८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन समीक्षा र विभाग गठन गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं – नेपाली कांग्रेसले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा उपनिर्वाचनको परिणामका विषयमा कांग्रेसले समीक्षा गर्ने लागेको हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारको अलोकप्रियतालाई उपनिर्वाचनले उदांगो बनाउने दाबी कांग्रेसको थियो। तर, निर्वाचन परिणाम कांग्रेसले दाबी गरेअनुसार नआए पनि विगतमा भन्दा केही सुधार गरेको छ। तत्कालीन नेकपाले जितेको भक्तपुरको प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको परिणाम कांग्रेसले आफ्नो पक्षमा पार्न सफल भएको छ। स्थानीय तहको निर्वाचनमा धरानामा तत्कालीन एमाले एक्लैले परिणाम आफ्नो पक्षमा पारेको थियो।

तत्कालीन एमाले र माओवादीले विगतमा जित निकालेका ६ वटा वडाको परिणाम कांग्रेसले उल्ट्याउन सफल भएको छ। तर, उसले विगतमा जित निकालेको ७ वटा वडाहरू उपनिर्वाचनमा गुमाएको छ। दाङ र बाग्लुङमा भएको प्रदेशसभा निर्वाचनमा मतान्तर घटाएपनि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भने कांग्रेसले गुमाएको छ। त्यस विषयमा आगामी बैठकमा समीक्षा हुनेछ।

त्यसैगरी बैठकमा पार्टीको विभागसहितका समिति गठनका विषयमा पनि छलफल हुनेछ। सभापति शेरबहादुर देउवा उपनिर्वाचनअघि नै विभाग गठनको पक्षमा थिए। विभागको संख्या थपेर सभापति देउवाले गठनको तयारीपछि नेता रामचन्द्र पौडेलसहितले असन्तुष्टी जनाएपछि उनले निर्वाचन अघि त्यसलाई रोककेका थिए। आगामी बैठकमा देउवाले विभाग संख्या थप गर्ने प्रस्ताव बैठकमा पेस गर्ने एक नेताले जानकारी दिए।

त्यस्तै, बैठकमा पार्टी केन्द्रीय सदस्य एनपी साउद नेतृत्वमा गठन भएको भ्रातृ तथा शुभेच्छुक संगठनको विधान टुंगो लगाउन गठित समितिको प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ। कार्यकाल सकिएका भ्रातृ तथा शुभेच्छुक संगठनको केन्द्रीय समितिलाई छ महिनाको समय दिएर महाधिवेशनमा पठाउने पार्टी केन्द्रीय समितिको यसअघिको बैठकले निर्णय गरीसकेको छ।
झन्डै एक वर्ष देखि केन्द्रीय नेतृत्वविहीन रहेको नेपाल विद्यार्थी संघको नेतृत्व पनि सभापति देउवाले छिट्टै तोक्ने तयारीमा जुटेका छन्। पार्टी केन्द्रीय समितिले सभापतिलाई संघको महाधिवेशन आयोजक समिति गठनको अधिकार दिएको छ। उनले यसअघि नै राजीव ढुंगानालाई संघको नेतृत्व दिने प्रस्ताव नेता पौडेलसहितको बैठकमा गरिसकेका छन्। माघ २ गते देखि संघ नेतृत्वविहीन छ।

प्रकाशित: १९ मंसिर २०७६ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App