८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

म्याक्रोंको प्रतिक्रिया ‘अशिष्ट’ : ट्रम्प

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों (बायाँ) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन, (बिबिसी) – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे दिएको प्रतिक्रिया ‘अशिष्ट’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्।

फ्रान्सेली राष्ट्रपति म्याक्रोंले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ‘मृतप्राय’ रहेको भन्दै प्रतिक्रिया दिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो आरोप बाहिरिएको हो।

पश्चिमी सैन्य गठबन्धको ७० औं वार्षिकोत्सव मनाउनका लागि आयोजित शिखर सम्मेलनमा सहभागी हुन हाल लन्डनमा रहेका ट्रम्पले नेटोले महान् उद्देश्य पूरा गरेको र फ्रान्सेली राष्ट्रपति म्याक्राेंको नेटोप्रतिको दृष्टिकोण ‘अत्यन्तै अपमानजनक रहेको’ जिकिर गरेका छन्।

आफूले चाँडै नै फ्रान्सले नेटो छोड्न लागेको भेउ पाएको राष्ट्रपति ट्रम्पले बताए। यद्यपि उनले कारण भने नबताएको बिबिसीले उल्लेख गरेको छ।

तत्कालीन सोभियत संघको प्रभाव विस्तार रोक्नका लागि द्धितीय विश्वयुद्धपछि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) स्थापना भएको थियो। हाल नेटोमा २९ सदस्य राष्ट्र संगठित छन् र एउटा सदस्य राष्ट्रमा कुनै पनि प्रकारको आक्रमण भए अन्य राष्ट्रले सहयोग गर्ने प्रतिबद्धता एकले अर्को राष्ट्रसँग गरेका छन्।

फ्रान्स पनि नेटोको एउटा सशक्त सदस्य राष्ट्र भए पनि गत महिना राष्ट्रपति म्याक्रोंले प्रमुख विषयमा यसका सदस्य राष्ट्रले एक अर्कासँग मिलेर काम नगरेको आरोप लगाएका थिए। उनले त्यसबेला नेटो ‘मृतप्राय’ रहेको बताएका थिए। उनले नेटोको प्रमुख ग्यारेन्टर संयुक्त राज्य अमेरिकाले गरेको प्रतिबद्धताबाट ऊ पछि हटिरहेको प्रसंग जोड्दै त्यस्तो दाबी गरेका थिए।

फ्रान्सेली सामानमा करवृद्धि गर्दै अमेरिका
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले करिब दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरका फ्रान्सेली सामानमा शत प्रतिशत करवृद्धि गर्ने योजना अघि सारेको छ।

अमेरिकी कम्पनी गुगल, एप्पल, फेसबुक र अमेजनमाथि डिजिटल करका रूपमा फ्रान्समा अत्यधिक करको भार थोपरिएको अनुसन्धानबाट खुलेपछि अमेरिकी प्रशासनले प्रतिशोधस्वरुप करवृद्धिको योजना बनाएको बताइएको छ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले जारी गरेको पछिल्लो वक्तव्यमा फ्रान्सले लगाएको डिजिटल करका विरुद्ध कठोर कदम चाल्न अमेरिका बाध्य हुने उल्लेख छ।

उनले अमेरिकी कम्पनीमाथि लक्षित गरी विभेदपूर्ण रूपमा कर लगाइएको वा निरुत्साहित गर्न खोजिएको अनुसन्धानबाट थाहा भएको बताएका छन्।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले गत जुलाईमा फ्रान्सेली करसम्बन्धी व्यवस्थाका बारेमा अनुसन्धान गर्ने जनाएको थियो। यो अनुसन्धान अमेरिकी व्यापार कानुन १९७४ को खण्ड ३०१ बमोजिम गरिएको थियो। अमेरिकाले चिनियाँ सामानमाथि करवृद्धि गर्ने प्रस्ताव पनि यही कानुनबमोजिम गरेको थियो।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले फ्रान्सेली कर विवाद टुङ्ग्याउन अमेरिका र फ्रान्सबीच मध्यस्थ वार्ता गर्न दिएको ९० दिनको समयावधि पनि समाप्त भएको जनाएको छ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोले गत जुलाईमा डिजिटल सेवा प्रदायक कम्पनीमाथि तीन प्रतिशत कर लगाउने एउटा कानुनमा हस्ताक्षर गरेका थिए। उक्त कानुनले आफ्नो व्यवसायमा असर पर्ने भन्दै अमेरिकी प्रविधि कम्पनी गुगल, फेसबुक र अमेजनले विरोध गरेका थिए।
अमेरिकी करवृद्धि योजनामा फ्रान्सेली वाइन, चिज, मेकअप र ह्यान्डब्यागसमेतका सामग्री समेटिएका छन्।

प्रकाशित: १८ मंसिर २०७६ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App