८ वैशाख २०८१ शनिबार
समाज

युवायुवतीलाई मदिरा बेचबिखन र सेवन गर्न रोक

पातारासी गाउँपालिका जुम्लाः नागरिक

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकाले युवायुवतीलाई मादक पदार्थ बेचबिखन र सेवन गर्न रोक लगाएको छ। २५ वर्षदेखि तलको उमेर समूहका युवायुवतीलाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो।

अत्याधिक मदिरा सेवन बढेको र जसका कारण महिला हिंसाका क्रियाकलापमा वृद्धि हुन थालेपछि गाउँपालिकाले युवायुवतीलाई मदिरामा प्रतिवन्ध लगाएको हो। गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवाहरुलाई सचेतनामुलक कार्यक्रम गर्न लगाइएको छ। ‘अहिलेका युवायुवती भविष्यमा कर्णधार हुन्। देश विकासका मेरुदण्ड पनि, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले भने, ‘हरेक युवा जिम्मेवार बनुन् भन्ने लागेकाले मदिरा प्रतिवन्ध गर्ने निर्णय गरिएको हो।’

कुलतका कारण युवायुवतीहरु गलत बाटोमा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिवन्ध लगाईएको गाउँपालिका अध्यक्ष लक्ष्मन बोहोरा बताउँछन्।  युवालाइ खेतीकिसानीमा लागेको हेर्न चाहान्छौं, पढेर ठुलो मान्छे बनेको हेर्न चाहन्छौं। मादक पदार्थ सेवन गरेर हल्लेर हिडेको हेर्न चाहादैनौँ। उनले भने,‘ यहाँका युवामा युवा जोश ल्याउन चाहान्छौँ। त्यसको उपज भनेको नै यो निर्णय हो। यो निर्णय कार्यन्वयनमा प्रतिवद्ध छौँ।’

२५ वर्ष मुनिका युवायुवतीले मदिरा सेवन तथा बिक्रि वितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भइसकेको छ। यदि कोही कसैले सार्वजनिक स्थलमा मदिरा सेवन गरि हल्ला वा बिक्रि गरेको भेटिएमा हदैसम्म जरिवना र कानुनी उपचारको लागि पहल गरिने चेतावनी गाउँपालिका अध्यक्ष बोहोराले दिए। 

मदिरा सेवन तथा बिक्रि वितरणमा युवायुवति संलग्न भएको पाइएमा शुन्य सहनशिलता अवलम्बन गरि कारबाहीको प्रक्रियमा जाने गाउँपालिकाले तयारी थालेको छ। देश निर्माणमा सहभागि हुनुपर्ने जनशक्ति कुलतमा सहभागि भए समाज कुबाटोमा लाग्ने भन्दै उनले समयमै सचेत गराएको जानकारी दिए। गाउँपालिका युवामैत्री कार्यक्रम ल्याउन तयार छ। युवाले गाउँपालिकाले गरेको निर्णयमा रहि कामकाज गरिदिनु पर्ने देखिन्छ। पातारासी क्षेत्रमा जुवातास र मदिरा बढी सेवन हुने भएकाले विकृतिविरुद्धमा स्थानीय सरकार निर्ममताका साथ प्रस्तुत हुने बताएका छन्। 
समाजमा हुने बाल बिवाह र बहुबिवाह अन्त्य गर्ने लक्ष्यमा सरकार लागि परेको भन्दै अध्यक्ष बोहोराले सबै प्रगतिको कारक मदिरा भएकोमा जोड दिए। 

गाउँमा अगुवाई गर्ने महिलाहरुलाई समेत जानकारी गराई अभियानका साथ मदिरा सेवन तथा बिक्रि वितरणमा रोक लगाउने नीति अघि बढिसकेको छ।  गाउँपालिकामा रहेका बालक्लब, युवाक्लब, आमा समुह, सहकारी संस्था सबैलाई मदिरा सेवन तथा बिक्रि वितरणमा रोक लगाउने कार्यमा साथ दिन अपिल गरिएको छ। यो निर्णयले गाउँपालिकालाई नै मदिरामुक्त बनाउने आधारका रुपमा लिइएको छ। 

प्रकाशित: १७ मंसिर २०७६ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App