coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ठूलो लक्ष्यमा नेतृत्वको परीक्षा

काठमाडौं–  श्रीलंकामा मंसिर मसान्तबाट शुरु हुने एसिसी यु–१९ एसिया कपमा नेपालले सन्दिप लामिछानेको कप्तानीमा खेल्नेछ भने प्रशिक्षकमा विनोद दास हुनेछन् । संयोग मान्नु पर्छ, बिहीबार सुरु हुने प्रतियोगितामा सन्दिप कप्तान तथा विनोद मुख्य प्रशिक्षकको भुमिकामा पहिलो पटक देखिनेछन् ।

विनोदले नेपालको क्रिकेट टोलीलाई नेतृत्व प्रदान गर्न लागेको यो पहिलो पटक भने होइन । उनले सिनियर टोलीमै बलिङ प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन् । सहायक प्रशिक्षकको रुपमा काम गरेको अनुभव पनि उनीसँग छ । त्यसअघि कप्तानका रुपमा उनले युवा टोली हुँदै लामो समय राष्ट्रिय टोलीलाई पनि नेतृत्व प्रदान गरे । त्यसैले क्रिकेटको मैदानमा हुने कुनै पनि जिम्मेवारी विनोदका लागि नौलो हुने छैन । तर मुख्य प्रशिक्षकका रुपमा पहिलो पटक पाएको जिम्मेवारी भने उनका लागि अवसर र चुनौती दुवै हुन् । किनकी फरक करियरमा यो उनको परिक्षा हुनेछ ।

सन्दिपले यसअघि नेतृत्वको मौका पाइसकेका छैनन् । तर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई चिनाउन र जिताउन महŒवपूर्ण भुमिका निर्वाह गरिसकेका स्टार हुन्, उनी । यसैवर्ष जनवरीमा बंगलादेशमा सम्पन्न यु–१९ विश्वकपमा नेपालले आठौं स्थान हासिल गर्दा लेग स्पिनर सन्दिपको भुमिका महŒवपूर्ण थियो । आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएका सन्दिप प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने प्रतिस्पर्धामा नामिबियाका फ्रिट्ज कोइट्जेभन्दा १ विकेटले मात्र पछि परे । सन्दिपले १४ विकेट लिएका थिए ।

कप्तानको रुपमा नेतृत्वको जिम्मा पाउँदा सन्दिप उत्साहित छन् । आत्मविश्वासी उनी भन्छन्, ‘सबै खेलाडी आफैमा कप्तान हुन् । तैपनि अलि बढी जिम्मेवार चाँही भने बनाउदो रहेछ ।’

२०१२ मा मलेसियाबाट शुरू भएको युवा एसिया कपको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा भारतले पाकिस्तानसँग संयुक्त रुपमा उपाधि उचालेको थियो । दोस्रोमा पाकिस्तानलाई हराएर भारत च्याम्पियन बनेको थियो । दुवै संस्करणमा नेपालले समूह चरण पार गर्न सकेको छैन । पहिलो संस्करणमा मलेसियालाई १ सय ७ रनले पराजित गरे पनि पृथु बास्कोटाको कप्तानीमा रहेको नेपाल भारतसँग ८१ रन र पाकिस्तानसँग ८ विकेटले पराजित भएर घर फर्किएको थियो ।
युएईमा सम्पन्न दोस्रो संस्करणमा पनि यात्रा पहिलेको भन्दा फरक हुन सकेन । नेपालको समूहमा भारत, पाकिस्तान र युएई थिए । भुवन कार्कीको कप्तानीमा रहेको नेपालले युएईमाथि ४ विकेटको विजय हासिल ग¥यो । तर भारतसँग ९ विकेटले पराजित भयो भने पाकिस्तानलाई १ सय ३२ रनको नतिजा सुम्पियो ।

यसपाली पनि नेपाल सजिलो समूहमा छैन । घरेलु टोली श्रीलंका, साविक विजेता भारत र मलेसिया समूह ‘ए’ मा नेपालका प्रतिद्वन्द्वी हुन् । श्रीलंका र भारत दुवै टेस्ट खेल्ने देश हुन् । साथमा भारतसँग साविक विजेताको ट्याग हुनेछ भने श्रीलंकासँग घरमा खेल्न पाउने फाइदा हुनेछ । जसका कारण फेरी पनि समूह चरण पार गर्नु नेपालका लागि सहज हुने छैन । तर, प्रशिक्षक विनोद सम्भावनालाई नकार्न नसिकने बताउछन् । अघिल्लो संस्करणको तुलनामा टोली सन्तुलित बनेको बताउने विनोदले जुनसुकै प्रतिद्वन्द्वीलाई चुनौती दिन सक्नेमा विश्वस्त छन् । छोटो समयको तयारीका बाबजुद् टोलीलाई त्यसका लागि तयार पारेको उनको दावी छ ।

‘हो सहज नहुन सक्छ, तर सम्भावनै नभएको भने होइन । हामी सबैलाई जितेर फर्किन्छौं भन्न खोजेको होइन । तर खेलाडीले स्वभाविक प्रदर्शन गरे हाम्रो स्तरकालाई हराउनेछौं र टेस्ट राष्ट्रलाई पनि नजिकबाट चुनौती दिन सक्षम छौं,’ टोलीमा उत्साहको कमी नभएको बताउने विनोदको जवाफ थियो, ‘उमेर समूहले टेस्ट खेल्ने होइनन् । यो उमेरमा हामीबीच धेरै भिन्नता हुदैन । उनीहरु एउटा प्रणालीबाट आउने भएकाले मानसिक हिसाबले राम्रो हुन्छन् । यद्यपी, सबै परिस्थितीले साथ दियो भने उपाधि यात्रा असम्भव होइन ।’

विनोदको योजना मैदानमा लागू गर्न सन्दिप पनि प्रतिबद्ध छन् । ‘सब एक से एक छन् । एउटै खेलाडीमा भर पर्नु पर्ने अवस्था छैन,’ सन्दिपले भने, ‘बलिङमा नेपाल सधै राम्रो टोली हो । यस पटक ब्याटिङ पनि राम्रो छ । सबैले रन बनाइरहेका छन् ।’
भारतीय उपमहादिपमा पिचको अवस्था स्पिनरलाई सहयोगी मानिन्छ । नेपाल र श्रीलंकाको पिच अवस्थामा ठूलो भिन्नता हुनेछैन । त्यसमा आत्मविश्वासी देखिएका सन्दिप श्रीलंका र भारतीय टोलीबारे भन्छन्, ‘उनहरु पनि खेलाडी हुन्, हामी पनि । उनीहरुले केही बढी एक्पोजर पाएका होलान् । तर, उपलब्ध सुविधामा हाम्रो तयारी पनि राम्रो छ । पिच कन्डिसन स्पिनरका लागि सहयोगी छ । हामीसँग राम्रा स्पिनरहरु छन् । समग्रमा राम्रो टिम बनेको छ । समूह चरण पार गर्नु हाम्रो मुख्य लक्ष्य हो ।’

अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झन्डै साढे दुई महिना प्रशिक्षण गर्नुका साथै सिड्नीमा ग्रेड क्रिकेट खेलेको अनुभव बटुलेर फर्किएका सन्दिपबाट प्रशिक्षकले ठूलो आश गरेका छन् । अस्ट्रेलियाको अनुभवले सन्दिपको खेल बुझाईमा परिवर्तन आएको विनोदको विश्वास छ । हङकङमा स्थानीय प्रतियोगिता खेल्न जाँदा गरेको प्रदर्शनबाट प्रभावित भएर क्लार्कले उनलाई अस्ट्रेलियामा प्रशिक्षणको मौका दिएका थिए ।

‘पक्कै पनि फरक त देखिएको छ,’ विनोदले भने, ‘खेल अवस्थालाई उनले राम्रो विश्लेषण गर्न सक्छन् । परिस्थितीलाई कसरी सम्हाल्ने भनेर उनलाई थाहा छ । ज्ञान बढेको छ । पूरा टोलीले उनीबाट आशा राखेको छ । तर त्यसो भनेर हामीले उनलाई कुनै दबाब दिएको होइन । हामीले उनलाई खुलेर खेल्ने वातावरण मिलाएका छौं ।’

छोटो तयारी समय

नेपाली टोली एसिया कपका लागि वन्द प्रशिक्षण सिविरमा बसेको ३ साता पनि भएको छैन । त्यसैले प्रतियोगिता अघि टोलीलाई अभ्यास खेलका लागि समय पुगेन । सुरुबाटै २ टोली बनाएर आपसमा खेलेका खेल नै टोलीको अभ्यास खेलमा दर्ता भए । यसबीचमा नेपाली युवा टोलीले नेपाली सेना र पुलिस क्लबको टोलीसँग २–२ वटा अभ्यास खेल खेलेको छ ।
‘हामीसँग प्रविधिक पक्षमा छिर्न धेरै समय थिएन । त्यसका लागि कम्तिमा २ महिनाको समय चाहिन्छ । त्यसैले हामी सुरुबाटै खेलमा केन्द्रित भयौं,’ प्रशिक्षक विनोदले भने, ‘धेरै समय पाएको अझै राम्रो गर्न सकिन्थ्यो ।’
ट्यालेन्ट हन्टबाट खेलाडी छनोट

यसपाली खेलाडी छनोटमा फरक प्रक्रिया अपनाइएको थियो । विगतमा क्षेत्रीय टोली बनाएर एउटा प्रतियोगिता गरेर खेलाडी छान्ने चलन थियो । तर यस पटक भैरहवा, कलैया, काठमाडौं, विराटनगर, नेपालगञ्ज र धनगढीमा ट्यालेन्ट हन्ट प्रतियोगिता गरेर खेलाडी छानिएको थियो । ट्यालेन्ट हन्टबाट शुरुमा ५६ जना छनोट गरिएको थियो । ५६ बाट ४२ र १९ हुदै अन्तिममा १५ खेलाडी छनोट गरिएको हो । अन्तिम १५ मध्ये ६ खेलाडी वाहेक सबै ट्यालेन्ट हन्टबाटै छानिएर आएका हुन् । सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, अविनाष कर्ण, नन्दन यादव, कमलसिंह ऐरी र सन्दिप सुनार भने यसअघि पनि यु–१९ टोलीको प्रशिक्षण सिविरका अनुभवी हुन् । आसिफ शेख र आदिल खानले यसअघि यु–१६ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे पनि अरु नयाँ अनुहार हुन् ।  

‘यो आइडिया मन परेर मैले नै प्रस्ताव गरेको हुँ,’ विनोदले भने, ‘३०, ३५ जनामा सिमित हुनुभन्दा ६ ७ सयबाट छान्नु पक्कै पनि राम्रो हो । यसले हामीलाई फाइदा भएको छ ।’
 

प्रकाशित: २७ मंसिर २०७३ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App