coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'उपनिर्वाचनमा आचारसंहिता पालना भएन'

काठमाडौं- राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको बताएको छ। बुधबार उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो बताएको हो। आचारसंहिता उलंघन गर्ने दलहरुलाई कारवाही गर्नुको सट्टा निर्वाचन आयोग राजनीतिक दलहरुलाई सचेत गराउनमा मात्रै सिमिति रहेको समितिले बताएको छ। समितिका सदस्य कपिल शर्माले विगतको तुलनामा आचारसंहिता पालनामा केही राम्रो हुँदै गएको बताए। उनले लोकतन्त्रलाई लोकतन्त्र बनाउने भनेकै चुनाव भएकोले सबै सचेत, सतर्क र क्रियाशिल हुनुपर्ने बताए।

उनले निर्वाचनका समयमा आवश्यकता भन्दा बढी खर्च गर्ने प्रवृति देखिएको भन्दै यसको रोकथामका लागि राजनीतिक शक्ति सचेत हुनुपर्ने धारणा राखे। निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान अधिकृतहरुमा केही कमि कमजोरी देखिएको बताए। यादवले निर्वाचन कुन समय गर्ने भन्ने कुरा ऐन नियममै उल्लेख हुनुपर्ने सुझाव समेत दिए। उनले मतदान गरेकै ठाउँबाट मतगणना गर्दा ढुवानी वाफतको खर्च कटौती हुने उनले बताए।

समितिका महासचिव डा. गोपालकृष्ण सिवाकोटीले आचारसंहिता पालनाका सन्दर्भमा राजनीतिक दलहरु निगरानीमा हुँदा मात्रै अनुशासित हुने गरेको बताए। समितिले मतदाताहरुलाई प्रभावित पार्न धेरै ठाउँहरुमा समूहिक भोज र मदिरा समेत खुवाएको पाइएको बताएको छ। त्यस्तै उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा मतदाताहरुलाई ओसार पोसार गरेको पाइएको छ। समितिले निर्वाचन सुरक्षा प्रणालीमा सरोकारवालाको सहज पहुँच भएपनि सुरक्षाकर्मीहरुलाई पर्याप्त तालिम प्रदान नगरिएको जनाएको छ। त्यस्तै सुरक्षाकर्मीर्लाइ मतदान केन्दको व्यवस्थापनमा आयोग र सुरक्षा संयन्त्रको स्पष्ट निर्देशन हुन नसकेको समितिको ठहर छ।  समितिले मतदाता नामावलीलाई नियमित रुपमा अद्यावधिक गरिनुपर्ने, निर्वाचनको समयमा बाहेक नियमित रुपमा नागरिक शिक्षा दिनुपर्ने, आचार संहिताको पालना गराउन दण्ड प्रणालीर्लाइ प्रभावकारी बनाउनुपर्ने तथा खर्चको पारदर्शिता र शुद्धता कायम हुनुपर्ने सुझाव दिएको छ। १ प्रतिनिधिसभा, ३ प्रदेशसभा र ४८ स्थानीय तहमा गरि ५२ रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन भएको थियो।

प्रकाशित: १८ मंसिर २०७६ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App