८ वैशाख २०८१ शनिबार
समाज

चार दिन हिरासतमा राख्न अनुमति

इटहरी – बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ। पक्राउ गर्न प्रहरी खटिएपछि विराट नर्सिङ होम विराटनगरको आइसियुमा भर्ना भएका उनलार्ई सोमबार बिहान पक्राउ गरी अदालतमा पेस गरिएको थियो। न्यायाधीश धर्मराज पौडेलले गिरीलाई चारदिने अनुसन्धानको म्याद दिएका हुन्। बिरामी भएकाले अस्पतालमा पनि जँचाउन र अनुसन्धान पनि गर्न अदालतले आदेश दिएको जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले जानकारी दिए।

अदालतबाट म्याद थपेलगत्तै कृष्णदासलाई पुनः विराट नर्सिङ होममै उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जनाए। अस्पतालमा प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ। उनीविरुद्ध बुधबार जाहेरी दर्ता भएपछि शुक्रबार अदालतबाट प्रहरीले पक्राउ अनुमति पाएको थियो। जाहेरी दर्ता भएको भोलिपल्ट बिहीबारदेखि नै गिरीमाथि अनुसन्धानका लागि टोली खटाइएको थियो। त्यसको सुइँको पाएलगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होममा भर्ना भएका थिए।

पक्राउ गर्ने योजना बनाएर आइतबार बिहानै अस्पताल पुगेको प्रहरी टोली आइसियुमा भर्ना भइसकेको अवस्थामा उनलाई भेट्टाएपछि त्यत्तिकै फर्किएको थियो। सोमबार बिहानैदेखि आफ्ना अनुयायीलाई भेट दिएपछि प्रहरीले उनलाई आइसियुबाटै पक्राउ गरेर एम्बुलेन्समार्फत सुनसरी ल्याएको हो। उनको मुटु र छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ।

गिरीले आफ्नै अनुयायी महिलामाथि कात्तिक ४ गते आश्रममै भेट्न बोलाएर बलात्कार गरेको उजुरी परेको छ।

गिरीले आफ्नै अनुयायी महिलालाई कात्तिक ४ गते आश्रममै भेट्न बोलाएर बलात्कार गरेको उजुरी परेको छ। काठमाडौं घर भएकी र दुई छोराछोरीकी आमा रहेकी ती महिलालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको हो। सुरुमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई त्यसको जिम्मा दिएको हो।

कृष्णदासको पुख्र्यौली घर सोलुखुम्बुको जुबु हो। उनको जन्म २०३१ फागुन १९ गते भएको हो। उनी केही समयअघि वैष्णव कृष्णदास महाराज भनेर चिनिँदै आए पनि पछिल्लो समय सिद्धबाबा जगत्गुरु कृष्णदासजी महाराजका रूपमा चिनिन्थे। उनी आफ्नो पुख्र्यौली थलो सोलुखुम्बुमै कक्षा ७ मा फेल भएपछि बिरक्तिएर भारततिर लागेको बताइएको छ। पछि भारतमा कतिसम्मको अध्ययन गरे भन्ने यकिन छैन।

उनी २०६३ सालदेखि चतरामा बस्न थालेका हुन्। सुरुमा उनलाई जगत्गुरु बालसन्तले सहयोग गरेका थिए। पछिल्लो समय भने उनीहरूबीचको सम्बन्ध चिसिएको जनाइएको छ। उनले राष्ट्रपति, सरकार फेरिएपछिका प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, व्यापारीलगायतसँग पहुँच बढाएर आफ्ना गतिविधि गर्दै आएको स्थानीय बताउँछन्।

प्रकाशित: १७ मंसिर २०७६ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App