नैना

सोमबार, २७ मङि्सर २०७३, १४ : ३३ पोस्तक श्रेष्ठ

'तिम्रो नाम के भन्यौ रे, मैले बिर्सेछु।'

'मैले मेरो नाम भनेकै छैन। कस्तो बाठो मान्छे?'

वास्तवमा रुपले  नाम सोधेकै थिएन। उनले पनि भनेकी थिइनन्। कसैको नाम सोध्ने यो रुपको शैली थियो।

'मेरो नाम सुनयना। तर नैना भन। सबैले नैना भन्छन्।'

'अनि?'

'अनि के नि?'

'थर त होला नि?' रुपले भन्यो।

'थर किन चाहियो? सिधै दिल भित्र चियाएर हेर न।'

उनी पहिला त मस्किइन् तर एकैछिनमा अनुहारको रंग गुलावी भयो। सायद उनलाई अलि बढी नै बोलेको जस्तो लागेछ क्यारे। उनी झ्यालतिर फर्किइन। झ्यालबाट छिरेको विहानीको कलिलो किरणले उनको अनुहार धपक्क बलेको थियो।

'होइन, आजकल 'पहिचान'को कुरा गर्छन् नि।'

त्यसपछि उनको आँखिभौ खुम्चियो र निधार बीचमा गाँठा पर्‍यो।

'मान्छेलाई अमेरिका आइपुग्दा पनि पहिचानले छोडेन है?' उनी अलि झर्किइन।

'अनि आफ्नो नाम चाँहि भन्न पर्दैन?' उनले भनिन्।

'रुप सागर। तर रुप मात्र भन।'

'रुप सागर रे !' उनी खितित्ती हाँसिन्। 'अनुहार हेर न।'

'अनि तिमी नि, आँखा लाटोकोसेरोको जस्तो ट्वाल्ल परेको छ, नाम चाँहि सुनयना रे।' रुप पनि के कम।

यो रुपको नैनासंगको पहिलो भेट थियो। बिहान अति ट्राफिक हुने भएकोले 'मल' मा गाडी छोडेर लाइट रेल चढेको थियो। नैना रुपको सामुन्नेको बेन्चमा थिइन्। नेपाली जस्तो लागेकोले रुपको नजर घरिघरि उनीतिर गइरहेका थिए। बेलाबेला आँखा जुधिरहेको थियो। त्यसै बेला नैनाको फोन भाइब्रेट भयो। उनले फोन उठाइन् र नेपालीमै कुरा गरिन्।

'म अहिले ट्रेनमा छु। कलेज जाँदै छु। भरे फोन गर्छु।'

'कुन कलेज पढछौ?' रुपले बिना संकोच सोधेको थियो।

उनी अलि सजग भएकी थिइन्। उनको नजर एकछिन रुपमा अडिएको थियो। सायद एक अपरिचितबाट आएको सिधा प्रश्न अपेक्षाभन्दा बढी थियो।

'म तिम्रो पछि पछि आउदिन। चिन्ता नमान।' रुपले ठट्टा गर्‍यो।

'के बेर? पहिलो प्रश्नमा कुन कलेज पढ्ने, दोस्रोमा अपार्टमेन्ट कहाँ भनेर सोध्ने त होला नि!'

ट्रेनले जस्तै कुराकानीले पनि गति लिएको थियो र एकैछिनमा रुप र नैना घुलमिल भएका थिए। कोही मान्छेसँग धक कति छिट्टो खुल्न सक्छ, रुप आफै छक्क परेको थियो।
ट्रेन मिनियापलिस डाउनटाउन छिर्‍यो। फेरि भेट कहिले हुने हो, यति रमाइली केटीको फोन नम्बर नलिई कसरी छोड्नु भन्ने लाग्यो। सिधै फोन माग्न नि गाह्रो मान्यो।

'मलाई तिम्रो फोन एकचोटी चलाउन देऊ न। मेरो फोनमा ब्याट्री सकिएछ', उसले भन्यो।  

'वाह, यो पुरानो तरिका हो मिस्टर, कुन दुनियामा छौ। मलाई थाहा छ तिमी मेरो नम्बर चाहन्छौं।'

दुवै मज्जाले हाँसे। त्यसपछि उनीहरुबीच फोन नम्बर साटासाट भयो।

'आजको लाइट रेल यात्रा रमाइलो भयो। म जान्छु है। अर्को बस लिन पर्छ', उनी यूएस बैङक स्टेडियममा ओर्लिन्। रुपले उनी जाँदै गरेको हेरिरह्यो। उनी फोर्थ स्ट्रिटतर्फ लागिन्। वास्तवमा नैनाले भने जस्तै रुपलाई पनि आजको रेल यात्रा रमाइलो लागेको थियो। चालीस-पैंतालीस मिनेटको यात्रा पल भरमा सकिएको जस्तो।

रुपको एउटा सम्बन्ध करिब एक वर्ष अघि टुंगिएपछि फेरि कुनै अर्को केटीसँग यति रमाईलो कुराकानी भएको थिएन।

 

***

अपार्टमेन्ट, लाइट रेल यात्रा, डाउनटाउनको जागिर चक्रमा रुपको दैनिकी घुमिरहेको थियो। हरेक दिन लाइट रेलको डिब्बामा रुपका आँखाहरु केही खोजिरहेका हुन्थे। कतै नैनालाई देखिहाल्छु कि भन्ने उसको खोज निकै दिनसम्म सफल भएन। शुक्रबारको दिन रुप अफिसबाट फर्किदै थियो। 'मल अफ अमेरिका'मा लाइट रेलबाट ओर्लिदै गर्दा उसले नैनालाई देख्यो। उनी अर्को डिब्बाबाट निस्कदै थिइन्।

'तिमी यही ट्रेन भित्र थियौ?' उनले सोधिन्।

'हो त। अघि नै भेट भएको भए रमाईलो हुन्थ्यो नि। 'एनि वे, तिमीसँग समय छ भने एक कप कफी पिऊँ न त?' रुपले आग्रह गर्‍यो।

उनी एकछिन अनकनाइन्।

'अँ....., हुन्छ नि त। तर धेरै समय होइन है, म फेरी काममा जान पर्छ।'

दुवैजना मल भित्रको स्टारबक्समा छिरे। दुईवटा कफी मागे। नैनाले एउटा बेगल पनि मागिन्। बेगललाई दुई भाग गर्न लगाईन र आधा रुपलाई दिइन्।

'तिम्रो फर्किने समय सधैं यही हो?' रुपले सोध्यो।

'भन्दिन, तिमीले मलाई फेरि 'स्टकिङग' गर्ने होला।' उनी जिस्किइन्।
'मेरो हप्तामा तीन दिन मात्र क्लास छ सोमबार, बुधवार र शुक्रबार। तर कुनै दिन अनलाइन हुन्छ, क्लास जान्न।'

'तिमीले चाँहि मलाई 'विक डे' यति बेला भेट्न सक्छौ', रुपले आफ्नो समय तालिक खुलायो।

'जानकारीको लागि धन्यवाद, तर मलाई तिम्रो दैनिकी चाँहि जान्नु थिएन', उनले आँखा झिम्क्याइन्। रुप हाँस्यो।

अनि एकछिन कुरा भयो। नैना 'यू अफ एम' ( यूनिभर्सिटी अफ मिनीसोटा) मा अण्डरग्य्राड जुनियर (स्नातक तह, तेस्रो वर्ष) रहिछिन्। उनको बसाइ एप्पल भ्यालीमा साथीहरुसँग रहेछ।

कुराको बीचबीचमा घडि पनि हेर्दै थिइन्।
'ल अब जानु पर्छ।'

'म गाडीमा पुर्याईदिऊँ?' रुपले प्रस्ताव राख्यो।

'हैट, यति छिट्टो चिन्नु-न-जान्नुको मान्छेलाई अपार्मेन्टसम्मको बाटो चाँहि नदेखाऊँ है', उनले भनिन्।

रुप मुर्छा परेर हाँस्यो।

'बसमा एकैछिनमा पुगिहाल्छु, बेकारमा तिम्रो गाडीको तेल किन सक्नू?' नैनाले उठ्दै भनिन्।

'अब हाम्रो भेट कहिले हुन्छ त ?' रुपले सोध्यो।

'तिथि-मिति चाँहि नतोकूँ होला। यो लाइट रेलमा हाम्रो भेट भइरहला नि, जस्तो आज भयो! मिति तोक्दा तोडियो भने फेरि तिम्रो दिल मात्र दुख्ला।' आँखा झिम्काउँदै उनी उठिन्।

'दुख्दैन, जति दुख्नु दुखि सक्यो।'

'विचरा, ब्रोकन हार्ट !' उनी निस्किइन्।

रुप पनि निस्कियो। बाटोभरि नैनाबारे सोचिरह्यो। उसको रित्तो दिमागले केही सोच्ने विषयवस्तु पाएको थियो।

***

कहिले कलेज जाँदा त कहिले फर्किदा उनीहरुको भेट भइरह्यो। फर्किदा भने मलको 'स्टारबक्स' मा उनीहरु केही समय बिताउँथे। कफीसँग एउटा बेगल आधी पारेर खान्थे। पछि त 'बेरिष्टा'हरु ले उनीहरुलाई चिन्न थालिसकेका थिए। 'बेगल' आधा पारिदेऊ भन्नै पर्दैनथ्यो। आधा आधा बाँडेर खाँदा सम्बन्ध कसिलो हुन्छ भन्छन्।

बिना योजना भेट हुँदा वास्तवमा मज्जा भइरकेको थियो। उनीहरु ट्रेनको यात्रा भरी गफिन्थे। नैना मज्जाले ठट्टा गर्थिन्। दिल खोलेर हाँस्थिन्।

उनको परिवारमा आमा र एउटा भाइ मात्र रहेछ। भाइ ११ कक्षामा पढ्ने। बुवा प्रहरीमा अधिकृत हुनुहुन्थ्यो रे। सँविधान निर्माणको घच्चाघच्चीमा आन्दोलनकारीसँग झडप हुँदा उनको हत्या भएछ। त्यही भएर उनलाई यो राजनीति बिल्कुलै मन पर्दो रहेनछ। आमा सामान्य जागिरे हुनु हुँदो रहेछ।

उनी पढाइ र कामको बोझले थिचिएकी रहिछन्। कम्तिमा १२ क्रेडिट कोर्स नलिए 'आइ-२०' को अवधि नथपिने डर। कलेजको फी, अपार्टमेन्टको भाडा, खाना खर्च सबै जुटाउन पर्ने। २० घण्टाको 'अन क्याम्पस' कामले खर्च नपुग्ने भएकोले एउटा भारतीयको रेष्टुरेन्टमा पनि काम गर्दिरहिछिन्। एउटा विदेशी विध्यार्थीले झेल्नु पर्ने हरेक समस्याहरुसँग जुधिरहेकी रहिछिन्।

***

सधैँ खुशी देखिने नैनाको अनुहार एक दिन निकै गम्भीर देखियो। यो सेमेष्टरमा उनको 'जि पि ए' २ भन्दा तल खसे छ र उनी 'एकेडेमिक प्रोबेसन' मा परिछिन्। अर्थात अर्को  सेमेष्टरमा राम्रो नगरे उनको 'इमिग्रेशन स्टाटस' मै खतरा मा पर्ने रहेछ। 'अडभाइजर'ले मिठो शब्दमा कडा चेतावनी दिएछ।

रुपले सकेसम्म सान्त्वना दिन प्रयास गर्‍यो। उनीहरु कुरा गरिरहेका थिए। नैनाको भाइबर टुङ-टुङ गर्दै बज्यो। 'मेसेज' हेर्दै गर्दा मुहारमा चमक देखियो।

'किन हाँस्यौ?' रुपले सोध्यो।

'मेरो भाइलाई आईफोन चाहियो रे। यहाँ दिदीको हालत यस्तो छ!'

'यो तिम्रो मात्र समस्या होइन, सायद धेरैका भाइ-बहिनीहरु, भतिजा-भतिजीहरुले यस्तै केही न केही फर्माइश गरि रहेका हुन्छन्।'

उनी आमालाई र भाइलाई आफ्नो सबै समस्याहरु भन्न पनि सक्दिन रहिछिन्। यहाँको समस्याको कुरा सुनाउँदा आमालाई झन चिन्ता हुन्छ भन्ने लाग्दो रहेछ। आखिर उनी आफैँले जिद्दी गररे अमेरिका आएकी रहिछन्। उनलाई कसरी सहयोग गर्न सक्छु भनेर रुप घोत्लियो।

'नैना, तिमी त्यो इन्डियन रेष्टुरेन्ट को काम चाँहि छोड र त्यो समय पढाइमा लगाऊ', एकदिन रुपले नैनालाई भन्यो। 'ओहो, कति सजिलो छ है भन्न। मेरो अपार्टमेन्टको 'रेन्ट' चाँहि कसले तिरीदिन्छ नि।' उनी झर्किइन्।

'मसँग एउटा आइडिया छ। तिमी मेरो कन्डमनियममा मूभ गर। एउटा कोठा खाली छ। तिमीले पैसा दिन पर्दैन वा सकेको बेला देऊ', रुपले प्रस्ताव राख्यो। 'वाह, क्या चलाख है, पहिला कोठा खाली छ, पछि दिल पनि खाली छ भन्ने त होइन?' उनको जिस्किने बानी पुरानै हो।

'त्यो त तिम्रो मर्जी? अहिलेसम्म त मेरो नियत त्यस्तो छैन। पछिको कुरा कसले देखेको छ र !' रुपले नैनाकै स्टाइलमा आँखा झिम्क्यायो।

एकै छिन् दुवै चुपचाप रहे। 'तर तिमी मलाई यो सहयोग किन गर्दैछौ?'
 

प्रश्न जटील थियो र उनको हेराइ तिखो। रुप तिल्मिलायो। झ्वाट्ट कुनै उत्तर आएन। सायद कुनै प्रश्नहरुको उत्तर त्यति सिधा र सजिलो हुदैन।

'के म उनलाई मन पराउछु?' आफैंलाई प्रश्न सोध्यो। होइन। यति छिट्टो हुन सक्दैन। उसको एउटा सम्बन्ध टुंगिएको भर्खर एक वर्ष भएको थियो र अर्को सम्बन्धको लागि मानसिक रुपमा अझै सायद तयार थिएन। कम्तिमा उसको सचेत मस्तिष्कले त्यही भनिरहेको थियो। तर दिल नि? दिल सायद दिमाग भन्दा उत्ताउलो हुन्छ कि। दिल त नैनासंगको भेट पछि बेचैन हुन शुरु गरिसकेको थियो।

'मलाई थाहा छ, तिमी मलाई मद्दत गर्न खोज्दैछौ। त्यसको लागि धन्यवाद। तर एउटा केटी मान्छे, बिना नाता-सम्बन्धको केटासँग एउटै छतमुनि कसरी बस्नु? म सोचेर भन्छु है। अहिले जान्छु।' उनी कफीको कप समेत लिएर उठिन्।

'बिना नाता-सम्बन्धको केटासँग एउटै छतमुनि कसरी बस्नु?' रुपको कानमा नैनाको वाक्य पछिसम्म प्रतिध्वनी भइरह्यो।

***

एक शुक्रबार रुप अफिसमै थियो। नैनाको 'टेक्स्ट' आयो।

'हेल्लो, आज तिमी कति बजे निस्कदैछौ?'

'मेरो त उही टाइम हो', रुपले जवाफ फर्कायो।

'ए, म 'मल अफ अमेरिका' पुग्नै लागेँ। तिम्रो फर्किने समय हो भने भेटूँ कि भनेर'। नैनाले भनिन्।

रुपले घडी हेर्‍यो, चार बजेको थियो। खास महत्वपूर्ण काम बाँकी थिएन। उसका वरिपरिका 'क्यूव'हरु अघि नै खाली भइसकेका थिए। सुपरभाइजरको 'क्यूव' हेरेको, उ पनि गइसकेको रहेछ। रुप पनि निस्कियो।
'ल म निस्किँए। तिमी स्टारबक्स तिर बस्दै गर न'।
रुप पुग्दा नैना सायद होमवर्क गर्दै थिइन्। रुप पुगेपछि उनले ट्याब, खातापाता सबै झोलामा थन्क्याइन्।

'आज म तिमीसँग जाने!' उनले भनिन्। 'फेरि धेरै उत्ताउलो चाँहि नहुनू नि, तिम्रो कन्डमनियम मात्र हेर्न खोजेको। '

रुप हल्का हाँस्यो। नैना पनि हाँसिन्।

रुपको कन्डमनियमको अवस्था लथालिङ्ग थियो। केही मिलाईएको थिएन। सोफाको तकियाहरु भूइँमा थिए। खानेकुराका जूठा भाँडाहरु 'सिंक' भरि। कपडाहरु यत्रतत्र छरिएका। केही दिन देखिका पिज्जाका बासी टुक्राहरु किचन काउन्टरमा त्यसै छोडिएका। टेबलमा पोखिएका केचप सुकेर कट्कटिरहेको। सोडाका क्यानहरु, पानीका बोत्तलहरु खोलिएका तर नरित्तिएका।

रुप सामानहरु हत्तपत्त मिलाउन थाल्यो।

'माफ गर है। तिमी आउछौ भन्ने थाहा भएको भए, अलि मिलाएर राख्थें नि।'

'केही छैन, लथालिङ्ग भएर बस्नु त केटा मान्छेको विशेषता नै हो नि', उनले ब्यङग्य कसिन्।

उनले भान्छा, बैठककोठा, बाथरुम सबै अवलोकन गरिन्। रुपले नैनालाई दिने भनेको खाली कोठा पनि देखाइदियो। 'कस्तो लाग्यो, तिमीलाई मेरो बसेरा, तिमी यहाँ एडजस्ट हुन सक्छौ?' रुपले सोध्यो।

नैना केही नबोली, क्याविनेट, रेफ्रिजरेटर सबै खोलेर हेर्न थालिन्। रुप प्रायः खानेकुरा पकाएर खादैन थियो। चामल थियो, दाल थिएन। तेल थियो-मसलाहरु थिएन। साग सब्जीहरु थिएन। केही 'इन्सटन्ट' नुडलहरु थिए। रेफ्रिजरेटरमा सोडा र वियरका क्यानहरु, केही तयारी स्याण्डविच र फ्रोजन पिज्जाहरु थिए।

'के खाने गर्छौ हँ तिमी? खाली पिज्जा र स्याण्डविच मात्र हो कि क्या हो? ल आज म तिमीलाई खाना पकाएर खुवाउँछु। यहाँ केही छैन जस्तो छ, तिमी गएर किनमेल गरेर आऊ त?' नैनाले आदेश दिइन्।

रुप निस्कियो-एक आज्ञाकारी पति जस्तो।

नजिकमा एउटा भारतीयको स्टोर थियो। केही किनमेल गर्‍यो। फर्किदा कोठा चटक्क मिलिसकेको थियो। भाँडाहरु सबै माझिएका थिए। रुपको कन्डमनियम अर्कै देखिएको थियो। एउटी केटी मान्छेको उपस्थितिले घरको स्वरुप नै कति फरक हुँदोरहेछ भन्ने महशुस गर्‍यो।्

'घर यस्तो फोहर राख्ने भए त म आउँदिन है। आज मैले मिलाई दिएको छु। भोलीदेखि सबै आफैँ गर्ने नि। यो छोरी मान्छेको मात्र काम होइन।' नैनाको आवाजमा आदेश थियो, अपनत्व थियो। किन किन रुपलाई नैनाको यो आदेश मिठो लागेको थियो।

रुपले तरकारीहरु काट्न सहयोग गर्‍यो। नैनाले खाना पकाइन्। मसलाको बास्नाले रुपको भोक जगाइरहेको थियो। दुवैले खाना सँगै खाए। धेरै समयपछि रुपले मिठो खाना खान पाएको थियो। त्यसपछि नैनाले भाँडाहरु माझिन्। रुपले पुछेर क्याबिनेटमा थन्क्यायो। मिलेर भान्छा पनि सफा गरे। एक छिन सोफामा बसेर गफ गरे। उसले नैनासँगको यो सामिप्यता अति सुखद महशुस गर्यो।

त्यसपछि उसले नैनालाई उनको अपार्टमेन्टमा छोडिदियो।

'के निर्णय गर्यौ त?' फर्कन लाग्दा सोध्यो।

'म साथीहरुलाई भन्छु। काममा पनि नोटिस दिन्छु। साथीहरु अलि रिसाउँछन् होला। एक महिनाको रेन्ट दिन पर्ला। अब छिट्टै तिम्रो घरमा लक्ष्मीको प्रवेश हुनेछ।' उनले आँखा झिम्क्याइन्। रुप खुशी हुदै फर्किँयो। पूर्व क्षितिजबाट जून उदायो र उसलाई बाटो भरी पछ्याइरह्यो। नैनाले रुपको दिलमा बेफिक्रीसँग हलचल मचाउन थालिन्।

***

नैना रुपको घरमा सर्ने ठिक एक दिन अघि। शुक्रबारको साँझ। रुपले घर सफा-सुग्घर गर्‍यो। नैनाको लागि कोठा तयार पार्दियो। त्यहाँ भएका अनावश्यक समानहरु हटाएर स्टोरमा राख्यो। उ रोमाञ्चित भइरहेको थियो। मन प्रफुल्लित थियो।

केही थकाइ लागेको जस्तो महसुस भएपछि उ सोफामा पल्टियो र अनायासै टिभीको रिमोट खेलाउन थाल्यो। उ खास कुनै प्रोग्राम चाख लिएर हेर्दैनथ्यो। च्यानल बदलिरह्यो। तर 'फक्स ९' को बेक्रिंग न्यूजले उसको ध्यान खिच्यो।

'एप्पल भ्यालीको एउटा भारतीय रेष्टुरेन्टमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार। केही ब्यक्ति हताहत। प्रहरीको गोलीबाट आक्रमणकारीको पनि मृत्यु।'

टिभीले प्रहरीका भ्यान, एम्बुलेन्स र दमकलका बत्तिहरु चम्किएका, झल्याक-झुलुक गरेका दृश्यहरु देखाइरहेको थियो। उद्धारकर्मी घाइते शरीरहरु निकालेर एम्बुलेन्सतिर दौडिदै थिए। एउटा कोलाहलको दृश्य प्रत्यक्ष प्रसारण भइरहेको थियो।

रेष्टुरेन्ट त्यही थियो, जहाँ नैना काम गर्थिन्। रुपको आङ सिरिङग भयो। चिटचिट पसिना आयो। चक्कर आएर ढल्छु कि जस्तो भयो। तुरुन्तै नैनालाई फोन लगायो। फोन उठेन। एउटा अज्ञात डरले आङभरि काँडा उम्रियो। मन मनै कामना गर्यो नैनाको सकुशलताको लागि।

गाडी निकालेर एप्पल भ्यालीतिर हानियो। घटनास्थल प्रहरीले घेरेको थियो। के कति संख्यामा हताहत भयो, को को परे, केही सुचना बाहिर आएको थिएन। नैनालाई निरन्तर फोन गरिरह्यो। फोन उठ्दै उठेन। पछि त सिधै 'भ्वाइस मेल' तिर जान थाल्यो।

घटनामा मृत्यु भएका र घाइतेहरुलाई फेयरभ्यू रिजस हस्पिटलमा लगिएको रहेछ। उ त्यतैतिर हानियो। त्यहाँ प्रहरीहरुले प्रेसलाई मृत्यु भएका र घाइतेहरुबारे जानकारी दिँदै थियो।

हे भगवान ! मृतकको सूचिमा नैनाको पनि नाम रहेछ। रुपलाई भाउन्न भएर आयो। ठाउको समातेर थचक्क बस्यो। उसको आँखा अगाडि अन्धकार छायो। नैना यो संसारमा अब छैनन् भन्ने कुरा विश्वास गर्न गाह्रो भयो।

रुपले यो भन्दा अघि ओर्ल्यान्डो, कोलोराडो स्प्रिंग्स, सान बर्नाडिन र थुप्रै अरु ठाउँमा भएको आमहत्याहरुबारे समाचार सुनेको थियो र बिर्सेको पनि थियो। तर त्यस्तो घटना दोहरिन्छ र आफ्नै नजिकको कसैलाई चुँडेर लैजान्छ भनेर कहिल्यै कल्पना गरेको थिएन। एउटा अनकल्पित घटना भयो।

अमेरिकी संबिधानले हरेक नागरिकलाई बन्दुक राख्ने अधिकार दिएको छ। बन्दुक नियन्त्रणसम्बन्धी कडा कानूनको अभावमा मानसिक रोगी, अपराधी र आतंकबादीहरु समेतको बन्दुकमा पहुँच सहज बनेको छ। चुरोट र रक्सी किन्न परिचयपत्र देखाउन पर्छ तर बन्दुक किन्न पर्दैन। सांसदहरु बन्दूक ब्यापारीको प्रभावमा परेकोले बन्दुक नियन्त्रणसम्बन्धी कानून बन्न सकेको छैन। अमेरिकामा बर्सेनी चौध-पन्ध्र हजार मानिसहरुको बन्दुककै कारणले अनाहकमा ज्यान गइरहेको छ। थाहा छैन, यो सिलसिला कहिले सकिन्छ र निर्दोष नैनाहरुले ज्यान गुमाउनु पर्ने छैन। एउटा आमाले छोरी र भाइले दिदी गुमाउनु पर्ने छैन। एउटा कथा आरम्भ नै नभई दुखदरुपमा अन्त्य हुने छैन।

नेपालीहरुको संस्थाले नैनाको शवलाई नेपाल पठाउने ब्यवश्था मिलायो। पहिले नै पति गुमाएकी नैनाकी आमाले एउटी भर्भराउदो जवान छोरीको निष्प्राण शरीर कसरी बुझ्छिन् होला।
***
रुपले आफ्नो कन्डमनियम बिक्रीमा राखेको छ। सकेसम्म 'मल अफ अमेरिका' जान छोड्यो। काम विशेषले त्यहाँ पुगिहाले स्टारबक्सतिर हेर्न साहस पुग्दैन। सायद त्यहाँका 'बेरिष्टा'हरु सोच्दा हुन, एउटा बेगल आधा-आधा पारेर खाने जोडी किन आउदैनन् भनेर।

गुड बाइ नैना, गुडबाइ लाइट रेल!

समाप्त।

 

 

 







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...