coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विकल्पको विग्रह

साझा पार्टी प्रमुख रवीन्द्र मिश्रले अघिल्लो निर्वाचनका बेला आफ्नो दललाई मतदाताले अस्वीकार गरेको घटनालाई रेस्टुराँमा मेनु पल्टाएर ‘मःमः अर्डर’ गर्ने प्रवृत्तिसँग तुलना गरेका थिए। उनले २०७३ को निर्वाचनलगत्तै भनेका थिए– ‘होटलको मेनु हेरेजसरी मतपत्र हेरेर अन्तिममा आफ्नै बाबुबाजेकै पार्टीलाई भोट हाल्ने हो भने यो देश बन्न सक्दैन।’

दुई वर्षपछि भर्खरै सम्पन्न उपनिर्वाचनमा पनि मतदाताले मिश्रलाई सुनेनन्। उनीहरूले मिश्रकै भाषामा फेरि ‘मःमः अर्डर’ गरेका छन्। कारण प्रस्ट छ– खाजा पसलमा ममको भरपर्दो विकल्प फेला नपरुन्जेल अरू थोक माग हुने सम्भावना कम छ। नेपाली रेस्टुराँममा मःमः नै यस्तो खाजा हो, जुन भरपर्दो, पोसिलो र कम खर्चिलो छ।

मःमः छाडेर पिज्जा, बर्गर वा अन्य खाजा खाने हो भने ती भरपर्दा हुनुपर्ने हुन्छ। मिश्रले भनेजस्तो नेपाली राजनीतिमा अहिले मतदाताले सबैभन्दा बढी मन पराएका दुई दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस वास्तवमै मःमःजस्तै छनोटमा परेका छन्। राजनीतिमा मःमःबाहेकका अरू पार्टी पनि हेरौं न भन्ने विकल्प मतदातामा हुँदै भएन।

यसपटकको उपनिर्वाचनमा पनि मिश्रले मतदातासँग त्यसैगरी गुनासो गरेका छन्। उपनिर्वाचनले आफ्नो पार्टीलाई छोटो समयमा जे गरियो त्यसमा थप धरै मिहिनेत गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्दै मिश्रले ट्विटमा लेखेका छन्– ‘साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसद्को खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।’

मिश्रले यहाँ जे कुरालाई अनुमोदन गरिदिएको भनेर चिन्ता व्यक्त गरेका छन्, यथार्थमा त्यो अनुमोदन होइन। वास्तवमा विकल्प नपाएर मात्र नेकपा र कांग्रेसलाई मत गएको हो भन्ने बिर्सिन मिल्दैन। आम नागरिकलाई अहिलेजति उद्वेलित कहिले बनाएको थियो होला र ? तर, ती बाध्य छन्, अहिले पनि नेकपा र कांग्रेसलाई नै मतदान गर्न।

अहिलेको बेथितिबारे आम नागरिकलाई जानकारी छ। त्यति हुँदाहुँदै पनि भरपर्दो विकल्प बनिनसकेको दललाई विश्वास गरिहाल्न नसक्ने अवस्थामा सर्वसाधारण छन्। वास्तवमा अघिल्लो निर्वाचनका बेला छोटो समयमा हासिल गरेको उपलब्धिभन्दा कमजोर प्रस्तुति अहिले साझालगायत दलमा देखिएको छ। यसको अर्थ हो– अझै मिहिनेत पुगेको छैन।

मिश्र आफैंले पनि यसलाई स्वीकार गरेका छन्। सायद यही बुझाइको निचोडका रूपमा साझा पार्टीले ‘भुइँ अभियान’ घोषणासमेत गरिसकेको छ।

मतदाताले मःमः मात्रै ‘अर्डर’ गरे भनेर निराश हुनुभन्दा त्यसको विकल्प दिन तत्पर हुनुपर्छ। अहिलेका दुई राजनीतिक शक्ति– नेकपा र कांग्रेस एकरातमा बनेका होइनन्, उनीहरू यो स्वरूपमा आउन सिंगै पुस्ताले जीवन उत्सर्ग गरेको छ।

वास्तवमा अघिल्लो निर्वाचनअघि साझा र विवेकशील मिलेर बनेको विवेकशील साझाप्रति आम विश्वास मजबुत हुन थालिसकेको थियो। तर एकता बलियो बन्न नसकी चाँडै विभाजन हुन पुग्यो। वैकल्पिक राजनीतिक शक्ति खोजी गरिरहेका व्यक्तिहरूका निम्ति यो निकै चित्त दुखाउने खालको घटना हुन पुग्यो। त्यसयता धेरै मानिस साझा र विवेकशील दुवैप्रति उदासीन रहन थालेको देखिन्छ।

टुटफुट र विभाजन दल निर्माणका स्वाभाविक घटना हुन्। तर, आफूले भर गरेका र आदर्श युवा रहेका दलमा समेत अन्य राजनीतिक दलको रोग सरेको अनुभव भएको छ। वास्तवमै साझाले आफूलाई उम्दा दलका रूपमा अघि बढाउने हो भने आफूजस्तै अन्य दलसँग एकीकरण र सहकार्यमा ध्यान दिन सक्नुपर्छ।

साझाले अहिले पाएको मत परिणामकै आधारमा निराश हुनुपर्ने अवस्था छैन। बरु कसरी ठूलो दल बनेर नेकपा र कांग्रेसलाई टक्कर दिने भन्नेमा ध्यान दिनुपर्छ। आम मतदाताले विश्वास गर्ने दल हुन वैकल्पिक शक्ति बन्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ। अहिले पनि हाम्रा मतदातामा नजित्नेलाई किन मत दिने भन्ने मानसिकता छ। त्यति मात्र होइन, सरकार बनाउने दललाई जिताउनुपर्छ भन्ने मान्यताले उत्तिकै बलियोसँग जरा गाडेको छ।

निर्वाचनमा बलियो उपस्थिति जनाएर पनि काम गर्न नसक्ने वा बेथितिमा लिप्त हुने दलप्रति मतदाताको धारणा हरेकपटक फेरिएको देखिन्छ। अहिले नेकपालाई भोट दिनेले अर्कोपटक कांग्रेसलाई दिन्छ। प्रतिबद्ध मतदाताबाहेक पनि कहिले यता कहिले उता गरिरहने जनसमूह निकै ठूलो छ। अहिले नेकपालाई मत दिएका धेरै व्यक्तिले अर्कोपटक कांग्रेसलाई मत दिए भने फरक पर्ने छैन।

प्रायः हाम्रा मतदाता सहानुभूतिशील पनि छन्। पतिको निधनपछि उम्मेदवार बनेका प्रायः महिलाले निर्वाचन जितेका छन्। अहिले कास्की २ मा विद्या भट्टराईलाई फेरि त्यही सहानुभूतिको मतसमेत आएको छ। त्यसो त रवीन्द्र अधिकारीले निरन्तर जितेको यो क्षेत्र उनका निम्ति गाह्रो थिएन। तैपनि अहिलेको अवस्थामा उनीबाहेक अन्य उम्मेदवार उठाइएको भए स्थिति फरक आउन पनि सक्थ्यो। यसपटक कांग्रेसले जितेका ठाउँमा नेकपा र नेकपाले जितेका स्थानमा कांग्रेसको विजयले पनि दलहरूलाई सोच्न बाध्य पारेको हुनुपर्छ। सरकारमा बसेर गरिएका काम चित्त बुझाउन नसक्ने सर्वसाधारणले आफ्नो मताधिकार परिवर्तन गर्ने चलन हामीकहाँ बलियो छ।

मुलुकको आवश्यकता सम्बोधन गर्न सक्ने गरी बन्ने अन्य शक्तिका निम्ति ठाउँ छ, तर विश्वासिलो बनेर काम गर्न थप मिहिनेतकै खाँचो छ। विग्रह होइन, विकल्पको बाटो दिने हो भने अझै सम्भव छ।

यसकारण दल निर्माण प्रक्रियामा ध्यान पुग्यो भने वैकल्पिक शक्तिका रूपमा स्थापना हुन कुनै गाह्रो छैन। साथै आम विश्वास आर्जन गर्न सकिएन भने आज ठूलो शक्तिका रूपमा रहेकाहरू विलिन भएर पनि गएका छन्। अहिलेका दुई दल नेकपा र कांग्रेसको उद्भव र विकासलाई हे-यो भने पनि वैकल्पिक दल निर्माणका निम्ति बाटो थाहा हुन्छ।

यो मुलुक कुनै बेला ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ले भरिएको थियो। २०४६ पछि कांग्रेसमय थियो– मुलुक। अहिले जोसुकै नेकपाजस्ता देखिन्छन्। तर, समयानुकूल काम भएन, दम्भ मात्र देखिन थाल्यो भने मतदाताले सरक्कै आफूलाई परिवर्तन गर्छन्। २०६४ को निर्वाचनमा जताततै माओवादी देखिएकै हो। त्यो उपलब्धिबाट सिकेर फुकीफुकी अघि बढेको भए माओवादीले एमालेमा प्रवेश गरी नेकपा बनाउनुपर्ने थिएन।

त्यसैले यहाँको मत परिणामबाट नआत्तिई अघि बढ्ने शक्तिका निम्ति अझै ठाउँ छ। अहिलेको निर्वाचनले जसरी नेकपा र कांग्रेस दुवैलाई सन्देश दिएको छ, त्यसैगरी अर्को राजनीतिक शक्ति बनाउन चाहने साझा होस् वा विवेकशीलले पनि सिक्नु जरुरी छ। कुनै बेला ‘लौह पुरुष’का रूपमा परिचित कांग्रेस नेता गणेशमान सिंहले समेत काठमाडौंका जनतालाई ‘भेंडा’ भनेका थिए। तर, यहाँका मतदाताले नानीमैया दाहालजस्ता उम्मेदवारलाई पञ्चायतका बेलामा समेत विजयी गराई तत्कालीन सत्ताको परीक्षा लिएकै हुन्। पञ्चायतको जगजगीका बेला ‘जनपक्षीय’ उम्मेदवार विजय गराउने पनि नेपाली जनतै हुन्।

नयाँ राजनीतिक शक्ति निर्माणको बाटोमा रहेका व्यक्तिहरूका निम्ति नेपाल अत्यन्तै उर्वर छ। अहिले ‘जुन जोगी आए पनि कानै चिरेका’ मनस्थितिमा रहेका मतदाता फेरि पनि तिनैलाई आलोपालो गरी मत हालिरहेका छन्। विकल्प पाए भने तिनले अन्य शक्तिलाई स्थापना गर्ने नसोच्लान् र ? अहिलेको राजनीतिक प्रणालीलाई परिपक्व बनाउने र आम नागरिकलाई सुखी पार्न सक्ने गरी आउने शक्तिका निम्ति अझै ठाउँ छ।

मतदाताले मःमः मात्रै ‘अर्डर’ गरे भनेर निराश हुनुभन्दा त्यसको विकल्प दिन तत्पर हुनुपर्छ। अहिलेका दुई राजनीतिक शक्ति– नेकपा र कांग्रेस एकरातमा बनेका होइनन्, उनीहरू यो स्वरूपमा आउन सिंगै पुस्ताले जीवन उत्सर्ग गरेको छ। अहिले ७० को दशकमा पुग्न लागेका व्यक्तिहरू यी दलका नेता छन्। मुलुकको आवश्यकता सम्बोधन गर्न सक्ने गरी बन्ने अन्य शक्तिका निम्ति ठाउँ छ, तर विश्वासिलो बनेर काम गर्न थप मिहिनेतकै खाँचो छ।
विग्रह होइन, विकल्पको बाटो दिने हो भने अझै सम्भव छ।

प्रकाशित: १७ मंसिर २०७६ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App