८ वैशाख २०८१ शनिबार
समाज

धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुुरु (फाेटाेफिचर)

रमिते डाँडाबाट टेण्डम उडान गर्दै पाइलट ।

धरान–पूर्वमा साहसिक खेल पर्यटनको विकास तथा प्रर्वद्धन गर्ने लक्ष्यसहित धरानमा पनि प्याराग्लाइडिङको व्यावसायिक सुरुवात गरिएको छ। बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरान २४ स्थित रमिते डाँडाबाट सोमबारदेखि व्यावसायिकरुपमा प्याराग्लाइडिङको सुरुवात गरेको हो ।

प्रालिबाट पहिलो व्यावसायिक उडान सेपाक टेक्रो संघ सुनसरीका अध्यक्ष वीरेन्द्र बिक्रम लिम्बुले गरेका थिए। पहिलो व्यावसायिक उडान गरेवापत लिम्बुले प्रालिबाट उपहारसमेत पाएका थिए। व्यावसायिक उडान अघि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले पाइलट देशवीर जिमीलाई ग्लाइडर हस्तान्तरण गरेर औपचारिक रुपमा प्रालिको उद्घाटन गरेका थिए।

प्रालिले धरान २४ चिण्डे(रमिते) डाँडाबाट टेकअफ गर्नेछ भने ल्याण्डिङस्थल धरान १७ सर्दु किनारमा तयार गरेको छ । बुढासुब्बाले पाँच जना टेण्डम पाइलटको अनुमति पाएको छ ।

रमिते डाँडास्थित टेकअफस्थलमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी अधिकृत कोइरालाले धरानको मात्र नभई पूर्वाञ्चलकै पर्यटकीय विकासमा नयाँ आयाम थपिएको बताए। थप पर्यटन विकासको लाग साविक विष्णुपादुका प्रवेश गर्ने २ वटा नाकामा पुल निर्माण गर्न पहल गर्ने साथै, बाटो विस्तार र स्तरोन्नति गर्न उपमहानगरपालिका प्रतिवद्ध भएको पनि बताए । ‘विष्णुपादुका क्षेत्रको वडा २४, २५ र २६ लाई एउटै वडा बनाउने र यहाँका प्राकृतिक पर्यटकीयस्थल संरक्षण गर्ने योजनामा छौं। दिगोरुपमा विकास र पर्यटन केन्द्र बनाउन सहकार्य गर्दै क्षमताअनुसार स्थानीयलाई सहयोग गछौं’, कार्यकारी अधिकृत कोइरालाले भने।

प्रालिका अध्यक्ष लेखमणि जिमीले पर्यटन विकासकालागि पूर्वाधार विकास हुन आवश्यक भएकाले विगत ६ वर्षदेखि पूर्वाधार तयार गरेर भर्खर मात्र व्यावसायिक उडान सुरु गरेको बताए। ‘स्थानीय स्रोतसाधन परिचालन गरेर त्यँहीको भूगोल, संस्कृतिअनुसार पूर्वाधार विकास गर्नुपर्छ, त्यो नै दिगो रहन्छ’, उनले भने, ‘पूर्वमा साहसिक खेल पर्यटन विकास हुनेछ भन्ने आशा लिएका छौं।’ धरानमा प्याराग्लाइडिङको पहिलो पटक उडान परीक्षण र पूर्वाधार तयारी गर्ने पाइलटहरु मिलेर नै बुढासुब्बा कम्पनी खोलेका हुन्।

प्रालिले धरान २४ चिण्डे(रमिते) डाँडाबाट टेकअफ गर्नेछ भने ल्याण्डिङस्थल धरान १७ सर्दु किनारमा तयार गरेको छ । बुढासुब्बाले पाँच जना टेण्डम पाइलटको अनुमति पाएको छ । उद्घाटन अवसरमा भने पाइलटहरु देशवीर जिमी, नरेश राई, सुरेन गुरुङ, सन्तोष गुरुङ, हितेश पुन, सागर क्षेत्री, दिलिप भण्डारी र मनिराज तामाङसमेतले उडान गर्नेछ।

प्रालिले २९ गतेसम्म बिशेष छुटमा पर्यटकहरुलाई ४ हजार ९ सय ९९ मा उडान गराउने घोषणा गरेको छ। त्यसपछि भने उडान शुल्क ५ हजार ५ सय र थप १३ प्रतिशत भ्याट जोडिने प्रालिका मार्केटिङ डाइरेक्टर राम राईले बताए। यो शुल्कमा आधा घण्टाको उडान र टेकअफ पुर्याउने, ल्याण्डिङबाट ल्याउने यातायात सुविधा पनि हुन्छ।

प्रालिको टेकअफ स्थल चिण्डे डाँडा पर्यटकीय गन्तव्य पनि हो । त्यहाँ दैनिकरुपमा सय भन्दा बढी धराने तथा अन्तरिक पर्यटकहरु पदयात्रा गर्दै पुग्ने गर्छन् । त्यहाँबाट देखिने धरानको सुन्दर दृष्य प्रमुख आकर्षण हो । प्रालिले भविष्यमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्ने उद्देश्यले ३ ठाउँमा टेकअफ स्थल पनि निर्माण गरिसकेको छ।

सबै तस्बिर राेहित राई
 

रमिते डाँडाबाट टेण्डम उडान गर्दै पाइलट ।
रमिते डाँडाबाट टेण्डम उडान गर्दै पाइलट ।
रमिते डाँडाबाट टेण्डम उडान गर्दै पाइलट ।
रमिते डाँडाबाट टेण्डम उडान गर्दै पाइलट ।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App