७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘ट्रम्पविरुद्ध महाभियोगका लागि यथेष्ट प्रमाण’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर ः एजेन्सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदीय अधिकारको दुरुपयोगमा महाभियोग लगाउन यथेष्ट प्रमाण रहेको उनीविरुद्ध महाभियोग अनुसन्धानको नेतृत्व गरिरहेको एउटा समितिले जनाएको छ। ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थविपरीत राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत लाभका लागि पदीय दुरुपयोग गरेको’ एउटा प्रमुख प्रतिवेदनमा उल्लेख गरिएको छ।

ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मंगलबार संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको हो। प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पु-याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि युक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन्।

राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको देशको तल्लो सदनको गुप्तचरसम्बन्धी विषय हेर्ने समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

राष्ट्रपति ट्रम्पले आफूविरुद्धका साक्षीलाई तर्साउन खोजेको अनि समितिले बोलाएका कर्मचारीलाई अटेर गर्न दबाब दिएको पनि आरोप लागेका छन्। राष्ट्रपति ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठानेको र उनले शक्ति दुरुपयोग गरेकोबारे प्रशस्त प्रमाण रहेको संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’को गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिका अध्यक्ष एडम सिफले बताएका छन्।

‘गुप्तचरसम्बन्धी विषय हेर्ने समितिले जेजस्तो आरोप लगाए पनि ती कुनैपनि आरोप राष्ट्रपति ट्रम्प वा उनको दलका नेताहरुका निम्ति नौलो भने हुने छैन। तर यो सबै प्रयत्नलाई राजनीतिक रूपले प्रेरित अभियान भन्दै आएका ट्रम्प थप आक्रोशित भने हुनेछन्,’ बिबिसीले उल्लेख गरेको छ।

संसद्को समितिले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनप्रति अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने कडा प्रतिक्रिया दिएको छ। उसले प्रतिवेदन एकपक्षीय रहेको आरोप लगाउँदै महाभियोग अनुसन्धान नक्कली भएको जिकिर पनि गरेको छ।

के छन् ट्रम्पविरुद्धका आरोप?
राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको देशको तल्लो सदनको गुप्तचरसम्बन्धी विषय हेर्ने समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। राष्ट्रपतिले सन् २०२० मा हुने आगामी राष्ट्रपतीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यले महिनौंसम्म युक्रेनबाट वैदेशिक हस्तक्षेप खोजिरहेको प्रतिवेदनमा लेखिएको छ। यो प्रतिवेदन ट्रम्पलाई पदबाट हटाउनका निम्ति आधार तयार पार्ने हिसाबले आएको बताइएको छ।

दुई महिनाभन्दा धेरै समयदेखि संकलन गरिएका १७ जना साक्षीको बयानमा प्रतिवेदन आधारित रहेको समितिले जनाएको छ। राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको र आफूविरुद्ध विपक्षीहरु योजनाबद्ध तरिकाले निरन्तर लागिरहेको बताउँदै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्र्याटका तर्फबाट आउँदो राष्ट्रपतीय निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्दी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको आरोपमा महाभियोग अनुसन्धान भइरहेको छ र बुधबारबाटै सो अनुसन्धानअन्तर्गतको दोस्रो चरणको सुनुवाई सुरुसमेत भएको छ।

सुनुवाई राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीबीच गत जुन महिनामा भएको टेलिफोन वार्ताबारे केन्द्रित हुने बताइएको छ। सो टेलिफोन कुराकानीमा ट्रम्पले बाइडन र विगतमा युक्रेनको एउटा ऊर्जा कम्पनीमा काम गरेका उनका छोरा हन्टरविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग आग्रह गरेको दाबी महाभियोग अनुसन्धान समितिको रहेको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App