४ वैशाख २०८१ मंगलबार
समाज

बिगुमा भालु आतंक

फाइल तस्बिरः नागरिक

दोलखा – बिगु गाउँपालिका–४, चित्रेका २४ वर्षीया टुल्के तामाङको मंगलबार बिहान घरमाथि रहेको गोठमा गाईवस्तुलाई घाँस खुवाउन जाँदा भालुसँग जम्काभेट भयो। रिसाएको भालुले आक्रमण गर्दा उनको टाउको र अनुहारमा गहिरो चोट लाग्यो। त्यसपछि उनलाई स्थानीय सिंगटी बजारमा रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप राजधानी काठमाडौं पठाइएको थियो। जिरी नगरपालिका–१, श्यामागाउँको च्यादुकेका ७४ वर्षीय पदमबहादुर खड्का पनि गत कात्तिक १८ गते भालुको आक्रमणमा परे। भालुको आक्रमणबाट उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो। त्यसपछि उनलाई तत्कालै उपचारका लागि जिरी अस्पताल ल्याइयो।

यी दुई घटना त केही प्रतिनिधि मात्र हुन्। गत कात्तिकदेखि मंगलबारसम्म यहाँ भालुको आक्रमणमा परेर पाँचजना घाइते भएका छन्। भालुको त्रासले यहाँका स्थानीयले बसाइँसराइ गर्न थालेपछि गाउँ खाली हुन थालेको छ। प्रायः कात्तिक÷मंसिरमा यहाँका स्थानीय भालुु आक्रमणको सिकार हुने गरेका छन्। हिमाली र माथिल्लो पहाडमा पाइने कालो भालु गाउँ पसेर आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढ्दै गएको हो।

आहाराको खोजी, प्रजनन र सहवासको समय भएकाले रिसको झोकमा हिँड्ने र यो समयमा भालुले आक्रमण गर्नसक्ने सम्भावना बढी रहेको विज्ञहरूको भनाइ छ। ‘भालुको कात्तिक र मंसिर सहवासको समय हो,’ गौरीशंकर संरक्षण क्षेत्रका आयोजना प्रमुख सत्यनारायण शाहले भने, ‘एउटै पोथीलाई ३/४ वटासम्म भाले भालुले लखेट्ने र सम्बन्ध राख्न नपाएको झोकमा बस्तीनजिक पुगेर मानिसलाई आक्रमण गर्छ।’ यस्तै माउसँग सानो बच्चा भेटिएको अवस्थामा वा सहवासको समयमा एउटै पोथीसँग ३÷४ ओटासम्म भाले हुने भएकाले सजक हुनुपर्ने उनको भनाइ छ।

आहाराको खोजी, प्रजनन र सहवासको समय कात्तिक/मंसिर भएकाले रिसको झोकमा हिँड्ने र आक्रमण गर्ने सम्भावना बढी रहेको विज्ञहरूको भनाइ।

आयोजना प्रमुख शाहका अनुसार दोलखामा २ वर्षको अवधिमा १५ वटा भालु आक्रमणका घटना भएका र ती घटना प्रायः कात्तिक र मंसिरमै भएका छन्। दोलखामा भएका यी घटनाको तथ्यांक हेर्दा बिहान ६ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म भालुले आक्रमण गर्ने गरेको देखिन्छ। भालुले आफू असुरक्षित महसुस भएपछि दुई खुट्टाले जुरुक्क उभिएर आवाज निकाल्ने र सोझै मानिसको अनुहारमा चिथोर्ने, टोक्ने तथा कोपर्ने गर्छ।

विज्ञहरूले भालुले मासु खाँदैन भनेका छन् तर दोलखाका विभिन्न स्थानमा जंगलछेउ रहेका गोठमा आहाराका लागि भालु गाउँ पस्ने गरेको देखिएको आयोजना प्रमुख शाहको भनाइ छ। यस्तै गाउँघरमा खाद्यबालीसमेत भालुले विनाश गर्ने गरेको छ। करिब ५ वर्षअघि मंगलबार बिहान टुल्के घाइते भएको लादुक गाउँमा भालुकै आक्रमणबाट चारजना स्थानीय घाइते भएका थिए।

यो हिमाली भालु एक हजार मिटरदेखि २५ सय मिटरसम्म नेपालका हरेक स्थानमा पाइन्छ। भालुले आक्रमण गर्दा ओरालो स्थानतर्फ दौडिनुपर्ने, छाता भए छाता खोल्नुपर्ने, खसीबाख्राको आवाज निकालेर कराउनुपर्ने सुझाव विज्ञको छ। भालुसहित जंगली जनावरको आक्रमणमा परेर घाइते भएकालाई गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ। भालुको आक्रमण बढेपछि आयोजनाले गाउँस्तरीय संरक्षण समितिमार्फत आक्रमणबाट जोगिने उपायबारे सचेतना अभियानसमेत सुरु गरिएको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App