७ वैशाख २०८१ शुक्रबार
समाज

बलिका राँगा–बाेका व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने खतरा

भाकल पूरा भएपछि सर्लाही नयाँ रोडका श्रद्धालु बलि दिनुअघि पूजा गर्दै। तस्बिर : नागरिक

बारा – बलि व्यवस्थापन उपसमिति निष्क्रिय बनेपछि गढीमाई मेलामा बलि दिइएका राँगाका टाउका र आन्द्राभुँडी खुला रूपमा छाडिएका छन्। बलि दिइसकिएका सात हजारभन्दा बढी राँगाका टाउका र आन्द्राभुँडी खाल्डोमा पुर्ने जिम्मेवारी बलि व्यवस्थापन उपसमितिको भए पनि पदाधिकारीहरू सम्पर्कविहीन भएपछि समस्या सिर्जना भएको हो।

राँगाका टाउका र आन्द्राभुँडी खुला रूपमा राख्दा दुर्गन्ध फैलिन सक्ने भन्दै बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको निर्देशनमा पशु क्वारेन्टाइनबाट खटिएको प्राविधिक टोलीले खोजी गर्दा उपसमितिका पदाधिकारीहरू बुधबार दिनभरि सम्पर्कविहीन बनेका थिए। बुधबार दिउँसो ३ बजे प्रजिअले उपसमितिका उपाध्यक्ष वीरेन्द्र साहलाई केही घन्टा नियन्त्रणमा समेत लिएको बताइएको छ। उपसमितिका उपाध्यक्ष सुरक्षाकर्मीको नियन्त्रणमा परेपछि मेला मूल व्यवस्थापन समिति र बलि व्यवस्थापन उपसमितिका पदाधिकारीहरूले बुधबार बेलुकादेखि आफ्नो जिम्मेवारी पूरा गर्नतिर लागिसकेको दाबी गरिएको छ।

बलि व्यवस्थापन उपसमितिका पदाधिकारीहरूको गैरजिम्मेवारीपनका कारण मेला क्षेत्रमा दुर्गन्ध फैलन सक्ने डरले दबाबस्वरूप उपसमितिका उपाध्यक्षलाई केही घन्टा नियन्त्रणमा राख्न लगाएको प्रजिअ पोखरेलले स्वीकार गरे। उपाध्यक्ष साह नियन्त्रणमा परेपछि समितिका पदाधिकारीहरू आफू पनि पक्राउ पर्ने डरले जिम्मेवारी पूरा गर्नतिर लाग्न बाध्य भएको जनाइएको छ।

गढीमाई मेलामा बुधबार पनि १३ लाखभन्दा बढी श्रद्धालु
गढीमाई पञ्चवर्षीय मेलामा बुधबार पनि १३ लाखभन्दा बढी श्रद्धालु सहभागी भएका छन्। लाखौं संख्यामा श्रद्धालु ओइरिएपछि भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ। मेलामा आउने सवारीसाधनको भीड बढेपछि ट्राफिक जामसमेत बढेको छ। कलैया–बरियारपुर, बरियारपुर–भारतको छौडादानवलगायत विभिन्न सडकमा लामो ट्राफिक जामका कारण श्रद्धालुहरू घन्टौं हिँडेर मेलासम्म पुग्न बाध्य भए। मानवत–मटिअर्वा, पिलुवा–कलैया, गन्जभवानीपुर–गढीमाई सडकमा पनि मानिस तथा सवारीसाधनको अत्यधिक भीड देखिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। उनका अनुसार भारतका विभिन्न राज्य र नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु धेरै आइपुगेकाले सडक र मेला क्षेत्रमा ठूलो भीड लागेको हो।
तीन लाख बोकाको बलि

गढीमाई पञ्चवर्षीय मेलामा बुधबार तीन लाखभन्दा बढी बोका बलि दिइएको छ। बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुरलगायत नेपालका विभिन्न जिल्ला, भारत विहारका मोतिहारी, बेतिया, भागलपुर, सीतामढी, मुजफरपुरलगायत जिल्ला, उत्तरप्रदेश र बंगालका विभिन्न जिल्लाबाट भाकल पूरा भएका श्रद्धालुले गढीमाईमा त्यति धेरै संख्यामा बोका बलि दिएको गढीमाईका पुजारी मंगल चौधरीले बताए। छिमेकी सुकदेव थापाको भाकल पूरा भएपछि उनले पठाएको बोका लिएर आफू गढीमाई आएको सर्लाही नयाँ रोडका टेकबहादुर ढकालले बताए। नयाँ रोडकै नरेन्द्र थापाले पत्नी पवित्रा थापालाई रोगले च्यापेपछि गढीमाई मातासँग सन्चो गराइदिए बोका बलि दिने वाचा गरेको बताए। गढीमाईले आफ्नो पत्नीलाई पूर्ण रूपले सन्चो गराइदिएकाले बोका बलि दिन ल्याएको उनले बताए।

दुई सय ५० पाकेटमार पक्राउ
जारी गढीमाई मेलामा दुई हप्ताको अन्तरालमा दुई सय ५० पाकेटमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बाराका प्रहरी नायब उपरिक्षक रन्जितसिंह राठौरले पटकपटक गरी दुई सय ५० जना पाकेटमार र मेलामा उच्छृंखल गतिविधि गर्नेहरूलाई पनि नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिइएकामध्ये मंगलबारसम्म ३६ जनालाई सार्वजनिक मुद्दा दायर गरी अनुसन्धानको दायरामा ल्याइएको बताए। उनले सिक्री, पैसा र मोबाइल चोरिएको भन्दै मेला भर्न आएका एक सय जनाजतिबाट गुनासो आएको र तिनै गुनासाका आधारमा व्यापक मात्रामा पक्राउ गरी अनुसन्धान थालिएको बताए।

प्रकाशित: १९ मंसिर २०७६ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App