coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मंगलबार नेपाललाई थप पाँच उपाधी, स्वर्ण संख्या २०

काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत मंगलबार दिउँसो २ बजेसम्म नेपालले थप पाँच पटा स्वर्ण थप गरेको छ। नेपालले आज उसुमा दुई तथा कराते, महिला एथ्लेटिक्स, र डुवाथोलनमा एक एक स्वर्ण जितेको हो।

यो सँगै नेपालले अहिलेसम्म २० स्वर्ण, चार रजत र आठ कास्यसहित  तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कास्यसहित दोस्रो तथा भारत ३ स्वर्ण, ८ रजत र ५ कास्यसहित पदकतालिकाको तेस्रो स्थानमा छ।

उसुमा दुई स्वर्ण

उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ। ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा नेपालकी सुस्मिता तामाङ र विजय सिञ्जालीले स्वर्ण जितेका हुन्।

आजदेखि सुरु भएको उसुको थाउलुतर्फ थानछ्वानको महिला स्पर्धामा नेपालकी सुस्मिता तामाङले स्वर्ण जितेकी छिन्। तामाङले ९ दशमलव ४४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेकी हुन्। उक्त स्पर्धामा श्रीलङ्काले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ। उसुतर्फ आजको यो नै पहिलो खेल थियो। 

यस्तै उसुको थाउलुतर्फ थानछ्वानको पुरुष स्पर्धामा नेपालका विजयले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई उछिन्दै स्वर्ण जितेका हुन्।

उनले ९ दशमलव ४८ अङ्क जोडे। सो स्पर्धामा बङ्गलादेशले रजत तथा श्रीलङ्काले कास्य पदकमा चित्त बुझायो। उसुमा हालसम्म नेपालले नौ स्वर्ण जितेको छ। नेपालले पहिलो दिन सोमबार सात स्वर्ण जितेको थियो।

महिला एथ्लेटिक्समा पहिलो स्वर्ण 

एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रेष्ठले उक्त दुरी पार गर्न ३५ मिनेट ०७.९४ सेकेण्डको समय लगाइन्।

उक्त प्रतियोगितामा भारतकी कविता यादव ०.०१ सेकेण्डले पछि परिन्। कविताले उक्त दुरी पार गर्न ३५ मिनेट ०७.९५ को समय लगाएकी थिइन्। 

करातेमा नविनलाई स्वर्ण 

तेह्रौँ सागअन्तर्गत करातेको ६७ किलो कुमुतेमा नेपालका नविन रसाइलीले आज स्वर्ण पदक जितेका छन्। नविनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन्।

ललितपुरको सातदोबाटोस्थित कराते कभर्ड हलमा भएको खेलमा उनले बङ्गलादेशका मोहम्मद थेरदुसलाई ८–२ अङ्कले पराजित गरेका थिए। करातेतर्फ यो नेपालको आठौँ स्वर्ण हो। सोमबार नेपालले करातेमा सात स्वर्ण जितेको थियो। 

डुवाथोलनमा हिमाललाई स्वर्ण 

तेह्रौँ सागअन्तर्गत पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन्। यही स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत जिते। श्रीलङ्काका आशिष परेराले कास्य जिते। कास्कीको पोखरास्थित लेकसाइडमा भएको उक्त स्पर्धामा नेपाल, भारत र श्रीलङ्काका छ खेलाडी मात्र सहभागी थिए।

राससको सहयोगमा

प्रकाशित: १७ मंसिर २०७६ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App