coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपालका ६९ जिल्लाका विरामी म्याग्दीको तातोपानीमा

परिवारले बोकेर ल्याएका सोनु सिर्पाली लौरो टेकेर कुण्डमा। कुण्डभित्र स्नान गदै विरामी। तस्बिर:हरिकृष्ण/नागरिक

म्याग्दी- धवलागिरी गाउँपालिका–५, मल्कवाङका सोनु सिर्पाली पैदल यात्राको क्रममा बाटोमा लडेर घाइते भए। सडकमा बज्रिएपछि सिर्पालीको हात, खुट्टामा समस्या देखियो। शरीर नचल्ने अवस्थामामा पुगेपछि विभिन्न अस्पतालमा उपचार गरी फर्किएका सिर्पालीको हातखुट्टा सुन्निन थालेपछि श्रीमती दिलु सिर्पालीको साहरामा बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आए। एउटा हातमा बैसाखी र अर्को हातमा श्रीमतीको साहराले कुण्डमा आएका सिर्पालीले पाँचदिन स्नान गरेपछि अहिले आफ्नै खुट्टाले विस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र पुग्छन्।

सिर्पालीजस्तै सडक दुर्घटनामा परेका केही विरामीले कुण्डमा आफन्तको सहयोगमा आएर दुई हप्तासम्म लगातार डुबेर निको भएपछि उत्साहित हुदै फर्किएका छन्। बर्दिया जिल्लाकी सामाजिक कार्यकर्ता रवीकला गिरीले तातोपानीमा डुबेपछि रोग निको हुने सुनेर एक समूहलाई लिएर आएकी छन्। छाला पट्पटी फुटेर घाउ शरीरभरि फैलिएको, शरीरमा सेतो दुबी दाग र पायल्स रोगबाट ग्रसित भएका विरामीको रोजाईमा समेत कुण्ड परेको छ।

ठूला तथा महङ्गो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएपछि आजित भएर कुण्डमा आउने विरामीको संख्या ह्वात्तै बढेको छ।‘कुण्डमा डुबेरै निको भएको छु,‘हिड्नै नसक्ने अवस्थामा आएर अहिले आफै हिडेर घर जान सक्ने भएको छु’ मल्कवाङका सिर्पालीले भने। उनले अस्पतालमा उपचार गरेपछि औषधि बाहेक कुण्डमा डुबेर छिट्टै निको भएको बताए। उनले कुण्डमा स्नान गरेपछि आफुले नयाँ जीवन पाएको अनुभुती भएको सुनाए।

उनीजस्तै बर्दियाकी इन्द्रदेवी कुँवरले म्याग्दीको तातोपानीको बर्दियामा ब्यापक चर्चा रहेको बताइन्। उनले पुरुषको तुलनामा धेरै रोग महिलामा देखिने भएकाले तातोपानी कुण्ड रोग पखाल्ने ठाउँ भएको बताइन्। ‘उपचारको नाममा अस्पतालमा धेरै खर्च गरेका बर्दियाका महिलाले म्याग्दीको तातोपानी कुण्डलाई रोज्ने अवस्थामा पुगेका छन्, ‘पहिलोपटक मैले पनि स्नान गरेपछि धेरै सहज भएको छ’ कुँवरले भनिन्। उनले चिकित्सा पद्धतीलाई पनि विश्वास गर्ने बताउँदै आफन्त र सहयोगी लिएर कुण्डमा आएका विरामीहरू फर्कने बेलामा उत्साहित भएर फर्कने गरेको प्रत्यक्ष देखेको बताइन्।

पुरुष र महिलालाई फरक–फरक समय तालिका रहेको कुण्डमा गम्भीर दुर्घटनामा परेर अस्पतालमा बसेका बिरामी चिकित्सकले डिस्र्चाज गरेपछि एक महिनासम्म स्नान गर्ने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए। ‘रुदै कुण्डमा आएका बिरामी नाच्दै फर्किन्छन्, ‘उनीहरूले प्रचारप्रसार गरेर कुण्डमा विरामीको चाप बढेको छ’ शाक्यले भने। उनका अनुसार कुण्डमा रोग निको भएको विश्वासले विरामीले दान समेत गर्ने गरेका छन्।

विदेशका ठूला तथा महङ्गो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएपछि आजित भएर आउने विदेशीमा भारतको सिक्किमसहितका राज्यबाट ३४ जना, बंगलादेश २, जापान २, स्पेनबाट १ जनासहित सार्कका विभिन्न राष्ट्रबाट हप्ता दिनसम्म स्नान गरेका छन्। पर्याप्त पूर्वाधारको बिस्तार, खान तथा बस्नका लागि सुविधायुक्त होटल तथा होमस्टेको व्यवस्था, बिरामीको सुरक्षा, कुण्डको प्रचारप्रसार जस्ता कारण ठूला अस्पतालमा उपचारबाट समेत निको नभएपछि अन्तिम विकल्पको रुपमा तातोपानीमा आउने गरेका विरामीहरुमा सबैभन्दा धेरै बागलुङ जिल्लाबाट ६ हजार २ सय १४ जना रहेका छन्।

यसैगरी म्याग्दी जिल्लाका ४ हजार ९२८, कास्कीका १६ सय ९७, पर्वत १२ सय ६१, रुपन्देही ७ सय ७६, काठमाण्डौ र भक्तपुर ९८२, मुस्ताङ ४२१, नवलपरासी पूर्व–पश्चिम ३७७, चितवन ४२६, तनहुँ १९१, गुल्मी १२३, नुवाकोट ६९, स्याङ्जा ६०, गोर्खा २७, प्युठान २८ र मनाङबाट ११ जना विरामीहरु आएका छन्। कुण्डमा स्नान गर्नेमा ११ हजार ५ सय ७१ जना महिला र ६ हजार ६ सय ९६ जना पुरुष रहेका छन्। पछिल्लो समयमा जुम्ला, जाजरकोट, पर्सा, सिराह, सर्लाही, रौतहट, महोत्तरीबाट समेत विरामीहरु आउन थालेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए। उनका अनुसार एकदिने अवलोकनमा करिब २० हजारको हाराहारीमा विरामीहरु आउने गरेको बताए।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने बिरेनुन स्वादको तातोपानी आउने गरेको छ। जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातातोपानीले नेपालभरीका विभिन्न रोगका विरामीलाई आकर्षित गरेको छ। गन्धक आफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नानगर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएपनि गर्मी मौसममा माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ।

कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या भएका विरामीको चाप धेरै छ।
 

प्रकाशित: १७ मंसिर २०७६ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App