coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

विदेशी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण

बनेपा – नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (नेसनल लाइसेन्सर एक्जामिनेसन फर भेटेरिनरियन्स–एनएलई २०७६/७७) मा विदेशका भेटेरिनरी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका छन्।

परिषद्ले नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५७ अनुसार चालु आर्थिक वर्षको प्रथम चौमासिकमा नेपाली कलेजका ४६ जना र विदेशमा पढेका १५ गरी ६१ जनासँग नाम दर्ता परीक्षा लिएको थियो। परीक्षामा विदेशी कलेज पढेर सहभागी भएका १५ जनामध्ये ४ जनामात्रै उत्तिर्ण भएका छन्। अनुत्तिर्ण हुनेमा अधिकांश बंगलादेशस्थित विभिन्न कृषि विश्वविद्यालयमा अध्ययन सकेका विद्यार्थी हुन्।

परीक्षामा बंगलादेशको हाजी मोहम्मद दानेस साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटीबाट पशु चिकित्सा कोर्ष (बिभिएस्सी एण्ड एएच) उत्तीर्ण ११ जना सहभागी भएकामा ४ मात्रै परीक्षामा उत्तीर्ण भएका छन्। यस्तै, बंगलादेशकै शेर–ए–बांग्ला एग्रिकल्चरल युनिभर्सिटीका १ जना, पातुयाखली साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटीका २ जना र युनिभर्सिटी अफ राजशाहीका १ जना विद्यार्थीले परीक्षा उत्तीर्ण गर्न सकेनन्।

नेपालकै भेटेरिनरी कलेजबाट पशु चिकित्सा कोर्स (बिभिएस्सी एण्ड एएच) उत्तीर्ण भएका विद्यार्थीको परीक्षामा मिश्रित परिणाम आएको छ। निजी क्षेत्रबाट सञ्चालित हिमालय कलेज अफ एग्रिकल्चरल साइन्सेज एण्ड टेक्नालोजी (हिकास्ट) का २७ जना विद्यार्थी नाम दर्ता परीक्षामा सहभागी भएकामा १४ जना मात्रै उत्तीर्ण भएका छन्। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिकास्टका ५१.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। त्रिवि अन्तर्गतको इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल साइन्सेजबाट सहभागी ५ विद्यार्थीमध्ये ३ जनाले उत्तीर्ण गरेका छन्। ‘लाइसेन्स परीक्षामा औसत ५० प्रतिशत उत्तीर्ण हुने गरेका छन्। यस पटक ६० प्रतिशत उत्तीर्ण भएछन्,’ डिन डा. केशवराज अधिकारीले भने।

पूर्वाञ्चलकै सम्बन्धन प्राप्त नेसनल पोलिटेक्निक इन्स्टिच्युटका १३ विद्यार्थी सहभागीमध्ये ८ जना (६१.५४ प्रतिशत) ले परीक्षा उत्तीर्ण गरेका छन्। कृषि तथा वन विश्वविद्यालयबाट सहभागी एक जना विद्यार्थी उत्तीर्ण भएका छन्।

पछिल्लो समय मुलुकमा पशु तथा पंक्षीपालनमा व्यावसायिकता भएसँगै पशु चिकित्सकको माग पनि बढ्दो छ। तर, यहाँका कलेजले सीमित संख्यामामात्रै विद्यार्थी भर्ना लिने भएकाले अधिकांश विद्यार्थीको रोजाईमा भारत लगायतका मुलुक पर्ने गरेको नेपाल भेटेरिनरी एसोसियसनका पूर्वकोषाध्यक्ष डा. सुदीप हुमागाईंको भनाई छ। उनी भन्छन्, ‘भारतमा सरकारी भेटेरिनरी कलेजमा मात्रै पढाई हुन्छ। अधिकांश नेपाली त्यहाँ पढ्ने भनेको छात्रवृत्तिमा मात्रै हो। केही निजी कलेजमा पढाइ भए पनि नेपालमा एमबिबिएसमा लाग्ने शुल्कभन्दा दोब्बरजस्तै पर्न आउँछ। त्यही भएर नेपाली विद्यार्थी बंगलादेश, चीन, पाकिस्तान लगायतका मुलुकमा नगई सुख छैन,’ उनले भने।

तर, यसरी विदेश पढ्न जाने विद्यार्थीका लागि नेपाल पशु चिकित्सा परिषद्ले मेडिकलमा झैं यहाँ प्रवेश परीक्षा उत्तीर्ण गरेरमात्रै जानुपर्ने बाध्यकारी बनाउन सकेको छैन। यतिमात्रै नभई हाल मुलुकमा त्रिवि, पूर्वाञ्चल र कृषि तथा वन विज्ञानले लिँदै आएको प्रवेश परीक्षा प्रणालीसमेत सामुहिक (कम्बाइन्ड इन्ट्रान्स) बनाउन सकेको छैन।

‘तीन वर्ष अघिसम्म नेपालको पशु चिकित्साको क्षेत्रमा प्रभावकारी नियमन हुन सकेको थिएन। पढाइका साथै अभ्यासको समेत गुणस्तर खस्केको अवस्था थियो। यतिखेर बिस्तारै सुधार भइरहेको छ, सकारात्मक प्रभाव देखिन थालेका छन्। तर, अहिले नै मेडिकल शिक्षा र मेडिकल काउन्सिलसँग दाँजेर हेर्न मिल्दैन,’ परिषद्का रजिस्ट्रार डा. नारायणप्रसाद घिमिरेले भने।

विगतमा अटेरी भएका भेटेरिनरी कलेजलाई बिस्तारै बाटोमा ल्याएको उनले दृष्टान्त दिए। उनले भने, ‘पढाइको गुणस्तरमा जोड दिएका छौं। न्यूनतम मापदण्ड पूरा नगरी बिभिएस्सी एन्ड एच पढाइरहेका कलेजलाई विद्यार्थी भर्नामा सशर्त स्वीकृति दिएका छौं। मन्त्रीस्तर (शिक्षा)बाटै निर्णय गराएर मापदण्ड पूरा गर्नका लागि निर्देशन दिएबाट कलेजले पूर्वाधारलगायत तोकिएको मापदण्ड पूरा गर्न थालिसकेका छन्,’ घिमिरेले थपे।

नेपालकै कलेजमा पढाईको गुणस्तरमा सुधार आएसँगै लाइसेन्स परिक्षामा राम्रो नतिजा आउने पनि उनको भनाई छ। उनले भने, ‘हामीले प्रथम वर्षबाटै अनुगमनलगायत शिक्षण सिकाई क्रियाकलापमा सूक्ष्म ढंगले निगरानी गर्दै आएका छौं। यही क्रमले तेस्रो वर्ष पुगेको छ। पाँचौ वर्ष पुग्दासम्ममा पढाइको गुणस्तरमा अहिलेझैं गुनासो आउने छैन,’ घिमिरेले दाबी गरे।

परिषद्ले प्रत्येक चौमासिकमा नाम दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) लिने गरेको छ। परिषद्मा हालसम्म १ हजार २ सय ८३ जना दर्तावाला चिकित्सक छन्।

प्रकाशित: १७ मंसिर २०७६ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App