८ वैशाख २०८१ शनिबार
कला

महिलाको स्वतन्त्रताको वकालत गर्दै ‘भुसको आगो’

काठमाडौं - विगत १० वर्षदेखि नेपाली रंगमञ्चमा सक्रिय शैली थिएटरले आफ्नै नाटकघर सञ्चालनमा ल्याएको छ। रंगकर्मी र रमेश बुढाथोकीले आइतबार राजधानीको रातोपुलस्थित शैली थिएटरको नयाँ नाटघरको उद्घाटन गरे। ‘विगत १० वर्षदेखि नेपाली रंगमञ्चमा सक्रिय शैलीले आफ्नै नाटकघर सञ्चालनमा ल्याएको छ। आगामी दिनमा यसले आफ्नै नाटकघरमा स्वतन्त्र रुपमा राम्रा नाटकहरु मञ्चन गर्नेछ भन्ने आशा गरेको छु,’ नाटकघर उद्घाटनपछि रंगकर्मी बुढाथोकीले भने।

रंगकर्मी बद्री अधिकारीले शैली थिएटरले तयार गर्ने नाटकमा विविधता आउने अपेक्षा गरे। ‘कलाकारले आफ्नो कला र सिर्जनालाई प्रस्तुत गर्न मञ्चको आवश्यक पर्ने हुँदा शैली थिएटरले आफ्नै नाटकघर सञ्चालनमा ल्याएका छन्। यो सम्पूर्ण रंगकर्मीहरुको लागि खुसीको कुरा हो,’ उनले भने।

विसं. २०६५ सालमा स्थापना भएको शैली थिएटरले नाटकघर उद्घाटनलगत्तै साहित्यकार गोविन्द बहादुर मल्ल ‘गोठाले’ द्वारा लिखित ‘भुसको आगो’ नाटक मञ्चन गरेको थियो। विसं. २०१३ सालमा लेखिएको सो नाटकमा नेपाली समाजभित्र रहेको विभेद र कुप्रथाको विषयलाई समेटिएको छ। नाटकमा देखिएका विभिन्न पात्रहरुले नेपाली समाजमा रहेको विभिन्न प्रथा र महिलामाथि हुने विभेदको चित्रण गरेका थिए। एकल महिला, बोक्सी प्रथादेखि बरालिएर हिडेका केटाकेटीको अभिव्यक्ति नाटकमा रहेको छ।

गाउँले परिवेशमा आधारित नाटकमा देखिने पात्रहरुको कथा र पृष्ठभूमि फरक भएपनि मर्म उस्तै थियो। नाटककी पात्र उर्मिला श्रीमानले अर्को विवाह गरेको कारण आफ्नो जीवन माइतीमा बिताउन बाध्य छिन्। नेवारी पृष्ठभूमिका केन्द्रित सो नाटकमा महिलाको स्वतन्त्रतालाई प्राथमिकता दिइएको छ। महिलाको स्वतन्त्रताको निम्ति उनीहरुले घरभित्रको एकतन्त्रको अन्त्य गर्नुपर्ने सन्देश समावेश गरिएको छ। श्रीमानबाट एक्लो भएपछि उर्मिलालाई समाजले विभिन्न आरोप लगाएर उपनाम दिएको छ।

नाटकमा चार पुस्ताका महिलाहरुको सामाजिक मानसिक अवस्थालाई चित्रण गरिएको छ। पुरानो सोचलाई जबर्जस्ती भत्काउन सिर्जना भएको द्वन्दात्मक अवस्थामा नाटक केन्द्रित रहेको छ। नाटककार गोविन्द बहादुर मल्ल गोठालेले विसं. २००७ सालको प्रजातन्त्रको स्थापनापछिको पृष्ठभूमिमा नाटकमा तयार पारेका थिए। एक सय चार वर्षसम्म राणाहरुले शासन गर्दा समाजमा सिर्जना भएको विभिन्न द्वन्द्वको अनुभव समेटिएर निर्देशक नवराज बुढाथोकीले नाटक तयार गरेका हुन्।

‘पितृसत्तात्मक समाजलाई महिलाहरुले हेर्ने दृष्टिकोण नाटकले देखाउन खोजेको छ। यसमा त्यो समयको र अहिलेको समाजको महिलाहरुलाई हेर्ने दृष्टि समेटेको छु,’ निर्देशक बुढाथोकीले भ, ‘पितृसत्तात्मक समाजले जगडेको परिस्थितिमा सुधार नहुँदा अहिले पनि नाटकको सान्दर्भिक छ।’ श्रीमानबाट छुटेर भित्रभित्रै जलेर भुसमा बल्न लागेको आगोझैं एक महिलाको कथा उनको समर्थन र सम्मानको भावलाई नाटकमा समेटिएको छ।

कार्यक्रममा रंगकर्मी विजय विस्फोटले बालबालिकालाई रंगमञ्च लाग्ने प्रेरित गरिरहेको शैली थिएटरले आफ्नै नाटकघरमार्फत् नयाँ सिर्जनामा जोड दिने बताए। नाटकमा सरस्वती अधिकारी, सगुन पोखरेल, अस्मिता खनाल, चादँनी शाही, सृष्टि आचार्य र निमा पाण्डे लगायत कलाकारले अभिनय गरेका थिए। नाटक शैली थिएटरको रातोपुलस्थित नाटकघरमा आगामी मंसिर ३० सम्म मञ्चन हुनेछ।

प्रकाशित: १७ मंसिर २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App