाहरू सानै उमेरदेखि बिग्रिँदै गएको म आफैंले महसुस गरेको छु। तिनैले छात्राहरूलाई अश्लील शब्द बोल्ने, बाटोमा जिस्काउने गरेको पाइयो। 

यही समस्या सम्बोधनका लागि हामीले यसपटक छात्रा शौचालय निर्माणका लागि ७० लाख रुपैयाँ बजेट छुट्याएका छौं। बालबालिकालाई भयरहित वातावरणमा पठनपाठन गराउन प्रहरीसँग समन्वय गरी सिमानामा लागुपदार्थ बिक्री–वितरणमा रोक लगाउने प्रयास अघि बढाएका छौं। साथै छात्राहरूलाई कक्षामा नियमित गराउन महिनावारी भएका बेला स्कुलमै प्याड व्यवस्थाका लागि स्कुलहरूलाई निर्देशन दिएको छु।

जनकपुरधाम उपमहानगरमा शैक्षिक अवस्था दयनीय देखियो, कसरी सुधार गर्नुहुन्छ ?
अझै पनि विद्यालयहरूले विद्यार्थी संख्या बढी देखाएर ढाँट्ने गरेका रहेछन्। अनुगमनमा जाँदा भनिएको भन्दा कम विद्यार्थी पाइयो। यस विषयमा एकैचोटि कारबाहीभन्दा पनि हामीले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकसँग छलफल गरी वास्तविक तथ्यांक संकलन गरायौं।

एउटै विद्यार्थी दुईवटा स्कुल(सरकारी र निजी) मा पढ्ने विकृति अन्त्य भयो। शिक्षाका रकम सदुपयोग गर्नेतर्फ हामी लाग्यौं। अहिले पनि कक्षा ११ र १२  पढ्न आफ्नो गाउँ छाडेर सहर जानुपर्ने कारण छात्राहरू टाढा जान सकेनन्। त्यही भएर अब हामी यो वर्षदेखि प्राथमिकतासाथ सामुदायिक विद्यालयमा कक्षा १२ सम्म सञ्चालन गर्ने योजना बनाएका छौं।
कक्षा ९ देखि १२ सम्मका दलित र मुस्लिम समुदायका गरी ४ सय ७२ छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम बनाएका छौं। अब चाँडै वितरण गर्छाैं। हाम्रा क्षेत्रका स्कुलहरू सुधार भइरहेका छन्। विद्यार्थीको आकर्षण सरकारी विद्यालयमै देखिएको छ।

निजीमा १० प्रतिशत छात्रवृति कार्यान्वयन कसरी गराउनुहुन्छ ?
हाम्रा निजी विद्यालयहरू मनपरी शुल्क असुली गर्ने तर छात्रावृत्ति वितरण नगर्ने गर्छन्। वितरण गरे पनि नातागोता र पहँुचका आधारमा गर्ने। त्यही भएर म मेयर भएपछि निजी स्कुलमा छात्रवृत्ति कार्यान्वयनका लागि केन्द्र तोकेरै परीक्षा गराइदिएँ। शिक्षा विभागले छनोट गरी पठाएको विद्यार्थीलाई नै निजीले छात्रवृत्ति दिनुपर्ने स्थानीय सरकारले नियम बनायो। जसले गर्दा यस वर्ष सबै निजी विद्यालयलाई नियमभित्र रहेर छात्रवृत्ति दिनुपर्ने बाध्यता भयो।

अब जनकपुरधाम उपमहानगरपालिका शैक्षिक सुधारतर्फ लागिपरेको छ। शिक्षा क्षेत्र सुधार नगरीकन अरू केही सुधार गर्न सकिँदैन। मैले शिक्षा क्षेत्रका धेरै समस्या त स्कुलमा राखिएका गुनासापेटिकामा भेटिने विद्यार्थीका गुनासापत्रबाट थाहा पाएको छु। अब त्यहीअनुसार हामी सुधारतर्फ अघि बढिरहेका छौं।

अनुगमनलाई कसरी प्रभावकारी बनाउनुहुन्छ त ?
गुणस्तरीय शिक्षाका लागि अनुगमनलाई बलियो बनाउनैपर्छ। किनभने विद्यार्थीको गुनासो विद्यालयमा शिक्षक नियमित आउँदैनन् भन्ने रहेछ। सरकारको तलब खाने तर कक्षामा नपढाउने, कसरी शिक्षा सुधार हुन्छ ? त्यही भएर मैले हाम्रा कर्मचारीहरूलाई श्रम र समय दान गर्न अनुरोध गरेर अनुगमन तीव्र बनाएको छु। यसबाट उपलब्धि प्राप्त भएको छ।

आगामी योजना के छ ?

उपमहानगरभित्र एउटा टेक्निकल इन्स्टिच्युट खोल्ने र १२ सम्म मावि बनाउने योजना छ। क्यान्सर अस्पताल खोल्ने तयारी पनि गरेका छौं। जसको अनुमानित लागत ५ सय करोड छ।  लगानी कसले र कसरी हुन्छ यसबारे पछि कुरा गर्नेछु।

प्रकाशित: १९ मंसिर २०७६ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App