८ वैशाख २०८१ शनिबार
समाज

ढुंगाखानीले बस्ती धरापमा

ललितपुर- ढुंगाखानीले बस्ती नै जोखिममा परेपछि ललितपुर देवीचौर गाविसको माथिल्लो बुरुन्चुलीवासी त्रसित बनेका छन्। स्थानीयले विरोध गर्दागर्दै ललितपुर जिल्ला विकास समितिका केही कर्मचारी र खानी सञ्चालकले बस्ती रहेको पहाड उधिनेर ढुंगा निकाल्न थालेपछि स्थानीय त्रसित भएका हुन्।

'१० वर्षअघि पनि यसरी नै खानी सञ्चालन गरेका थिए, त्यसबेला हामीले विरोध गरेपछि खानी बन्द गरिएको थियो। अहिले फेरि केही व्यक्तिको मिलेमतोमा खानी सञ्चालन गरिएको छ,' देवीचौरका सागर तामाङले भने, 'खानी बस्ती बसेको पहाडमुनि छ। ढुंगा निकाल्दा गाउँका ६० घरधुरी उच्च जोखिममा छन्।'

यसरी बस्ती नै जोखिममा पारेर खानीले ढंुगा निकाल्दा पनि जिल्ला प्रशासन कार्यालय ललितपुरले कुनै चासो दिएको छैन। ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जिल्ला प्रशासनसँग खानी सञ्चालन गर्न स्वीकृति लिएको जानकारी दिए। उनले भने, 'हामीले अनुगमन टोली बनाएका छौं, तर बस्ती नै जोखिममा परेको पाइएका खानी तत्काल बन्द गराउँछौं।'

ललितपुर जिविस खानी शाखा प्रमुख दिलिप डंगोलले स्थानीयको विरोध आएपछि ४ दिन अघि खानी बन्द गरिएको दाबी गरे। उनले भने, 'बस्ती नै जोखिममा परेपछि देवीचौरका स्थानीय खानी सञ्चालनको विरोधमा जिविस आएकाले खानी सञ्चालक विनायक एग्रिगेट कम्पनीलाई तत्काल खानी बन्द गर्न आदेश दिएको छौं।' उनले जिविस मध्यस्थकर्ता रहेर काम गरेको र खानी शाखाका कर्मचारीले अनुगमन गरी प्रतिवेदन तयार पारेको जानकारी दिए।

खानी सञ्चालनले बस्तीमात्र होइन ललितपुरको भैंसेपाटी, वुङमती, एकान्तकुनालगायत स्थानमा आपूर्ति हुने खानेपानीको पाइपलाइन समेत जोखिममा छ। खानी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र खानी तथा भूगर्भ विभागले पनि स्वीकृति दिएको छ। तर बस्ती नै जोखिममा पार्ने गरी दिइएको स्वीकृतिमा जिल्ला प्रशासन कार्यालय, जिविस र खानी विभागका कर्मचारीको पनि मिलेमतो रहेको आशंका स्थानीयले गरेका छन्। ललितपुरका स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले स्थानीयको बास नै जोखिममा पर्ने गरी खानी सञ्चालित भए तुरुन्तै खारेज गरिने बताए।

विनायक ऐग्रिगेट कम्पनीका सञ्चालक कमल भण्डारीलेे आफूले खानी विभाग र जिल्ला प्रशासनसँग स्वीकृति लिएर अध्ययनपछि मात्र खानी सञ्चालन गरेको दाबी गरे। तर अध्ययन गरेर सञ्चालन गरेको भने पनि खानीभन्दा डेढ सय मिटरमात्र माथि रहेको बुरुन्चुली बस्ती जोखिममा पर्ने देखिन्छ।

जिविसका लेखाशाखा र खानी शाखासहित जिल्ला प्रशासन, खानी तथा भूगर्भ विभागका ७ जना कर्मचारीको मिलेमतोमा खानी सञ्चालन स्वीकृति दिइएको दाबी जिविस स्रोतले गर्‍यो। असोजमा सञ्चालित खानीबाट ३ सय ट्रकभन्दा बढी ढुंगा बिक्री भइसकेको स्थानीय रमेश तामाङले जानकारी दिए। उनले भने, 'गाउँ नै जोखिममा पर्न थालेपछि हामीले विरोध गर्‍यौं तर जिविस र खानी सञ्चालकले बेवास्ता गरिरहेका छन्।' उनले खानी सञ्चालकले दसैंभन्दा अघि बस्तीका केही व्यक्तिलाई रकम बाँडेर उनीहरूको आडमा खानी सञ्चालन गरेको दाबी गरे।

खानी सञ्चालकले देवीचौर हुँदै वहने खोलाबाट समेत ढुंगा निकाल्दा खोलो गहिरिएको स्थानीयले बताए। 'यसरी बस्ती र खानेपानीको मुहान नै जोखिममा पारेर ढुंगाखानी बनाउन पाइँदैन,' देवीचौर बुरुन्चुलीका स्थानीय धिरज लामाले भने, 'बस्तीमुनि ढुंगा निकाल्दा हाम्रो उठिबास हुन्छ।'

यसबारे खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनालले ढुंगाखानीको सन्दर्भमा विभागले प्राविधिक पक्ष मात्र हेर्ने बताए। उनले भने, 'खानी सञ्चालन अनुमतिपत्र र अनुगमन जिविसको खानी शाखाले नै हेर्छ, हामी प्राविधिक पक्ष मात्र हेर्छौं।' उनले ढुंगाखानीले बस्ती नै जोखिममा परेको भए विभागबाट अनुगमन टोली पठाएर खानी बन्द गर्न लगाइने जनाए।

प्रकाशित: २८ मंसिर २०७३ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App