८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावी तरंगपछि कर घटाउन होडबाजी

पदभार ग्रहण गरेपछि कर पुनरावलोकन गर्न कार्यदल गठनको प्रस्तावबारे निर्णयमा हस्ताक्षर गर्दै नवनिवार्चित मेयर तिलक राई। तस्बिर : रोहित/नागरिक

धरान – धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन्। उनले साढे १२ बजेको साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन्। उनलाई उपमेयर मञ्जु भण्डारी सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले कार्यकक्षमा पदभार ग्रहण गराएका थिए। नवनिवार्चित मेयरको पदभारभन्दा पनि बुधबार बिहानैदेखि धरानबासीमा कर घटाउने विषयले चर्चा पायो। चुनावअघि कांग्रेस र नेकपा दुवैले कर घटाउने घोषणा गरेका थिए। चुनावमा नेकपा पराजित भएपछि कांग्रेसबाट विजयी मेयर राईले पदभार ग्रहणसँगै कर घटाउनेबारे विशेष निर्णय लिने अनुमान गरिएको थियो।

मेयर राईले पदभार ग्रहण गर्नुअघि नै मंगलबार साँझ नै नेकपाले ‘करको दर पुनरावलोकन गरी तत्काल करका दर घटाउने कार्य सुरु गर्न आफ्नो संसदीय दललाई निर्देशन दिएको’ विज्ञप्ति जारी ग-यो। निर्वाचनका बेला जनताका घरदैलोमा जाँदा विभिन्न तहबाट लागू गरिएका करप्रति जनताको व्यापक गुनासा र असन्तुष्टि पाइएको विज्ञप्तिमा उल्लेख छ। चुनाव हारिसके पछि नवनिवार्चित मेयरले पदभार ग्रहण गर्नुअघि जारी भएको विज्ञप्तीलाई लिएर सामाजिक सञ्जालमा थुप्रै टिकाटिप्पणीहरु भइरहेका छन्।

यता, नवनिवर्चित मेयर राईले बुधबार पदभार ग्रहण गरेसँगै राजश्वका दरहरुप्रति जनताको गुनासोलाई सम्बोधन गर्न अध्ययन गरेर सुझाव पेश गर्नको लागि बिशेषज्ञ समेटेको कार्यदल गठन गर्ने निर्णय आगामी कार्यपालिका बैठकमा पेस गर्ने निर्णय गरेका छन्। पाँचौ नगरसभाले पारित गरेर लागू गरेको आर्थिक ऐन २०७६ को केही राजस्वका दरप्रति अस्पष्ट र व्यापक गुनासो देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिन विशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए। ‘करलाई व्यावहारिक र वैज्ञानिक बनाउने निर्णय भएको छ, यसमा सहयात्री राजनीतिक दलले पनि विश्वास दिएको छ, उहाँहरुले हिजै विज्ञप्ती निकालेर नगरपालिकालाई प्रोत्साहन गर्नुभएको छ,’मेयर राईले भने, ‘राजनीतिक दल र नगरवासीको भावनाअनुसार कर पुनरावलोकन गरेर कार्यान्वयन गर्नेछौं।’

मंसिर १४ गतेको उपनिर्वाचनमा कर वृद्धि प्रमुख चुनावी अजेन्डा बनेको थियो। कांग्रेस र नेकपा दुवै दलका उम्मेदवारले चुनाव जितेपछि कर पुनरावलोकन गरेर घटाउने घोषणा गरेका थिए। अस्वभाविक रूपमा कर वृद्धि भएपछि नेकपा नेतृत्वको उपमहानगरपालिकाले गएको वर्ष चर्को आलोचना खेपेको थियो भने कांग्रेससहित साना दलले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेपछि दररेटमा केही समायोजन भएको थियो। धरानमा कम्युनिस्ट विबरासत गुम्नुमा धेरै कारणमध्ये कर वृद्धि पनि प्रमुख भएको मानिन्छ।

धरानमा नगर कार्यपालिका र नगरसभामा नेकपाको दुईतिहाई बहुमत छ। तीस जनाको कार्यपालिकामा कांग्रेसको मेयर र ५ जना वडाअध्यक्ष छन् भने नेकपाको उपमेयरसहित २४ जना कार्यपालिका सदस्य छन्। तसर्थ, कार्यपालिका र नगरसभाबाट आफ्नो प्रस्ताव पारित गराउन नवनिवार्चित मेयर राई सहज भने छैन।
गणेशमान र तारा सुब्बाको प्रतिमामा माल्र्यापण

पदभार ग्रहण गर्नुअघि मेयर राईले धरान १६, गणेशमान चोकस्थित लौहपुरुष गणेशमान सिंह श्रेष्ठको सालिकमा माल्र्यापण गरेका थिए। यस्तै, धरान १९ स्थित हरियाली वन समुह परिसरमा पुगेर स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा पनि माल्र्यापण गरेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा निवार्चित सुब्बाको गत वर्ष निधन भएको थियो। उनको परिवारले तारा सुब्बा स्मृति पार्क स्थापनाको माग गर्दै आइरहेका छन्। नवनिवार्चित मेयर राईले आफू तारा सुब्बाको उत्तराधिकारीको रूपमा नगरवासीको हितमा मिलेर काम गर्ने प्रतिक्रिया दिए। ‘स्वर्गीय मेयर तारा सुब्बाको योगदानको कदर गर्न तारा सुब्बा स्मृति पार्कलाई मूर्त रूप दिन सिंगो धरान उपमहानगरपालिका जुट्नेछ, नगरको विकास र समृद्धिमा सबैको सहयोग र सद्भाव हुनेछ भन्ने आशा लिएकोछुँ,’ प्रतिमामा माल्र्यापणपछि मेयर राईले भने।

मेयर राईले उपमहानगरमा आउने अजेन्डा व्यक्तिगत र पार्टी विषेशको नभै समग्र नगरबासी र नगरको हितमा हुने प्रतिवद्धता जनाएका छन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै उनले यसअघि कार्यपालिका बोर्डले नगरबासी र नगरको हितमा अघि बढाएको योजनाहरुलाई आफुले पनि विना हिच्किचाहट निरन्तरता दिने बताए। अन्य विषयमा भने छलफलको माध्यमबाट निर्णय लिने उनको भनाइ थियो। ‘यहाँ अढाई बर्ष अनुभव लिइसक्नु भएका अग्रजहरु हुनुहुन्छ, त्यो टिमको नेतृत्व लिन भर्खर आएको छु। पक्ष, प्रतिपक्ष भनेर नबुझिदिन आग्रह गर्न चाहन्छु,’ मेयर राईले भने, ‘मेरो सहयोगीको रुपमा उपप्रमुख, कार्यपालिका बोर्ड, प्रमुख प्रशासकीय अधिकृत हुनुहुनेछ। सिंगो टिमले मिलेर काम गर्ने हो, कर्मचारी साथीहरुलाई पनि बिना हिच्किचाहट इमान्दारीपूर्वक, सक्रियतापूर्वक काम गर्न आग्रह गर्न चाहन्छु।’

मेयर राईले उपमेयरले झन्डै डेढ वर्ष कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकाले सहयोगको अपेक्षा पनि व्यक्त गरे। कार्यानुभव, कार्यदक्षता र क्षमता अनुसार उपमेयरलाई जिम्मेवारी दिने पनि उनले बताए। ‘उहाँको भूमिकालाई नगरपालिकाले खुम्च्याउँने छैन। वडाअध्यक्ष साथीहरूलाई पनि हिजो जे अनुभव गर्नुभएको छ, त्यसलाई अझै परिष्कृत गरेर नगरबासीको हकहितमा लगाउन अनुरोध गर्छु,’मेयर राईले भने।

प्रकाशित: १९ मंसिर २०७६ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App