७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

लिबियामा बालबालिका हत्याको युनिसेफद्वारा निन्दा

त्रिपोली (एजेन्सी) – संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ।

लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही दिनमा भएको हवाई हमलाका क्रममा ती बालबालिकाको हत्या भएको थियो।

बालबालिका मारिएको यस घटनाको विश्वका अरु देशले पनि निन्दा गरेका छन्। युनिसेफद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा सो घटनाको निन्दा गर्दै उक्त समाचारले अत्यन्तै दुःख लागेको बताइएको छ।

हवाई कारबाहीका क्रममा निर्दाेष बालबालिकाको ज्यान जानु अत्यन्तै दुःखद् घटना हो भन्दै यसबाट घाइते भएकाको उपचारका लागि सरकारले उचित प्रबन्ध गरोस् भन्दै विज्ञप्तिमा माग गरिएको छ।

युनिसेफले लिबियामा हिंसा मच्चाइरहेका विद्रोहीलाई युद्धका क्रममा यसरी बालबालिकालाई तारो नबनाउन र युद्धका क्रममा पनि मानवीयतासम्बन्धी सहयोगको विषयमा हेक्का राख्न आग्रहसमेत गरेको छ।

युद्धमा बालबालिका कुनै पनि किसिमले प्रभावित नहोउन् भनेर पनि युनिसेफले विशेष आग्रह गरेको विज्ञप्तिमा भनिएको छ।

लिबियामा अहिले संयुक्त राष्ट्रसंघको सहयोगमा बनेको सरकार छ। उक्त सरकारका सेनाले गएको आइतबार विद्रोहीले गरेको आक्रमणका क्रममा १४ जना बालबालिका र दुई महिलाको ज्यान गएको जानकारी दिएको थियो। सो आक्रमणमा परी अरु पनि कैयौं नागरिक घाइते भएको बताइएको छ। त्यहाँ विद्रोेहीले हरेक दिनजसो आक्रमण गर्ने गरेका छन् जसका कारण कैयौं नागरिकको ज्यान जाने गरेको छ। पछिल्लो आठ महिनामा लिबियामा हिंसाका घटना बढेका छन्। यसका कारण हजारौं नागरिकको ज्यान गएको छ। राष्ट्र संघको सहयोगमा सरकार बनेको भए पनि लिबियामा विद्रोहीले हिंसा त्यागेका छैनन्। लिबियाको हिंसामा परी एक लाख २० हजारभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।

यसरी विस्थापित हुने कतिपय स्वदेश मै शरणार्थीका रूपमा बसिरहेका छन् भने कतिपयले भने देशै छोडेर भागेका छन्। लिबियाका विद्रोहीलाई हिंसा त्यागेर शान्तिपूर्णसमाधान खोज्नका लागि संयुक्त राष्ट्र संघ र अमेरिकाले पनि बारम्बार आग्रह गर्दै आएको भए पनि उनीहरु तयार भएका छैनन्। संयुक्त राष्ट्र संघले समयसमयमा अघि सारेका शान्तिपूर्ण वार्ताका प्रयास पनि सफल हुन सकेका छैनन्।

प्रकाशित: १८ मंसिर २०७६ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App