coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भित्रियो ब्रोइलरको नयाँ ग्रान्ड प्यारेन्ट

इन्डियन रिभर मिट ग्रान्ड प्यारेन्ट (जिपी) स्टक।

बनेपा - ब्रोइलर चल्लाको माउ (प्यारेन्ट स्टक) उत्पादनका लागि अमेरिकाबाट ग्रान्ड प्यारेन्ट (प्योरलाइन) चल्ला काभ्रेमा भित्रिएको छ। पाँचखाल–३, रामपुरस्थित पिबी पोल्ट्री फार्म प्रालिले एभियाजेन इन्कर्पोरेटेडको प्योरलाईन इन्डियन रिभर मिट ग्रान्ड प्यारेन्ट (जिपी) स्टक झिकाएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले काभ्रेमा थप जातको ब्रोइलर ग्रान्ड प्यारेन्ट भित्रिएको पुष्टि गरेको छ। ‘एभियाजेनको उत्पादन इन्डियन रिभर मिट जिपी नेपाल भित्रियो । हामीले उक्त फार्मलाई लाइन ‘ए,’ ‘बि,’ ‘सि’ र ‘डी’ का प्योरलाइन ल्याउनका लागि सिफारिश दिएका थियौं। फिल्डबाट प्राप्त जानकारी अनुसार फार्ममा जिपी धमाधम हुर्किरहेको छ,’ केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले भने।

फार्मले भाले र पोथी गरी ६ हजार तीन सय ७० वटा जिपी ल्याएको हो। यसबाट प्यारेन्ट स्टक (पिएस) उत्पादनका लागि अझै केही महिना लाग्ने छ। एभियाजेन इन्क अमेरिकाकै प्रत्यक्ष निगरानीमा फार्मले आइआर जातका ब्रोइलर प्यारेन्ट उत्पादन गर्ने भएको हो। नेपालको पोल्ट्री क्षेत्र व्यावसायिक बन्दै गए पनि प्योर लाइनका उत्पादक बहुराष्ट्रिय ब्रिडर कम्पनीले नेपाली ह्याचरी उद्यमीलाई प्यारेन्ट स्टक किन्नका लागि भारतलगायत अन्य मुलुकमा आश्रित गराउँदै आएका थिए।

सन् २०१३ मा पाँचखालमै कब नेपाल प्रालिले पहिलो पटक अमेरिकाको कब–भान्ट्रेस इन्कबाट ग्रान्ड प्यारेन्ट (प्योरलाइन) कब–५०० भिœयाएपछि नेपालकै उत्पादनले आयातित प्यारेन्ट स्टकको संख्यालाई विस्थापन गरिरहेको छ। त्यसपछिका ६ वर्षसम्म कब भान्ट्रेस र अन्य कम्पनीकै पनि ग्रान्ड प्यारेन्ट स्टक मुलुकमा भिœयाउन नेपाली उद्यमीले हिम्मत गरेका थिएनन्। कब नेपालकै संस्थापकमध्येका एक जना एवं प्राविधिक निर्देशकसमेत रहेका डा जीवनलाल अमात्य सो समूहबाट अलग्गिएलगत्तै नेपालमा नयाँ जातको जिपी भिœयाएका हुन्।

पिबी पोल्ट्री फार्ममा पोल्ट्री व्यवसायी सेरिन अमात्य, उमेशप्रकाश श्रेष्ठ, भरतबहादुर पाण्डे, गंगाप्रसाद सुवाल र सुरेशप्रकाश श्रेष्ठले लगानी गरेका हुन्। एभियाजेनका रोश–३०८, आर्बोर एकर्स र इन्डियन रिभर गरी तीनवटा जिपी (प्योरलाइन) संसारभर प्रख्यात छन्। विगतमा ह्याचरीले आइआर प्यारेन्ट श्रीलंकाबाट नेपाल ल्याउँथे। हालैमात्र नेपालकै एक ह्याचरीले बेलायतबाट आर्बोर एकर्स जातको ३० हजार प्यारेन्ट स्टक झिकाएको छ। नेपालका ह्याचरी उद्यमीले यी तीनवटै जातका प्यारेन्ट स्टक (माउ) विदेशबाट झिकाएर एक दिने ब्रोइलर चल्ला उत्पादन गर्दै आएका थिए।

उता, ब्रोइलर प्यारेन्टमा परनिर्भरता घटाउने उद्देश्यले सुरु भएको कब नेपाल प्रालि पनि आक्रामक बजार योजनामा लागेको छ। सुरुमा पाँचखाल, बालुवामा जिपी राखेको कम्पनीले धुलिखेल–८, रयालेवेंशीमा समेत फार्मलाई विस्तार गरेको छ। यस कम्पनीले पनि कब युरोप लिमिटेडबाट हालैमात्र कब–५०० जातका १७ हजार १० वटा जिपी (प्योरलाइन) झिकाएको छ। कब–भान्ट्रेस अमेरिकाको प्रत्यक्ष निगरानीमा कम्पनीले प्यारेन्ट चल्ला उत्पादन गर्दै रहेको छ। नेपाल ह्याचरी उद्योग संघका अनुसार नेपालमा ब्रोइलर (मासुको लागि) र लेयर्स (अण्डाका लागि) चल्ला उत्पादन गर्ने दुई सयको हाराहारीमा ह्याचरी उद्योग रहेको छ। ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचरी नै कब नेपालसहितका जिपी फार्मका मुख्य ग्राहक हुन्।

संघका अनुसार आर्थिक वर्ष ०७५/७६ मा ह्याचरीले नेपालसहित भारत, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, श्रीलंका, न्युजिल्यान्ड, अस्टे«लिया, फ्रान्स, जर्मनी, बेलायतबाट प्यारेन्ट स्टक किनेका छन्। यीनमा कब–५००, कब–५०० म्याक्स, भेनकब–४००, रोश–३०८, इन्डियन रिभर मिट, हब्बर्ड, कलर ब्रोइलर रहेको छ। सो अवधिमा ह्याचरीले १९ लाख ६४ हजार सात सय ५५ गोटा प्यारेन्ट ल्याएकामा कब नेपालको उत्पादन ६ लाख ६३ हजार गोटा रहेको छ।

यो नेपालका ह्याचरीले पालेका प्यारेन्ट स्टकको करिब ३४ प्रतिशत हुन आउँछ। यही हिसाबले पनि कब नेपालबाट भनेजति प्यारेन्ट स्टक पाउन नसक्दा ह्याचरीले विदेशी जिपी फार्मको मुख ताक्नु परेको अवस्था प्रष्ट हुन्छ। हालैमात्र अर्थ मन्त्रालयले ह्याचिङ अण्डामा लाग्ने महसुलमा भारी मात्रामा छुट दिएपछि यहाँका ह्याचरी उद्यमी जिपी भएका देशहरुबाट ह्याचिङ अण्डा ल्याएर यहीँ प्यारेन्ट स्टक उत्पादन गर्ने योजनामा समेत जुटेका छन्।

प्रकाशित: १७ मंसिर २०७६ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App