coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पादुकाबाट बहुमूल्य मूर्ती चोरी

पादुका स्थानमा मन्दिर परिसरमै खुल्ला राखीएका मूर्तीहरु। तस्बिर : गोविन्द/नागरिक

दैलेख– दुल्लु नगरपालिका –९ पादुकास्थानको मन्दिरमा रहेको मुर्तीहरु चोरी भएको छ। पादुका स्थानमा खुल्ला चौरमै विभिन्न देवीदेउताका मन्दिरहरु छरपष्ट अवस्थामा रहेको छ। त्यहाँ धेरै मुर्तीहरु बहुमुल्य छन्। ती मुर्ती हेर्नका लागि पुजारी, महन्तहरु मन्दिरमै बस्छन्। तर, हिजोआज पेट्रोलियम पदार्थको अन्वेषण कार्य भईरहेको छ।

अन्वेषणका क्रममा धेरै चिनिया र नेपालीहरु मन्दिरमा पुग्ने गर्दछन्। त्यही बाहानामा तस्करहरुले मुर्ती चोर्ने अवसर लिएको आंशका गरिएको छ। अन्वेषणका क्रममा सुरक्षा फितलो हुँदा चोरी भएको स्थानीयहरुले शंका गरेका छन्।

पादुकास्थानबाट चोरी भएको मूर्तीहरुमा ८ केजीको गणेशको मूर्ती, ४ केजीको घण्ट, २ केजीको गणेशको मूर्ती र अन्दाजी ८ केजीको बाँघको मूर्ती चोरी भएको पादुकास्थान मन्दिरका पुजारी देवीनाथ योगीले बताए। चोरी भएको थाहा पाएपछि पुजारी योगीले प्रहरीलाई खबर गरेका थिए। नियमित नित्य कर्म गर्ने क्रममा मूर्ती भएको ठाउँ खाली देखेपछि चोरी भएको थाहा भएको थियो। खबर पाए लगत्तै ईलाका प्रहरी चौकी दुल्लुबाट प्रहरी निरीक्षक हिक्मतबहादुर बोहोराको टोली मन्दिर क्षेत्र पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

यसअघि सोही मन्दिर क्षेत्रबाट द्धन्द्धको समयमा पंचधातुको भगवान ईन्द्रको मूर्ती पनि चोरी भएको थियो। मूर्ती चोरी भएपछि चोरी गर्नेहरुको खोजतलास भएको प्रहरीले जनाएको छ। यहाँ असंख्य मूर्तीहरु मन्दिर बाहिरै छरिएरको अवस्थामा छन्। ‘खुल्ला रुपमै मन्दिर वरपर मूर्तीहरु रहेका छन्।’ स्थानीय मदन विकले भने, मुल्यवान मूर्तीहरु तस्करले चिनेर चोरी गरेको हुन सक्छ। अहिले अन्वेषणका क्रममा धेरै आउने जाने भएकाले पनि चोरी गर्न सहज भएको हुनसक्छ।’ पंचकोशी तिर्थ स्थलमध्ये महत्वपूर्ण धाम रहेको पादुकाममा केही वर्षअघिसम्म ज्वाला बल्ने गर्दथ्यो। बाढीले मन्दिर भत्केपछि ज्वाला निभेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाहीले बताए।

मूर्तीहरु संरक्षण हुन नसक्दा चोरी भएको र यसलाई व्यवस्थीत गर्नुपर्ने मेयर शाहीको भनाइ छ। पुरातत्व विभागले उपत्यका बाहिरका बहुमूल्य मूर्ती तथा सम्पदाहरुको सरक्षणमा कुनै चासो नदिएका कारण वर्षेनी चोरी हुने क्रम नरोएिको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए। पादुकामा मध्यपहाडी लोकमार्ग र अन्वेषणका क्रममा आउने संख्या बढ्दो भएकाले बहुमूल्य मूर्तीहरु चोरी भएको हुनसक्ने आंशका मेयर भण्डारीले गरे।

मूर्ती चोरबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) हरिबहादुर वलीले बताए।

 

प्रकाशित: १७ मंसिर २०७६ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App