१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबलमा नेपाललाई इन्जुरी समयको दुर्भाग्य

काठमाडौं -  निर्धारित ९० मिनेटसम्म लिएको अग्रतालाई इन्जुरी समयमा कायम राख्न नसक्दा नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा बुधबार श्रीलंकासँग १–१ को बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ३६औं मिनेटमा अग्रता लिए पनि इन्जुरी समयमा भ्रमणकारी टोली श्रीलंकालाई रोक्न नसक्दा नेपाल अंक सुम्पिन बाध्य भएको हो। नेपाली टोलीका रक्षक अनन्त तामाङले हेड गर्ने क्रममा श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा खराब फाउल गरेपछि पाएको पेनाल्टीमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। बुधबारको गोलसँगै नेपालका सुजल जारी प्रतियोगितामा सर्वाधिक तीन गोल गर्ने खेलाडी बनेका छन्। यसअघि सुजलले भुटानविरुद्ध दुई गोल गरेका थिए।

खेलको ३६औं मिनेटमा अग्रता लिए पनि इन्जुरी समयमा भ्रमणकारी टोली श्रीलंकालाई रोक्न नसक्दा नेपाल अंक सुम्पिन बाध्य भएको हो।

पहिलो हाफमा पाहुना टोली श्रीलंकालाई दबाबमा राखेको नेपालले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन सकेन। पछि परेसँगै आक्रामक देखिएको श्रीलंकाले केही राम्रा अवसर सिर्जना गरे पनि नेपाली रक्षापंक्तिले निर्धारित ९० मिनेट विफल पारेको थियो। खेल अवधिभर श्रीलंकाका खेलाडीले अस्वाभाविक हाउभाउ देखाए पनि नेपाली खेलाडी संयमित देखिए। यद्यपि आक्रामक देखिएको श्रीलंकाले इन्जुरी समयमा कुशलतापूर्वक फ्रिकिकमार्फत गोल गर्दै अंक खोस्न सफल भयो।  श्रीलंकाका कप्तान मोहम्मद फजलले चलाखीपूर्ण तरिकाले उपलब्ध गराएको फ्रिकिक बललाई जुडे सुपनले आकर्षक शैलीमा जाली चुमाउँदा नेपाली टोलीको अग्रता बराबरीमा पुगेको थियो।

यसअघि पहिलो खेलमा श्रीलंकाले माल्दिभ्ससँग गोलरहित बराबरी खेल्दै १ अंकको खाता खोल्न सफल भएको थियो। यससँगै श्रीलंकाले सम्पन्न दुई खेलमध्ये दुबैमा बराबरी खेल्दै तालिकामा २ अंक जोडेको छ। यस्तै पहिलो खेलमा भुटानमाथि ४–० फराकिलो जित निकालेको नेपालको ४ अंक भएको छ।  पाँच राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको छ। नेपाल सर्वाधिक ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा घरेलु टोलीसँग अंक खोस्न सफल श्रीलंका २ अंकका साथ तालिकाको चौथो स्थानमा छ। समान दुई खेलबाट भुटान ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा सम्पन्न दुई खेलमध्ये दुबैमा बराबरी खेलेको माल्दिभ्स २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। यस्तै बंगलादेश १ अंकका साथ तालिकाको पुछारमा छ।

लगातारको खेलका कारण थकित भएका खेलाडीले अन्तिम समयमा बल रोक्न नसक्दा अंक बाँड्नुपरेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। ‘४० घण्टा र २४ घण्टाको आरामले खेलाडीलाई असर पार्छ। उनीहरूलाई आराम चाहिएको थियो। हामी थकित थियौं,’ प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘३÷४ गोलको अन्तरले जित्नुपर्ने भए पनि केटाहरूले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन्। पहिलो हाफको लयलाई दोस्रो हाफमा निरन्तरता दिन सकेनौं।’

उता लगातारका दुई खेलमा बराबरी खेल्दै तालिकामा २ अंक जोडेको श्रीलंकाका प्रशिक्षक पाकिरालीले घरेलु टोलीसँग अंक बाँड्ने रणनीति सफल भएको प्रतिक्रिया दिए। ‘नेपाल कठिन टोली हो। घरेलु मैदान भएकाले पनि उनीहरू बलिया छन्। दोस्रो हाफमा सुधारिएको खेल देखाउँदै मेरो टोलीले खेलमा पुनरागमन गर्न सफल भयो,’ प्रशिक्षक पाकिरालीले भने, ‘नेपाल घरेलु मैदान भएकाले जित चाहन्थ्यो भने हामी बराबरी चाहन्थ्यौं। यस कारण खेलमा खेलाडीको हाउभाउ अस्वाभाविक देखियो। आउँदो खेलमा जितको विकल्प छैन।’ प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा भुटानले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल श्रीलंका र बंगलादेशबीच हुनेछ।

आजको खेल
भुटानविरुद्ध माल्दिभ्स     दिनको १ः३० बजे
श्रीलंकाविरुद्ध बंगलादेश    साँझ ५ः३० बजे

पुरुष फुटबल तालिका
देश    खेल    जित    हार    बराबरी    अंक
नेपाल    २    १    ०    १    ४
भुटान    २    १    १    ०    ३
माल्दिभ्स    २    ०    ०    २    २
श्रीलंका    २    ०    ०    २    २
बंगलादेश    २    ०    १    १    १

प्रकाशित: १९ मंसिर २०७६ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App