७ वैशाख २०८१ शुक्रबार
खेल

इनिङ जितसँगै भारतलाई शृंखला

मुम्बई- रविचन्द्रन अश्विनले इङ्ल्यान्डको तल्लोक्रमका ब्याट्सम्यानलाई आधा घन्टाबीच पवेलियन फर्काएपछिसोमबार भारतले चौथो टेस्ट एक इनिङर ३६ रनले जित्दै पाँच खेलको शृंखला आफ्नो पक्षमा पारेको छ। अन्तिम खेल बाँकी रहँदा टोली शृंखलामा ३–० ले अगाडिछ।

६ विकेट क्षतिमा १ सय ८२ को अवस्थाबाट पाँचौं तथा अन्तिम दिन खेल्न थालेकोइङ्ल्यान्डलाई हार जोगाउन सोमबार केही चामत्कारिक प्रदर्शन आवश्यक थियो। तर अफ स्पिनर अश्विनले बाँकी ४ विकेट लिँदा इङ्ल्यान्ड १ सय ९५ रनमा अलआउट भयो। अश्विनले दोस्रो इनिङमा कुल५५ रन खर्चेर ६ विकेट लिएका थिए।

पहिलो इनिङमा २ सय ३५ रन बनाउँदै  भारतको विजय आधार खडा गरेका कप्तान विराट कोहोली म्यान अफ दी म्याच भए। यस जितसँगै भारतले टेस्ट विश्व वरीयतामा शीर्ष स्थान पक्का गर्‍यो। इङ्ल्यान्डका लागि यो नतिजाले लगातार दोस्रो टेस्ट शृंखलामा पराजय चखायो।

‘पछिल्लो १४–१५ महिनामा यो सम्भवत् हाम्रा लागि सबैभन्दा सुखद नतिजा हो। मेरो विचारमा हाम्रा लागि यो शृंखला जित स्मरणीय हुनेछ,’भारतीय कप्तान कोहलीले भने। गत वर्ष कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिक्रेटबाट संन्यासघोषणा गरेपछि कोहली पाँच दिने खेलमा नेतृत्वका लागि चयन भएका थिए।

भारतविरुद्धको टेस्ट शंृखलापछि इङ्ल्यान्डको कप्तान त्याग्ने संकेत गरेका एलिस्टर कुकले स्पिनरमैत्री मुम्बईको पिचमा दुई स्पिनर मात्र खेलाउनु गल्ती भएकोस्वीकारे।

‘थप एक स्पिनर खेलाउन सकिन्थ्यो। भारतलाई ४ सय रनमा रोक्ने अवसर पनि थियो तर हामीले त्यसको उपयोग गर्न सकेनौं,' कुकले भने।

अश्विनले अर्धशतक बनाएर इङ्ल्यान्डको इनिङ सम्हालिइरहेका जोनी बेरिस्टलाई एलबिडब्लु धरापमा पारेका थिए। भ्रमणकारी टोलीका तर्फबाट दोस्रो इनिङमा सर्वाधिक रन जोड्ने क्रममा बेरिस्टले ५१ रन बनाए। उनले १ सय ७ बल खेल्दै २ चौका प्रहार गरे। त्यसपछि ब्याटिङ गरेका क्रिस वोक्स खाता खोल्न नपाउँदै अश्विनको बलमा बोल्ड भए। २ रन बनाएका एडिल रसिद पनि अश्विनको बलमा लोकेश राहुलको हातबाट समातिए। रसिद आउट हुँदा इङ्ल्यान्ड १९३–९ को अवस्थामा पुग्यो। त्यसपछि जेम्स एन्डरसन अश्विनको अन्तिम सिकारका रूपमा पवेलियन फर्किंदा इङ्ल्यान्ड १ सय ९५ रनमा समेटियो। एन्डरसनले अश्विनको बलमा उमेश यादवलाई क्याच दिएका थिए।

यसअघि इङ्ल्यान्डले आफ्नो पहिलो इनिङमा ४ सय रन बनाएको थियो। भारतले भने पहिलो इनिङमा कप्तान कोहलीको सानदार दोहोरो शतकमद्दतमा ६ सय ३१ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। वर्षको तेस्रो दोहोरो शतक बनाएका कोहलीलेे २ सय ३५ रन जोडे। त्यस्तै ओपनर मुरली विजयले १ सय ३६ तथा जयन्त यादवले आफ्नो टेस्ट करिअरको पहिलो शतक बनाउने क्रममा १ सय ४ रनको योगदान गरेका थिए।

पहिलो इनिङमै२ सय ३१ रनले पछि परेको इङ्ल्यान्डले चौथो दिनको खेल समाप्त हुँदा ६ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो।

इङ्ल्यान्डका ब्याट्सम्यान भारतीय स्पिन आक्रमणसामु कमजोर बन्दा पहिलो इनिङमा शतक बनाएका ओपनर केनोट जेनिङ्स भुवनेश्वर कुमारको बलमा एलबिडब्लु धरापमा पर्दा खाता खोल्न पनि सफल भएनन्। कप्तान कुकले पनि १८ रनको मात्र जोड्न सके।

भ्रमणकारी टोलीलाई सानो स्कोरमा रोक्दै शंृखला कब्जा गर्ने क्रममा अश्विनले ६ विकेट लिँदा रवीन्द्र जडेजाले ६३ रन खर्चेर २ विकेट लिए। 

‘अश्विनको प्रदर्शन शब्दले बयान गर्न सकिन्न। साँच्चै यो खेलमा उनको योगदान अतुलनीय रह्यो,' कोहलीले भने,‘हामी आज जहाँ छौं, त्यसमा ५०–६० प्रतिशत योगदान उनको छ।'

कुकले कोहलीको ब्याटिङको प्रशंसा गर्दै भने, 'साँच्चै उनी हाम्रो समयका उत्कृष्ट ब्याट्सम्यान हुन्। उनले अगाडिबाट टिमलाई नेतृत्व गरे।'

कुक हाल टेस्ट क्रिकेटमा रहेका ब्याट्सम्यानमध्ये सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्।

पाँचौं तथा अन्तिम टेस्ट यसै साताको अन्त्यमा चेन्नईमा सुरु हुनेछ। जुन इङ्ल्यान्डका लागि प्रतिष्ठाको लडाइँका रुपमा मात्र सीमित हुनेछ।

प्रकाशित: २८ मंसिर २०७३ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App