खोइ सिकाइ संस्कृति ?

सोमबार, १६ मङि्सर २०७६, ०८ : ४९ रत्न प्रजापति

सिकाइ संस्कृतिलाई हाम्रो शिक्षण पद्धतिमा अपनाइएकै छैन भन्दा पनि हुन्छ। त्यसैले हाम्रा विद्यालयहरूमा बालबालिकालाई पढाइन्छ, तर सिकाइँदैन। त्यसैले हाम्रा बालबालिका दिनभर धेरै पढ्छन्, धेरै कुरा सिक्छन्, तर सीप सिक्दैनन्। उनीहरू पढ्न–लेख्न जान्दछन्, तर काम गर्न जान्दैनन्। किताबका कुरा पढाइन्छ, घोकाइन्छ र त्यही रटाइन्छ। जसले पढेको, घोकेको, रटेको कुरा जाँचमा दुरुस्त लेख्न सक्यो, ऊ उत्तम विद्यार्थी ठहरिन्छ। जसले त्यसरी दुरुस्त लेख्न सक्दैन, ऊ खत्तम विद्यार्थी ठहरिन्छ। पढेका कुरा मात्रै काम लाग्छन् जाँचमा, सिकेका कुरा काम लाग्दैनन्। जाँचमा त जे पढाइएको छ, घोकाइएको छ र रटाइएको छ, त्यसैका आधारमा मूल्यांकन हुन्छ। विद्यार्थीले उत्तरपुस्तिकामा जे लेखेका छन्, त्यसैका आधारमा मात्रै उसको ज्ञानको मूल्यांकन गरिन्छ। उसका सीप र क्षमता मूल्यांकन गर्ने पद्धति त अपनाइएकै छैन। हाम्रो विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा पद्धतिको सबैभन्दा ठूलो कमजोरी र सोचनीय पक्ष यही हो।

लिखित जाँचका आधारमा मात्रै विद्यार्थीको क्षमताको मूल्यांकन गर्ने पद्धति नै अहिलेको सन्दर्भमा असान्दर्भिक र अव्यावहारिक साबित भइसकेको छ। सिकाइ र सिकाइ क्षमताका आधारमा विद्यार्थीको क्षमता मूल्यांकन गर्ने पद्धति लागू नहुनु विडम्बना हो। बालबालिकालाई खेलाईखेलाई अथवा देखाईदेखाई सिकाउनेभन्दा घोकाईघोकाई पढाउने शिक्षण पद्धतिले गर्दा बालबालिकाले विद्यालयमा ज्ञानगुनका दुई÷चार कुरा त सिक्छन्, तर व्यवहारोपयोगी सीप सिक्ने अवसर पाउँदैनन्। हाम्रो देशको सन्दर्भमा साना कक्षामा मात्रै होइन, विश्वविद्यालयसम्म पनि यस्तै पाठ्यक्रम र शिक्षण पद्धति रहेकाले अन्ततः सैद्धान्तिक ज्ञानवान् विद्यार्थी उत्पादन अधिक भए पनि सीपवान् विद्यार्थी उत्पादन एकदमै न्यून छ। यसले गर्दा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै भएका छन् भन्ने विज्ञहरूको भनाइ सत्य लाग्छ। पढाइ र सिकाइबीचको भिन्नता नबुझ्दा शैक्षिक बेरोजगारी कहालीलाग्दो बनेको छ। शिक्षाका सबै तह पार गरिसक्दा पनि व्यावहारिक सीप, क्षमता र दक्षता नहुँदा शिक्षितहरू जागिरकै खोजीमा भौतारिनुपर्ने अवस्थामा छन्। स्वरोजगार बन्ने अथवा उद्यम गर्ने सीपको अभाव छ। 

हाम्रो समाज र हाम्रा विद्यालयमा पनि सिकाइ संस्कृतिले भन्दा पढाइ संस्कृतिले जरो गाडेको छ। घर तथा विद्यालयमा पनि बालबालिकालाई पढ्न र पढाउनमा जोड दिइन्छ। विद्यालयमा हरेक दिन विद्यार्थीले पढ्नुपर्ने किताब–कापी बोकेका छन् कि छैनन् भनेर हेरिन्छ, गृहकार्य गरेका छन् कि छैनन् भनेर जाँचिन्छ। कक्षामा पढ्नुपर्ने किताब–कापी नबोके अथवा गृहकार्य नगरे सजाय दिइन्छ। तर बालबालिकाले विद्यालय आएर के सिके भन्ने कुराको जाँच गरिन्न। पढ्नु सँगसँगै सिक्न जरुरी छ भनेर बालबालिकालाई बुझाइएकै छैन, सिकाइएकै छैन। घरमा पनि बालबालिकाले विद्यालय गएर के सिके भनेर जाँच्ने गरिन्न। बालबालिकाले ‘होमवर्क’ समयमै सके बाबुआमा खुसी हुने प्रवृत्ति सबै घरमा छ। मात्रै होमवर्क नगर्दा विद्यालय र घरमा पनि गाली खानुपर्ने डरले बालबालिका जसोतसो होमवर्क पूरा गर्छन्। तर उनीहरूलाई होमवर्क किन गर्नुपर्छ र के सिक्नुपर्छ भनेर थाहा छैन र यस्ता कुरा उनीहरूलाई सिकाइएको पनि छैन। त्यसैले बालबालिकामा सिकाइप्रति तृष्णा छैन। बरु होमवर्क गर्नुपर्ने चिन्ता र गाली खानुपर्ने पिरले पढाइप्रति वितृष्णाचाहिँ छ।

वर्षभरिको पठनपाठनको मूल्यांकन दुई वा तीन घण्टाको जाँच होइन भनेर विद्यालयको निश्चित तहसम्म जाँच नै नलिने शिक्षण पद्धति पनि विश्वमा सुरु भइसकेको छ।

शिक्षण पद्धतिमा समयानुकूल परिवर्तन र परिमार्जन हुन नसक्दा र सिकाइप्रति तृष्णा जगाउन नसक्दा विद्यार्थीका लागि पढाइ एउटा बाध्यता मात्र बन्ने गरेको छ। पढ्नु र सिक्नुको भिन्नता सर्वप्रथम स्वयं शिक्षकले बुझ्न जरुरी छ। शिक्षक विद्यालयको प्रतिनिधि हो। त्यसैले शिक्षकले यो कुरा बुझ्नु भनेको विद्यालयले पनि बुझ्नु हो। फरकफरक रुचि र क्षमता भएका बालबालिकाको मूल्यांकन एउटै मापदण्डबाट गरिँदा त्यसमा असफल बालबालिकाले आफूलाई हरक्षेत्रमा असफल र अयोग्य ठान्ने गलत मानसिकतासमेत विकास हुने गरेको छ। जसले बालबालिकामा नैराश्यताले जरो गाड्ने गरेको छ। अचेल सानै उमेरदेखि डिप्रेसन हुने समस्या बढ्नुको एउटा कारण हाम्रो शिक्षा नीति र शिक्षण पद्धतिलाई पनि मान्न सकिन्छ।

पढाउने र सिकाउने शिक्षण पद्धतिबीच भिन्नता छन्। पढाउने पद्धतिमा कमजोर र गल्ती गर्ने विद्यार्थीलाई सबै विद्यार्थीका अगाडि सजाय दिइन्छ। सजाय भोग्ने विद्यार्थीले बेइज्जत महसुस गर्छ र भोलिदेखि विद्यालय जानै मन गर्दैन। विद्यालय जानु नै उसका लागि सजाय भोग्नुजस्तो हुन थाल्छ। यसरी विद्यार्थीलाई बेइज्जत गराउने र विद्यालयप्रति नै वितृष्णा जगाउने शिक्षण पद्धतिले शिक्षाको उद्देश्य त पूरा हुँदैन नै, लाखौं अभिभावकको लगानी पनि बालुवामा पानीजस्तो हुन जान्छ। विद्यालयमा विद्यार्थी भर्ना हुनुभन्दा उनीहरूलाई विद्यालयमा टिकाइराख्नु समस्याका रूपमा देखिनुको एउटा मुख्य कारण विद्यालयप्रति वितृष्णा नै हो भने घरको आर्थिक अवस्था अर्को कारण हो। त्यसैले विद्यालयप्रति आकर्षण र सिकाइप्रति रुचि जगाउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।

सिकाउने शिक्षण पद्धतिमा बालबालिकालाई सिकाइन्छ र सिक्यो वा सिकेन भनेर जाँचिन्छ। गल्ती गर्ने र सिक्न नसक्ने बालबालिकालाई सिक्न प्रेरित गरिन्छ। बालबालिकाले सिक्नै नसक्दा सिकाउनेको पनि कमजोरी छ कि भनेर खोजिन्छ र सुधार्ने उपाय सोचिन्छ। कमजोर बालबालिकाले बेइज्जत महसुस गर्नुपर्दैन र सजाय भोग्नुपर्दैन। सिक्न र आफ्नो सिक्ने क्षमता सुधार्न अनेक उपाय गरिने हुँदा बालबालिकाले आफू असक्षम र अयोग्य भएको महसुस पनि गर्नुपर्दैन। यसबाट उसमा विद्यालयप्रति वितृष्णा जाग्दैन र जिन्दगीप्रति निराशा पनि बढ्दैन। त्यसैले पढाउनेभन्दा सिकाउने शिक्षण पद्धतिको महŒव बढी छ।

जाँचलाई नै बालबालिकाको क्षमता जाँच्ने कसीका रूपमा लिनु हाम्रो कमजोरी हो। जाँचअघि बालबालिका बिरामी पर्नु र जाँच दिनै नपरोस् भन्ने चाहना राखेर अनेक बहाना गर्नु यही जाँचसँगको डर र आतंकको परिणाम हो। वर्षभरि पढेका वा सिकेका कुरा दुई वा तीन घण्टाको परीक्षाबाट जाँच्न खोज्नु नै गलत हो भन्ने मान्यता विस्तारै बढिरहेको छ।

वर्षभरिको पठनपाठनको मूल्यांकन दुई वा तीन घण्टाको जाँच होइन भनेर विद्यालयको निश्चित तहसम्म जाँच नै नलिने शिक्षण पद्धति पनि विश्वमा सुरु भइसकेको छ। बरु पढाइभन्दा सिकाइलाई बढी प्रभावकारी बनाउन र बालबालिकालाई सरल, सहज र प्रभावकारी ढंगबाट सिकाउन शिक्षक आफ्ना विषयप्रति कत्तिको अद्यावधिक छन् भनेर जाँच्ने पद्धति पनि कतैकतै सुरुवात भएको पाइन्छ।

पछिल्लो समय पढाइमा भन्दा सिकाइमा जोड दिने शिक्षण पद्धतिको विस्तार भएको छ। विशेषगरी निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय प्रचलन र गुणस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले सिकाइमा आधारित शिक्षण पद्धति अपनाउने विद्यालय खुलिरहेका छन्। युरोकिड्स, सेमरक, किड्जी, फास्टट्रयाककिड्स आदि नामका अन्तर्राष्ट्रिय फ्रेन्चाइजका पूर्वप्राथमिक विद्यालयहरू नेपालका सहरहरूमा पनि खुलिरहेका छन्। यिनले जसरी पनि जाँच पास गर्नैपर्ने शिक्षाभन्दा सिकाइमा आधारित शिक्षालाई जोड दिने गरेका छन्। यी पूर्वप्राथमिक विद्यालयहरूले आफ्ना छोराछोरीले जसरी पनि धेरै अंक ल्याएर जाँच पास गरोस् भन्ने मान्यता राख्ने अभिभावकको मानसिकतामा पनि परिवर्तन ल्याइदिएका छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad