७ वैशाख २०८१ शुक्रबार
अर्थ

हवाई भाडा बढाउन अनुमति

काठमाडौं- सरकारले आन्तरिक वायुसेवा कम्पनीहरूलाई २४ प्रतिशतसम्म हवाई भाडा बढाउन अनुमति दिएको छ। सोमबारको पर्यटन मन्त्रीस्तरीय निर्णयबाट हवाई भाडा वृद्धि गर्न अनुमति दिइएको हो। मुद्रास्फीति, सञ्चालन लागत लगायत सबै कारण अध्ययन गरी सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा बढाउन अनुमति दिएको हो।

'सबै सरोकारवाला वायुसेवा कम्पनीका प्रतिनिधिसँग गहन छलफलपछि हवाई भाडा २४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिइएको छ,' पर्यटन मन्त्रालयका उपसचिव तथा हवाई भाडा पुनरावलोकन समितिका सदस्य प्रमोद नेपालले सोमबार नागरिकसँग भने, 'यसबारे नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइएको छ।'

पर्यटन मन्त्रीस्तरीय निर्णयअनुसार वायुसेवा कम्पनीले न्यूनतम ३ सय २१ रुपैयाँदेखि अधिकतम १ हजार ५ सय ७६ रुपैयाँसम्म हवाई भाडा बढाउन पाउनेछन्।

जसअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ८ सय २६ रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान ११ हजार ६ सय ७६ रुपैयाँ तिर्नुपर्ने छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। हाल सिमरा जान २ हजार ५ सय ५ र धनगढी जान १० हजार १ सय रुपैयाँ पर्छ। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन्।

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अनुसार बढेको भाडा लागू भएपछि काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु १ हजार २ सय २४ रुपैयाँ, पोखरा ५ सय ५६, भैरहवा ७ सय ३४, विराटनगर ८ सय ५६, भद्रपुर १ हजार ७१, भरतपुर ३ सय ८२, नेपालगन्ज १ हजार १ सय ६४, जनकपुर ४ सय ५८ र तुम्लिङटारका लागि ६ सय ५८ रुपैयाँ कम तिर्नुपर्ने छ। 

त्युपछि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ९ हजार ७ सय ४९ रुपैयाँ, पोखरा जान ४ हजार ५ सय ६६, भैरहवा ५ हजार ७ सय ६४, विराटनगर ६ हजार ६ सय ११, भद्रपुर ८ हजार १ सय १, भरतपुर ३ हजार ३ सय २, नेपालगन्ज ८ हजार ७ सय ३९, जनकपुर ३ हजार ८ सय ५८ र तुम्लिङटार जान ५ हजार ३ सय ७३ रुपैयाँ लाग्ने छ।

सम्बद्ध एक अधिकारीका अनुसार यसअघि २०६६ सालमा हवाई भाडा निर्धारण गर्दा एक अमेरिकी डलरबराबर ७३ रुपैयाँको विनिमय दर थियो। अहिले १ डलरबराबर १ सय ८ रुपैयाँ छ। त्यसयता हालसम्म हवाई भाडा पुनरावलोकन भएको थिएन। वायुसेवा कम्पनीले सात वर्षदेखि हवाई भाडा पुनरावलोकन नभएकाले बजार भाउअनुसार बढाउन पाउनुपर्ने सरकारसँग आग्रह गर्दै आएका थिए।

त्यसपछि मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उपमहानिर्देशक राजन पोखरेलको संयोजकत्वमा गत जेठमा सात सदस्यीय हवाई भाडा पुनरावलोकन समिति गठन गरेको थियो। उक्त समितिले करिब दुई महिना यसबारे अध्ययन गरी न्यूनतम १९ र अधिकतम ३९ प्रतिशतसम्म भाडा बढाउन मिल्ने सिफारिस प्राधिकरण सञ्चालक समितिमा पेस गरेको थियो।

सिफारिसपछि सञ्चालक समितिले थप अध्ययन गर्न पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। आचार्यको समितिले हालै २४ प्रतिशतसम्म हवाई भाडा वृद्धि गर्न उपयुक्त रहेको सुझाव दिएको थियो। यसैलाई सोमबारको पर्यटन मन्त्रीस्तरीय निर्णयले अनुमोदन गरेको हो।

'अब बैठक बस्छौं र त्यसको चौबीस घन्टाभित्र सरकारले अनुमति दिएअनुसार हवाई भाडा वृद्धि गर्छौं,' वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले नागरिकसँग भने, 'आधार मूल्यमा भाडा वृद्धि गर्छौं।'

उनका अनुसार मूल्य वृद्धिअनुसार हवाई भाडा पुनरावलोकन हुन सकेको थिएन। वायुसेवा सञ्चालक र सरकारबीच प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सहमति भए पनि पछिल्लो सात वर्षदेखि विविध कारण पुनरावलोकन हुन सकेको थिएन। 'यसपालि बल्ल भाडा पुनरावलोकन भयो,' आचार्यले भने, 'अबदेखि प्रत्येक दुई वर्षमा भाडा पुनरावलोकन हुने विश्वास छ।'

वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ। प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ भने सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ। सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो। 

प्रकाशित: २८ मंसिर २०७३ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App