४ वैशाख २०८१ मंगलबार
अर्थ

भैँसी, टर्की र मौरीपालन एकै थलोमा

कनकासुन्दरी लुड्कुमा गरिएका पशुपंक्षीपालन। तस्बिरःधनबहादुर/नागरिक

जुम्ला- जुम्ला सिँजा कनकासुन्दरी गाउँपालिका ५ लुड्कुका लोक प्रसाद उपाध्याय भैँसी पालनमा निकै ब्यस्त छन्। उनी बिहान बेलुकी भैँसीको रेखदेख र दानापानी संकलनमा लाग्ने गर्छन्। भैँसी पालनमा लागेपछि कालापहाड जानु नपरेको बताउँछन्  उनी। उनले भने,‘ गाउँमै बसेर भैँसी पालन गरेर दुध बेच्न पाउँदा निकै उत्साहित छु।’

नागरिक अर्गानिक कृषि सहकारीले सामूहिक रुपमा भैँसी खरिद गरेर पालन गर्न थालेपछि स्थानीयले रोजगारीको अनुभूति गरेका हुन्। अहिले भैँसीपालन, टर्की पालन र मौरीपालन एकै थलोमा गरिरहेका छन्। सहकारीमा आबद्ध २१ जनाले थालेको यो व्यवसायीक पशुपंक्षी पालन निकै लोकप्रिय बनेको छ।

सहकारीका अध्यक्ष दिपेन्द्र उपाध्याय व्यवसायिक रुपमा थालिएको पशुपंक्षी पालन निकै राम्रो हुदै गएको बताउँछन्। सबैले अपनत्वको रुपमा लिदैछन्। कसैले दाना, घाँस, कसैले पानी, कसैले उत्पादित दुध, मासु बेच्ने कार्य गर्दा निकै सहज भइरहेको छ। अहिले दस वटा भैँसी छन्। ७० वटा टर्की पालिएका छन्। टर्की मासुका हिसावले निकै राम्रो चरा हो। दुई सय वटा खरिद गरेकोमा ७० मात्र बाँकी छन्।  

कर्णाली प्रदेश सरकारले प्रांगारिक नमुना गाउँ कार्यक्रम सञ्चालन गरेपछि यो सहकारीले व्यवसायिक रुपमा अघि बढ्न सकेको हो। कर्णाली सरकारको ३२ लाख ९९ हजार रुपैयाँ लगानी छ। स्थानीयले गरेको लगानी जोड्दा झण्डै ६५ लाख रुपैयाँमा पशुपंक्षी पालन थालिएको हो। गत जेठ महिना देखि सुरु भएको यो कामले किसानलाई निकै सन्तुष्ट बनाएको एक अर्का किसान बसन्त कुमार उपाध्याय बताउँछन्।

यो काम आम्दानीको लागि निकै राम्रो स्रोत हो। अहिले २४ लिटर दुध दैनिक उत्पादन हुन्छ। प्रति माना ५० रुपैयाँमा बिक्रि भइरहेको छ। अहिलेको उत्पादित दुधले यहाँको माग पुरा गर्न नसकेको सहकारीले बताएको छ। बर्षायाममा एउटै भैँसीले ५ मानासम्म दुध दिन्थे। अहिले तीन मानासम्म मात्र दिन्छन्। दाना पानी सुख्खा हुने भएकोले अपेक्षाकृत दुध उत्पादन हुन सकेको छैन। दहि प्रति माना ६० रुपैयाँ र घ्यु ५ सय रुपैयाँ मानो बिक्री भइरहेको किसान बताउँछन्।

४ हजार ५ सय बर्गमिटर जमिन लिजमा लिएर यो व्यवसाय थालेको किसान बनाउँछन्। टर्की, मौरी पालनले झन सोभायमान बनाइरहेको छ। तरकारी, प्रांगारिक मल खाडल समेत बनेकोले प्रांगारिक मल उत्पादन गरेर बेच्न सकिने संभावना बढ्दो छ। रारा जाने मुलवाटोमै यो पशुपंक्षी फारम भएकोले आन्तरिक तथा बाह्य पर्यटक हेर्नकै लागि पुग्छन्। त्यहाँ पुगेका पर्यटकले दुध, दहि सहजै रुपमा खान पाउँछन्।

यहाँको दुधको माग पुर्ति गर्न सकेको छैन्। यहाँ उत्पादित दुध सबै खपत भइरहेको छ। तीन जनालाई रोजागारी दिइरहेको छ। कर्णाली प्रदेश क्षेत्र (ख) को एक मात्र व्यवसायिक पशु पंक्षीपालन भएकोले सबैको नजर पुग्न थालेको छ। भैँसी, टर्की र मौरी पालन सम्बन्धीको ज्ञान लिन र दिन किसान र कृषि प्राविधिक आउजाउ गर्छन्।

आगामी दिनमा फारमलाई अझै फराकिलो र व्यवस्थित बनाउदै लग्ने सहकारीले योजना बनाएको छ। अहिले खेती किसानी प्रतिको दृष्टिकोण बदलिएको छ। बाहिरबाट आयातीत खाद्यान्नले यहाँको रैथाने खाद्यान्न संकटमा छ। अध्यक्ष दिपेन्द्र उपाध्यायले भने,‘पशुपंक्षी पालन गरेर यहाँको रैथाने खेतीको संरक्षण गर्न चाहान्छौँ।’

सिँजा क्षेत्रको नमुना र हेर्न लायक पशुपंक्षीपालन भएको छ। आम्दानी बढ्दै जादा पशुपंक्षीको संख्या बढाउन पहल भइरहेको छ।

 

 

प्रकाशित: १८ मंसिर २०७६ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App