coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुदूरपश्चिम महोत्सव, १३ वर्षमा ६ माग पूरा

कैलाली - सुदूरपश्चिममा विकास चाहियो भन्दै विभिन्न २१ बुँदे माग राखेर २०६३ मंसिर २२ गतेदेखि शालिन आन्दोलनको रुपमा महोत्सवको आयोजना गर्दै आएको उद्योग वाणिज्य संघका १३ वर्षको अवधिमा ६ माग पूरा भएका छन्। १३ वर्षअघि धनगढीमा महोत्सव सञ्चालन गर्दै तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवालाई २१ किलोको फूलको माला लगाएर सुदूरपश्चिमको कृषि, पर्यटन, उद्योग, व्यापार तथा यहाँको सामाजिक विकासका लागि भन्दै कैलाली उद्योग वाणिज्य संघले १२ बुँदे माग प्रस्तुत गरेको थियो।

‘हामीले सुदूरपश्चिमको विकासका लागि भन्दै तत्कालीन समयमा विभिन्न २१ बुँदे माग राखेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई २१ किलोको फूलको मालाको भारी बोकायौं,’ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल हमालले भने, ‘हामीले राखेका २१ मागमध्ये १३ वर्ष बितिसक्दा जम्मा ६ माग मात्रै पूरा भएका छन्।’

१३ वर्षअघि शालिन आन्दोलनका रुपमा महोत्सव सञ्चालन गरेर सुदूरपश्चिमको विकासका लागि २१ माग राखेको कैलाली उद्योग वाणिज्य संघको नेपाल सरकारले अहिलेसम्म ६ माग मात्रै पूरा गरेको छ।   

अहिलेसम्म  गेटा एयरपोर्टको स्तरोन्नति गरी कालोपत्रे गर्नुपर्ने, सुदूरपश्चिममा दुग्ध विकास संस्थान स्थापना गर्नुपर्ने, सुदूरपश्चिममै मेडिकल कलेज खोलिनुपर्ने, नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याएर दूरसञ्चार सेवा चुस्तदुरुस्त बनाइनुपर्ने, सुदूरपश्चिममा छुट्टै विश्वविद्यालय बनाइनुपर्ने र धनगढीमा रंगशाला निर्माण गरिनुपर्ने माग सरकारले पूरा गरे पनि बाँकी १५ वटा मागको सुनुवाइ नै नभएको उनी बताउँछन्।

‘हाम्रा अन्य महत्वपूर्ण मागमध्येकै फास्ट ट्र्याक चाँडै बनाइनुपर्ने, ताक्लाकोट–उरैभञ्ज्याङ भएर तिब्बत सडक बनाइनुपर्ने, महाकालीमा पुल बनाइनुपर्नेलगायत सुदूरपश्चिमको मुहार फेर्ने योजनासहितका माग अगाडि सारेका थियौं,’ उनले भने, ‘ती २१ मागमध्ये १३ वर्षको अवधिमा ६ माग मात्रै पूरा भएका छन्।’

तत्कालीन समयमा सुदूरपश्चिममा उच्च तहमा पुगेका नेता तथा प्रधानमन्त्री भइसकेको व्यक्तित्वलाई सुदूरपश्चिममा बोलाएर २१ मागसहित २१ किलोको मालालगाइँदा विकास होला भन्ने ठानेको बताउँदै उनले भने, ‘त्यसपछि पनि हामीले निरन्तर हरेक वर्ष मंसिर २२ गतेका दिन महोत्सव गर्दै केन्द्रबाट प्रधानमन्त्री, सभामुखदेखि मन्त्रीसम्मलाई बोलाएर माग बराबरको फूलको माला बनाएर पहि¥याउँदै आयौं, तर, पनि हाम्रा माग ओझेलिए।’

आफूले १३ वर्षअघि राखेको ‘पश्चिम सेती’ बनाइनुपर्ने माग भने अहिले बिलाएको भन्दै उनले दुःख व्यक्त गरे। ‘हामीले व्यक्तिगत केही मागेका थिएनौं,’ उनले भने, ‘मात्र सुदूरपश्चिमको विकासका लागि केही माग रखेका थियौं, सुदूरपश्चिमको विकासको मुहार फेर्ने माग नै पूरा गरिदिएन सरकारले।’  


हरेक वर्ष एउटा माग मात्रै पूरा गरिदिएको भए पनि अहिलेसम्म १३ वटा माग पूरा भइसक्ने बताउँदै हमालले भने, ‘यहाँका नेताहरुमा गर्ने इच्छाशक्ति नै छैन।’ नेताहरुमा इच्छाशक्ति नभएकै कारण सदियौंदेखि सुदूरपश्चिम विकासमा पछाडि परेको समेत उनले तर्क राखे।

‘सुदूरपश्चिमबाट नेतृत्व तहमा धेरै नेताहरु पुगिसकेका छन्,’ उनले भने, ‘१३ वर्षअघि हामीले माग राखेर शालिन आन्दोलन थालेको समयदेखि तिनै नेताले आफ्नो कार्यकालमा एउटा गौरवको आयोजना नै ल्याइदिएको भए १३ वर्षमा १३ वटा गौरवका आयोजना भइसक्थे।’

कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १४ औं संस्करणमा आउन्जेलसम्म ६ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको संघका महासचिव ओम बिष्टले बताए। ‘उद्योग वाणिज्य संघले १३ वर्षअघि तत्कालीन सरकारलाई सुदूरपश्चिमको विकासका लागि भन्दै २१ बुँदे माग राख्दै शालिन आन्दोलनको सुरुवात गरिएको थियो,’ महासचिव बिष्टले भने, ‘यस अवधिमा जम्मा ६ माग मात्रै सरकारले पूरा गरेको छ, १५ माग अझै बाँकी नै छन्।’

महोत्सव उद्घाटनका समयमा प्रमुख अतिथिलाई उद्योग वाणिज्य संघले २१ किलोको माला लगाएर माग राखेको थियो। अहिले त्यो घट्दै गएर १५ किलोको मालामा झरेको उनले बताए। ‘हामीले सुदूरपश्चिमको विकासका प्रमुख २१ माग राखेर प्रमुख अतिथिलाई पनि २१ किलोको माला पहि¥याएर महोत्सव उद्घाटन गरेका थियौं,’ उनले भने, ‘जति माग सरकारले पूरा ग¥यो, त्यति माग कम भएको तौल बराबरको माला प्रमुख अतिथिलाई पहि¥याउने गरेका छौं।’

यस वर्ष पनि मंसिर २२ गतेदेखि हुने सुदूरपश्चिम महोत्सव प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रदर्शन गर्न महोत्सव आयोजना हुन थालेको वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मूल नाराका साथ हुने महोत्सवमा एक करोड बढीको लगानी लाग्ने आयोजकले बतायो।

महोत्सवमा कृषि, मह, जडीबुटी, हस्तकला, अल्लोका सामान, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक सामान, होटल र सूचना प्रविधि गरी तीन सय स्टल राखिने उनले बताए। महोत्सव निर्माण स्थलमा सजावटको काम धमाधम भइरहेको उनले बताए।

प्रकाशित: १९ मंसिर २०७६ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App