८ वैशाख २०८१ शनिबार
समाज

जिल्ला प्रहरी कार्यालयमा प्राथमिक उपचार कक्ष

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्सामा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगन्ज महानगरपालिका, प्रभु अस्पताल र माट्रिका आई फाउन्डेसनको सहकार्यमा सोमबार एक कार्यक्रमबिच वीरगन्ज महानगरप्रमुख विजय सरावगीले सो उपचार कक्षको उद्घाटन गरेका हुन्।

प्राथमिक उपचार कक्षमा असिस्टेन्ट हेल्थ वर्करलाई निश्चित दैनिक रूपमा सेवामा खटाइने प्रभु अस्पतालले जनाएको छ। सामान्य चेकजाँचका लागि समेत जिल्ला प्रहरी कार्यालयभित्र हिरासतमा रहेका थुनुवालाई प्रहरी टोलीसहित नारायणी अस्पताल लैजानुपर्ने र भिडभाडबिच उपचार गराउनुपर्ने बाध्यताको अन्त्य भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। कहिलेकाहीँ यसमा ढिलाइ हुँदा अप्ठ्यारो खप्नुपरेको थुनुवाको गुनासोसमेत आउँथ्यो। प्रभु अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले सामान्य चेकजाँचसँगै स्वास्थ्यसम्बन्धी आवश्यक सरसल्लाहसमेत यस केन्द्रबाट प्रदान गरिने बताए। सामान्य रक्तस्राव रोक्न, तत्काल ब्यान्डेज गर्न, घाउको ड्रेसिङ, टिटनासको सुई लगाउन, ब्लड प्रेसर तथा रक्तमा मधुमेहको मात्रा जाँचलगायत सामान्य उपचार यस केन्द्रमा हुने बताइएको छ। केन्द्रबाट केही प्रकारका औषधिसमेत निःशुल्क उपलब्ध गराइने भएको छ। थुनुवा मात्र नभई अन्य सेवाग्राही र प्रहरी कर्मचारीले समेत केन्द्रबाट लाभ लिनसक्ने नगरप्रमुख सरावगीले बताए।

प्रकाशित: १७ मंसिर २०७६ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App