८ वैशाख २०८१ शनिबार
अर्थ

बढेको नेप्सेलाई कारोबार रकमको साथ

काठमाडौं- साताको दुई दिन स्थिर प्रायः रहेको सेयर बजार मंगलबार भने गतिशील देखिएको छ । यस दिन नेप्से ३.७५ विन्दु बढेर १११५.७४ मा पुगेको छ । नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ । ०.३४ प्रतिशतले बढेर बन्द भएको बजारमा उतारचढाव पनि उल्लेखनीय रह्यो । यस दिन ११११.९९ विन्दुमा खुलेको बजारले १११७.८२ को उच्च विन्दु र ११११.१९ को न्यून विन्दु बनाएको छ । विक्रेता सुस्ताएको मौका पारी क्रेता सक्रिय बन्दा नेप्सेमा वृद्धि देखिएको हो । दैनिक चार्टमा यस दिन बनेको ठूलो शरीर भएको हरियो महिनबत्तीले पनि बजारमा क्रेता सक्रिय भएको देखाएको छ ।

दैनिक चार्टमा यस दिन बनेको ठूलो शरीर भएको हरियो महिनबत्तीले बजारमा क्रेता सक्रिय भएको देखाएको छ ।

नेप्सेसँगै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशत (०.६३ विन्दु) ले वृद्धि भएको छ । यस दिन कारोबार भएका १२ वटा समूहमध्ये चारवटाबाहेक सबैको सूचक हरियो बनेको छ । सबैभन्दा बढी उकालो लाग्नेमा जीवन बिमा समूह देखिएको छ । यो समूह १.२७ प्रतिशतले उकालो लागेको छ । विन्दुगत आधारमा हेर्दा पनि यही समूह अगाडि देखिएको छ । यो समूह ६३.७९ विन्दुले विस्तार भएको छ । यस समूहमा सूचीकृत नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्य बढ्दा सिंगो समूहकै सूचक माथि लागेको हो । जीवन बिमा समूहमा नेपाल लाइफ इन्सुरेन्स सबैभन्दा बढी बजार पुँजीकरण भएको कम्पनी हो ।

यस दिन उत्पादनमूलक समूह र निर्जीवन बिमा समूह पनि क्रमशः २२.८९ र १९.६४ अंकले उकालो लागेका छन् । यस्तै लघुवित्त १४.६४, होटल्स ६.९४, जलविद्युत् ६.०५, बैंकिङ २.२९ र म्युचुअल फन्डको सूचक ०.०८ विन्दुले माथि उक्लेका छन् ।

बढ्दो बजारमा पनि यस दिन व्यापार समूहको सूचक १७.९५ विन्दु (३.९८ प्रतिशत) ले खस्किएको छ । यस्तै अन्य समूह २.७५, वित्त समूह १.२६ र विकास बैंक समूह ०.०२ विन्दुले खुम्चिएका छन् ।

पन्ध्र प्रतिशतले बढ्यो कारोबार रकम
झन्डै चार अंकले हरियो बनेको नेप्सेलाई कारोबार रकमले पनि साथ दिएको छ । यस दिन २६ करोड ६८ लाख एक हजार पाँच सय ५८ रुपैयाँको सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको तुलनामा १४.९ प्रतिशतले बढी हो । सोमबार २३ करोड २२ लाख ५९ हजार तीन सय ३१ रुपैयाँको कारोबार भएको थियो । कारोबार रकम यो साताको सुरुदेखि नै क्रमशः बढेको छ । आइतबार २० करोड ६३ लाख १४ हजार तीन सय २३ रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

सोमबारको तुलनामा कारोबार संख्या, किनबेच भएको सेयर र कम्पनीको संख्या पनि वृद्धि भएको छ । सोमबार चार हजार एक सय १३ कारोबारबाट एक सय ६४ कम्पनीका आठ लाख २६ हजार तीन सय ६८ कित्ता सेयर खरिदबिक्री भएकोमा मंगलबार चार हजार तीन सय २६ कारोबारबाट एक सय ७२ कम्पनीका १० लाख १० हजार नौ सय ९१ कित्ता सेयर किनबेच भएका छन् ।

पाँच कम्पनीको करोडमाथिको कारोबार
कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंकको प्रमोटर सेयर पहिलो स्थानमा परेको छ । यो सेयर दुई करोड ६० लाख ९५ हजार पाँच सय ५० रुपैयाँको किनबेच भएको छ । कारोबार रकमका आधारमा एनएमबी बैंक, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक र जनउत्थान सामुदायिक लघुवित्त क्रमशः दोस्रोदेखि पाँचौं स्थानसम्म रहेका छन् । यी पाँचवटै कम्पनीको करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै नबिल बैंंक, हिमालयन डिस्टिलरी, ग्लोबल आइएमई लघुवित्त, सेन्चुरी कमर्सियल बैंक र एनआइसी एसिया प्रमोटर सेयर पनि उच्च कारोबार रकम हुने १० कम्पनीभित्र परेका छन् ।

किनबेच भएको सेयर कित्ताका आधारमा पनि सिद्धार्थ बैंकको प्रमोटर सेयर र एनएमबी बैंक नै क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । कारोबार संख्याका आधारमा भने रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने एनएमबी बैंक तेस्रो स्थानमा देखिएको छ ।

घोडाघोडी लघुवित्तको मूल्यमा सर्किट
यस दिन कारोबार भएका एक सय ७२ कम्पनीमध्ये एक सय ६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटाले गुमाएका छन् । यस दिनको एडी रेसियो २.९ छ । यसले मंगलबार बजार बुलिस अवस्थामा रहेको संकेत गरेको छ । सबैभन्दा बढी मूल्य बढ्नेमा घोडाघोडी लघुवित्त छ । यसको सेयर भाउ १० प्रतिशत बढेपछि सर्किट लागेको छ । यस्तै दिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि आठ प्रतिशतले बढेको छ । बढ्दो बजारमा पनि यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता सबैभन्दा बढी गुमाउनेमा परेका छन् । यस कम्पनीको सेयर भाउ ५.४ प्रतिशतले ओरालो लागेको छ ।
 

प्रकाशित: १८ मंसिर २०७६ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App