coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उजुरी पर्दैमा भ्रष्टाचार भएको मान्नु हुँदैन:मुख्यमन्त्री पोखरेल

अन्तरक्रिया कार्यक्रममा सहभागी।

रुपन्देही- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अख्तियारमा उजुरी पर्नासाथ भ्रष्टाचार भएको मान्न नहुने बताएका छन्। उनले अख्तियारमा उजुरी पर्ने बित्तिकै बर्बाद भयो भन्ने मानसिकता विकसीत हुँदै गएकाले असल काम गर्दा अख्तियारले संरक्षण गर्छ भन्ने सन्देश पनि दिनुपर्ने बताए।

मंगलबार बुटवलमा भएको भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले उजुरीलाई मात्रै भ्रष्टाचारको मापन बनाउन नहुने बताए।

उजुरी संख्या धेरै भएपनि त्यसको मुद्धा र कारवाहीको संख्याले कमजोरी थाहा हुने भएकाले अख्तियारले पनि आफ्नो रिर्पोटिङमा सुधार गर्नुपर्ने मुख्यमन्त्रीको सुझाव छ। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग प्रदेश सरकार समन्वय र सहकार्य गर्दै प्रदेशलाई सुशासनयुक्त बनाउन तयार रहेको बताए। तर, अख्तियार तर्साउने कार्यालय मात्रै होईन भन्ने सन्देश दिने गरि काम गर्नुपर्ने बताए।

अख्तियारमा राजनितिक प्रतिशोध, सामाजिक द्धन्द्ध र अनुचित लाभ लिने प्रवृत्तिले पनि उजुरी दिने गरेको पाइएको भन्दै पूर्वाधार विकासमा उजुरीकै नाममा आयोजना नै रोक्न काम भने सच्चाउनुपर्ने मुख्यमन्त्रीको भनाइ छ। ‘अख्तियारमा उजुरी परेपछि विकास निर्माणका काम रोकिन्छ, यसले राज्यलाई नै नोक्सान पुग्छ’मुख्यमन्त्री पोखरेलले भने –‘अनुसन्धान र काम पनिसँगै अघि बढाउन जरुरी छ।’

प्रदेश तहका सबै निकायलाई स्वेच्छाचारी र मनमौजी ढंगले काम नगर्न निर्देशन दिएको समेत उनले बताए। उनले नेपाली समाज नै धनलाई प्राथमिकतामा राख्ने खालको भएकाले पनि समाजमा भ्रष्टाचार मौलाउदै गएको बताए। उनले समस्याको कारण खोजेर त्यसलाई अन्त्य गर्न तर्फ अब अख्तियारले काम गर्ने बेला आएको बताए। ‘२ जना लोभी नमिल्दासम्म समाजमा भ्रष्टाचार हुँदैन, तसर्थ भ्रष्टाचार नियन्त्रणका लागि आम नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ’ मुख्यमन्त्री पोखरेलले भने।

उनले सञ्चार माध्यममा समेत नकरात्मक विषयलाई चाँडो उठान गर्ने प्रवृत्ति भएको भन्दै आलोचनाले मात्रै समाज राम्रो नहुने बताए। उनले प्रदेश ५ को प्रदेशसभाको गाडी खरिदमा मिलेमतो भएको कुरा प्रमाणित नभएको समेत बताए। उनले अहिले कृषि  अनुदानमा पूरानालाई नदिएर नयाँलाई दिएको भनेर आलोचना भएको बताउँदै यसमा सरकारको निति नै नयाँलाई दिनेखालको भएको प्रष्टाए। ‘अनुदानमा समस्या देखिएको संसदीय समितिको प्रतिवेदन आएको छ, त्यसपछि अनुगमन गरेर गलत भए कारवाही गर्न भनेर मन्त्रालयले अनुगमन गरेको छ’ मुख्यमन्त्री पोखरेलले भने।  प्रदेश सरकारले सुशासन कायम गर्नकै लागि सबै प्रकारका अनुदानको वितरणलाई व्यवस्थित बनाउन मापदण्ड बनाइएको समेत उनले बताए।

अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले राज्यले भ्रष्टाचार विरुद्ध निर्मम रुपमा काम गर्ने बेला आएको बताए। उनले भ्रष्टाचार संस्थागत हुँदै गएको र निर्वाचन प्रणालीले समेत भ्रष्टाचारलाई बढावा दिएकाले यसतर्फ पनि सोच्न आग्रह गरे। उनले अख्तियार सक्रिय भएकाले भ्रष्टाचार नियन्त्रण भएको बताउँदै प्रदेश तहबाट आफूहरुले अन्तरक्रियाको थालनी गरिएको जानकारी गराए। उनले सरकारी सेवाबाट जनता सन्तुष्ट नदेखिएकाले समयअनुकुल रुपान्तरण आवश्यक भएको बताए।

अन्तरक्रिया कार्यक्रममा अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीले नागरिकले एउटै सेवा लिनका लागि पनि पटक पटक धाउनुपर्ने, कमिशन दिनुपर्ने जस्ता समस्याहरु भोगेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए। मुख्यमन्त्री कार्यालयका सचिव टेकनराययण पाण्डेले प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि केहि प्रयासहरु गरेको जानकारी दिए।

कार्यक्रममा सभामुख पूर्ण बहादुर घर्ती, प्रदेश ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेशका प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेशका विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता थियो।


 

 

प्रकाशित: १७ मंसिर २०७६ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App