७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्वाङ्जाओ उडान सुरु गर्ने तयारीमा वायुसेवा निगम

काठमाडौं– रााष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्जाओ उडान भर्ने भएको छ । लामो समयदेखि नयाँ गन्तव्यमा उड्न नसकेको निगमले उक्त गन्तव्यमा व्यावसायिक उडान भर्ने तयारी गरेको हो ।

आगामी जनवरी अन्तिमदेखि ग्वाङ्जाओ उडान भर्न चिनियाँ सिभिल एभिएसनले निगमलाई स्वीकृति दिइसकेको जनाइएको छ ।निगमले ग्वाङजाओमा सातामा तीन दिन उडान भर्नेछ ।     

हालसम्म चिनियाँ एभिएसनले राख्दै आएको सुरक्षासम्बन्धी चासोमा निगमले चित्त बुझ्दो जवाफ दिएपछि उक्त गन्तव्यको यात्रा निश्चित भएको निगम स्रोतले जानकारी गराएको छ ।

‘चिनियाँ सिभिल एभिएसनले आधिकारिक पत्र नपठाएपनि मौखिक रुपमा फोनमार्फत ग्रिन सिग्नल दिएको छ,’ स्रोतले भन्यो । चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्षबारे प्रश्न उठाएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसलाई गरेको सम्बोधनसँगै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएको थियो । त्यसपछि निगमले ग्वाङ्जाओ उडानका लागि ‘स्लट’ पाएको हो ।

यसअघि चिनियाँ पक्षले निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने बताएको थियो । सेफ्टी अडिटकैलागि चिनियाँ प्राविधिक टोली दसैं–तिहारको बीचमा नेपालको भ्रमणमा आउने चर्चाका भएपनि चीनमा सम्पन्न हवाई सम्झौताको समयमा चीनको उड्डयन विभाग र नेपाली अधिकारीबीच भएको छलफलमा आवश्यक कागजात आदान–प्रदानमार्फत उडान सुचारु गर्ने सम्झौता भएको स्रोतले बताएको छ ।

निगमको कार्यकारी समितिले चाँडै उक्त गन्तव्यमाउडानबारे निर्णय गर्ने स्रोतको दाबी छ । हाल सञ्चालक समिति र आर्थिक विभागबिच समन्वय भइरहेको र एक हप्ताभित्रै उडानसम्बन्धी सूचना सार्वजनिक गर्ने गरी छलफल सुरु भएको जनाएको छ ।

हाल हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ तथा हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान भरिराखेको छ ।योसँगै निगमले जापानको नारिता उडानको लागिसमेत अनुमति पाएको जनाइएको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले ग्राउन्ड ह्यान्डलिङ, इन्धन र स्लट सेवाको सहमति गरेको छ ।

निगमले अहिले जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) अन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरिएको जनाएको छ ।निगमलेनारितामा साताको तीन दिन उडान भर्नेछ ।

प्रकाशित: १८ मंसिर २०७६ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App