coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेटमा कीर्तिमान

पोखरा - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको माल्दिभ्सलाई १० विकेटले पराजित गर्ने क्रममा नेपाली महिला टोलीले पोखराको मैदानमा सोमबार दुई कीर्तिमान बनाएको छ।  नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी अन्जली चन्दले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नयाँ कीर्तिमान बनाउँदा नेपालले ५ बलमै जित निकाल्दै अर्को विश्व कीर्तिमान बनायो। अन्जलीसँगै सरस्वती कुमारीले पनि सागमार्फत अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेकी थिइन्।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५ रनको लक्ष्य दिएको माल्दिभ्स टोलीलाई अनुभवी नेपाली टोलीले सस्तैमा पवेलियनको बाटो देखायो। लेफ्ट स्पिनर अन्जलीले २.१ ओभरमा दुई मेडन राख्दै ६ विकेट लिइन्। यो अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सबैभन्दा उत्कृष्ट स्पेल  हो।

टस जितेर व्याटिङमा उत्रिएको माल्दिभ्सले पोखराको मैदानमा १०.१ ओभर मात्रै खेल्न सक्यो। ८ खेलाडी डक आउट भए। दुई ब्याट्सवुमनले मात्रै खातामा स्कोर चढाए। ओपनर हाम्जा नियाजले गतिलो सुरुआत गर्न खोजिन्। ११ बल खेल्दै २ चौकाका साथ ९ रन खेल्ने क्रममा रनआउट  बनिन्। अर्की ओपनर साजा फाथीमा भने एक बल खेल्दै रन लिन खोज्दा रनआउट भएपछि सस्तैमा पवेलियन फर्किन्। तेस्रो विकेटको लागि सुमाया अब्दुल ६ बल खेल्ने क्रममा शून्य रनमै आउट भइन्। उनलाई करुणा भण्डारीको बलमा सीता रानामगरले क्याच  गरेकी थिइन्।

हाप्सा अब्दुल्लाले ४ रन जोडिन्। उनलाई पनि भण्डारीले नै आउट गरिन्। बाँकी खेलाडी शून्य रनमै आउट हुँदा माल्दिम्स १६ रनमा समेटिएको थियो। १७ रनको कमजोर लक्ष्यलाइ पूरा गर्न नेपालले केवल एक ओभरसमेत खेलेन। केवल ५ बलमा लक्ष्य प्राप्त ग¥यो। यो पनि नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकीर्तिमान रहेको म्याच रेफ्री सत्यजित सरकारले बताए। ओपनिङ स्ट्राइकमा रहेकी काजल श्रेष्ठले ३ चौका हिर्काएपछि सहज जित निस्किएको थियो।

साम्मा अलीको पहिलो बललाई काजलले चौका हिर्काउँदा अम्पायरले नो बलको संकेत गरे। अर्को बलमा फेरि उनले चौका हिर्काइन्। काजलले ५ बल खेल्दै ३ चौका हिर्काइन्। ओपनर सीता मगरले भने १ बल मात्रै खेल्न पाइन्। नटआउट रहेकी उनले रन भने हिर्काइनन्। बलिङमा २ वाइड, १ नो बल, एक लेगबाई पाएपछि जित सहज निस्कियो।

प्रकाशित: १७ मंसिर २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App