६ वैशाख २०८१ बिहीबार
खेल

लाहुरे सपनालाई उसुको स्वर्ण

काठमाडौं - सुर्खेतका दीपक हमाल उच्च शिक्षासँगै केही गर्ने अठोट बोकेर एसएलसी दिनासाथ काठमाडौं आएका थिए। सुर्खेत बजारबाट करिब २६ किलोमिटर टाढा छिन्चुका दीपकले प्लस टु दिएसँगै ब्रिटिस लाहुरेका लागि भिडेका थिए। साथीहरू करियरमा केन्द्रित हुन थालेपछि दीपक ब्रिटिस लाहुरेका लागि पनि भिडेका थिए। यद्यपि, सफलता हात पारेन। लाहुरे बन्नका लागि शरीरलाई फिट बनाउन उनी उसुमा प्रवेश गरेका थिए। लाहुरे भिड्न सहज हुने भएकाले नै दीपकले उसु खेल्ने निर्णय लिए।

यसैलाई खेलजीवन बनाउने दीपकको लक्ष्य भने थिएन। ब्रिटिस लाहुरको एआरओ चरणसम्म पुगेका दीपकले त्यसभन्दा माथिको चरण पार गर्न सकेका थिएनन्। जुन असफलता बुधबार नेपालका लागि भाग्यमानी साबित भएको छ। लाहुरेमा असफला उनै दीपकले बुधबार १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका छन्। बुधबार नेपालको पदकतालिकमा उसुले एक स्वर्ण थप्दा दीपक त्यसका नायक थिए।

लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा दीपकले स्वर्ण पदक जितेका हुन्। दीपकले पुरुष थाउलोको नानछ्वान अलराउन्डरमा १९.३२ अंक बटुल्दै स्वर्ण जितेका हुन्।  यस स्पर्धामा भारतका साजन लामाले १९.१२ अंक बटुल्दै रजत जित्दा बंगलादेशका मोहमद अमिर हुसेनले १७.१७ अंकका साथ कांस्यमा चित्त बुझाए। जितपछि दीपकले राष्ट्रका लागि केही योगदान गर्न पाउँदा एकदम खुसी भएको प्रतिक्रिया दिए।

‘आज एकदम खुसी छु। बिना लक्ष्य राष्ट्रका लागि केही गर्न सकेको छु। सुरुआतमा फिटनेसका लागि उसुमा लागें। तर प्रकाश लामा गुरुको बारम्बार प्रेरणाबाट यो सफलता मिलेको छ,’ दीपकले भने, ‘पछि गुरुहरूले नानछ्वान खेल्ने शारिरिक बनावट भएको छ तिमीले खेल्नु पर्छ भनेपछि मात्र उसुलाई निरन्तरता दिएँ। जुन आज सही साबित भएको छ।’

उसुलाई निरन्तरता दिने निर्णय लिँदासम्म दीपकलाई केही गर्न सक्छु भन्ने आशै थिएन। तर, रंगशालामा भएको उसु च्याम्पियनसिपमा पहिलो सहभागितामै चौथो भएपछि भने दीपकमा आत्मविश्वास बढ्न थाल्यो। प्रशिक्षकले पनि पहिलो सहभागितामै राम्रो नतिजा आएको भन्दै उनलाई प्रोत्साहित गरे। गत संस्करणको १२औं सागका लागि छनोटमा दीपक पराजित भएपछि साग खेल्ने सपना पूरा भएन।

यस पटकको संस्करणको छनोटमा भने युवराज थापालाई हराउँदै दीपकले घरेलु मैदानमा हुने साग खेल्ने तय गरेका थिए। यस पटक १३औं सागअगाडि चीनमा केही महिना प्रशिक्षण गरेका कारण आफूमा थप मनोबल बढेको बताए। २६ वर्षे दीपक खेलसँगै आफ्नो पढाइ पनि अगाडि बढाइरहेका छन्। उनी हाल मास्टर्स पढ्ने तयारीमा छन्।

सागको तयारीका कारण जुन यसअघि रोकिएको थियो। साथै दीपकले आगामी दिनमा पनि राष्ट्रका लागि पदक दिलाउनमै समर्पित गर्ने विश्वास व्यक्त गरेका छन्। ‘खेल छोड्न अब कुनै योजना छैन,’ दीपकले भने, ‘पढाइसँगै खेललाई पनि अगाढि बढाउँछु। एसियन गेममा पदक जित्ने लक्ष्य राखेको छु।’

बुधबार नै भएको थाइचिछ्वान अलराउन्डरमा भने श्रीलंकाका थारिदु नमल अनुरथले स्वर्ण जिते। उनले १८.९० अंक जोडे। यसै गरी भारतका ज्ञानदास सिंहले १८.७४ अंकका साथ रजत र नेपालका हरिप्रसाद गोलेले १८.४९ अंकका साथ कांस्य पदक पाए। पुरुष थाउलोको ताउसुमा भारतका सुरज सिंहले ९.६६ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेका छन्।
नेपालका विश्व बुढामगरले ९.५५ अंकका साथ सिंहलाई पछ्याइरहेका छन्। यस स्पर्धामा बंगलादेशका मोहमद रसेल हुसेनले ९.३९ र श्रीलंकाका हसिका चमिरा बन्दाराले ९.०७ अंक जोडेका छन्। यसअघि पुरुष थाउलोको चवाङक्वाङमा विजय सिञ्जाली र महिला थाउलोको चवाङक्वाङमा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए।

उसुको सान्डामा नेपालका अलिना चौधरी र जुनी राई फाइनलमा पुगेका छन्। महिलाको ५२ केजी तौल समूहमा एलिनाले पाकिस्तानकी फतिमा र महिलाकै ५६ केजीमा जुनीले भारतकी विद्यापति चानुलाई अंकका आधारमा पराजित गर्र्दै उपाधि नजिक पुगेका हुन्। सोही तौलमा भारतकी सनथोई देवीले श्रीलंकाकी दिलहानीलाई पराजित गर्दै अलिनासँगको उपाधि भिडन्त पक्का गरिन्।

५६ केजीमा श्रीलंकाकी मधुमलीले बंगलादेशकी सकी अख्तरलाई पराजित गरिन्।  महिलाको ५२ केजीमा फतिमा र विद्यापति तथा ५६ केजीमा दिलहानी र सकीले कांस्यमा चित्त बुझाए। महिलाको ६० केजीको राउन्ड रोबिनमा पाकिस्तानकी माइरा करामतले बंगलादेशकी रीताविश्वास पूजालाई पराजित गरिन्। पुरुषको ६० केजीमा भारतका विक्रान्त बालियान र नेपालका मंगल थारु फाइनलमा पुगे।

विक्रान्तले श्रीलंकाका पीएन बलवारदना र मंगलले बंगलादेशका मोहमद मिलोन अलीलाई पाखा लगाए। पुरुषको ७० केजी तौल समूहको सेमिफाइनलमा पाकिस्तानका सहजैब खैर र भारतका सुरज यादव फाइनलमा पुगेका। सहजैबले बंगलादेशका श्रीलंकाका एसजीआर रुमेश र सुरजले नेपालका चित्रसिंह ठकुरीलाई पाखा लगाए। सहजैब खैर चित्रसिंह ठकुरीले कांस्यमा चित्त बुझाए।

पुरुष ८० केजीको सेमिफाइनलमा भारतका नभिनले बंगलादेशका मोहमद रुबल खानलाई हराए। यही तौल समूहमा पाकिस्तानका साजिद हुसेनले नेपालका निकेश श्रेष्ठलाई पराजित गरे। सेमिफाइनलमा पराजित मोहमद रुबेल खान र निकेश श्रेष्ठले कांस्यमा चित्त बुझाए। पुरुष ८५ केजीको राउन्ड रोबिनमा पाकिस्तनका मोहमद अम्जद इक्वालले श्रीलंकाका मधुशंकालाई पराजित गरे।   

सान्डामा बुधबार नेपालले दुई कांस्य जित्यो। बंगलादेशले ५, श्रीलंकाले ४ र भारतले दुई कांस्य पदक प्राप्त ग¥यो। बिहीबार थाउलोमा तीन र सान्डामा १४ गरी १७ स्वर्ण पदकको टुंगो लाग्नेछ।

प्रकाशित: १९ मंसिर २०७६ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App