८ वैशाख २०८१ शनिबार
खेल

तस्बिरमा तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

काठमाडौं- नेपालले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको पुम्से विधातर्फ कुल सात स्वर्ण जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो।

त्यस्तै श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो। नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँदा पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले स्वर्ण जितेका छन्। नेपालले महिला टिम पुम्सेतर्फ १७–२९ वर्षउमेर समूह (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि उमेरसमूह (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई)मा स्वर्ण जित्न सफल भएको हो। नेपालका लागि आयषाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्फ स्वर्ण दिलाइन्।

व्यक्तिगत विधातर्फ आयषाले ८.९४० र भारतकी प्रजक्ता प्रकाशले ७.६४० स्कोर ल्याइन्। यस विधामा श्रीलंकाकी गायत्री सन्दामर्ली (७.७५५०) ले र निसा महरुन (७.३६०) ले कांस्य पदक जितिन्। २९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडी (८.१६)ले पाकिस्तानका महरुन र सहबाज अहमदको जोडी (७.८६)लाई पछि पारेका थिए। यस विधामा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी (७.८६०) तथा बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते।

त्यसैगरी नेपालका लागि महिला पुम्सेतर्फ पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए। सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन्। सिनाले ८.२५० स्कोर ल्याउँदा भारतकी रूपमा बायोरले ८.१३० स्कोर ल्याइन्। यस विधामा श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन्। २३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण विजेता पार्वतीले ८.२५० अंक ल्याउँदा रजत विजेता श्रीलंकाकी रनपतिपुरा जयविरालले ८.१४० अंक ल्याइन्। यस विधामा बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जितिन्। सोही उमेर समूहमा नेपालका कमलले स्वर्णका जित्दा ८.२७० अंक ल्याए। भारतका राहुल जैनले ८.१८० ल्याउँदा रजत पदकमै खुम्चिए।

यस विधामा श्रीलंका निसाकां जयसिंघे (८.१५) र बंगलशादेशका मेहदी हसन (८.०६०) ले कांस्य पदक जिते। १७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए। कृष्णबहादुरले ८.२०० ल्याउँदा श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले ८.२५० अंक ल्याए। यस विधामा भारत लालथला मुइनपुई (८.१२०) र बंगलादेशका कमरुल इस्लाम (८.०९०) ले कांस्य पदक जितेका छन्। पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्मा(८.११०)ले स्वर्ण जित्दा श्रीलंकाका लक्षमन एन्ड्रिस (८.११०)लाई पराजित गरे। यस विधामा नेपालका रेजिन धिमाल (८.०१०) र भारतका गाङफुङ गाङ्स (८.०३०) ले कांस्य पदक प्राप्त गरे। १७ देखि २३ वर्ष उमेरसमुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते। २३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भने भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले सफलता दिलाए। यस विधामा श्रीलंकाकाले रजत प्राप्त गर्दा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते। (सबै तस्बिर दिपेन्द्र राेक्का)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App