coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्याडमिन्टन टिम इभेन्टमा पदक पक्का

पोखरा - महिला तथा पुरुष टिम इभेन्टमा ब्याडमिन्टनतर्फ पदक पक्का गर्दै १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा सुरु भएको छ। पोखरामा आयोजना हुने आठ खेलमध्ये आइतबार पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा नेपाली महिला र पुरुष खेलाडीले टिम इभेन्टमा पदक पक्का गरेका हुन्।

पुरुषतर्फ नेपाली टोलीले भुटानी टोलीलाई पराजित गर्दै सेमिमफाइनल प्रवेश गरेसँगै पदक पक्का भएको हो। महिलातर्फ बंगलादेशी टोलीको चुनौती पन्छाउँदै नेपाली खेलाडीले पदक पक्का बनाएका हुन्। नेपालका लागि रत्नजित तामाङले भुटानका अनिस गुरुङलाई २१–६, २१–९ को सोझो सेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरे। तामाङले भुटानी खेलाडीलाई पहिलो र दोस्रो दुवै सेटमा दबाब बनाउँदै सजिलो जित निकाले।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा दीपेश धामीले भुटानका नैडुप दोर्जेलाई सोझो सेटमा पराजित गर्दा २१–१३, २१–१४ को नतिजा निकाले। त्यसै गरी प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१–५ को सेटमा पराजित गरेपछि पदक पक्का हुन पुग्यो।

यसै गरी महिलातर्फको टिम इभेन्टमा नेपालकी नङ्सल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरिन्। त्यसै गरी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरेकी हुन्। यसै गरी अर्को खेलमा नेपालकी जेसिका गुरुङले बंगलादेशकी बिस्त्री खातुनलाई २१–१९, २२–२० को सेटले पराजित गर्दै पदक पक्का गरेकी हुन्।

सागका खेल पोखरामा पहिलो पटक आयोजना गरिएको हो। पोखराले २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर जुरेको थिएन। यद्यपि साग पहिलो पटक आयोजना गर्ने जिम्मेवारीलाई पोखराले भव्य रूपमा सुरु गर्दै खेलकुदको सहर भन्ने परिचय दिएको छ। ब्याडमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिएका छन्।

प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्दै पोखराको प्राकृतिक मनोरम दृष्यसँगै आयोजित सागमा खेलसँगै आतिथ्यता गर्न पाएकोमा गौरव अनुभूति भएको प्रस्ट्याइन्। ‘यो सुन्दर, तालै तालको सहरमा सम्पूर्ण खेलाडी तथा अफिसियललाई स्वागत गर्न चाहन्छु। साग पोखरालाई खेलकुद सहरको रूपमा परिचित गराउने यो महत्वपूर्ण अवसर हो,’ उनले भनिन्। महिला र पुरुष दुवै नेपाली टोलीले सेमिफाइनलका लागि श्रीलंकाली टोलीसँगै प्रतिस्पर्धा गर्नेछन्। आज सोमबार टिम इभेन्टको फाइनल हुने कास्की जिल्ला ब्याडमिन्टन संघका प्रथम उपाध्यक्ष नरबहादुर गुरुङले जानकारी दिए।

आज पोखरामा उद्घाटन
अन्योलै अन्योलबीच आज सोमबार १३औं दक्षिण एसियाली खेलकुद आयोजनास्थल पोखरामा आज सोमबार उदघाटन गरिँदै छ। उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन्। सातै देशका खेलाडीले नवनिर्मित फुटबल मैदानको ट्य्राकमा मार्चपास गर्नेछन्। पोखरा रंगशाला मुख्य प्रवेशद्वारसँगै सागका आयोजनास्थल सजाइएको छ। पोखराको खेलकुद इतिहासमै पहिलो पटक आयोजना गरिएको सागलाई भव्य बनाउन पोखराबासी सक्रिय बनेका छन्।

सातै देशका झन्डै फहराइएको छ। फुटबल मैदान रंगीन बनेको छ। हरियो दुबोसँगै रातो रंगको एथलेटिक्स ट्य्राकको पृष्ठभूमिका रातो र निलो रंगमा प्यारापिटका सिट छन्। मौसमले पनि पोखराको खेलकुदलाई न्यानो बनाइदिएको छ। स्वदेशी तथा विदेशी खेलाडीलाई पोखराको प्राकृतिक सौन्दर्यताले मोहित बनाइदिएको छ। सम्भवतः यस्तो प्राकृतिक दृष्यमा सागका खेलाडीले अन्यत्र खेल्न अवसर भने पाउँदैनन्।

सडक चारैतिर कालोपत्रे गरिँदै छ। धुलो मार्न पानी नियमित रूपमा छर्किएको छ। ब्युटिफिकेसनमा विशेष ध्यान दिइएको छ। गेटबाट प्रवेश गरेसँगै दुवैतर्फ हरियाली देखिन्छ। बीचमा ओलम्पिक रिङको आइल्यान्ड छ। बहुउद्देश्यीय कभर्ड हलतर्फ पनि हरियालीयुक्त पार्क बनाइएको छ। पार्कमा नेपालको झन्डा बनाइएको छ, जसले पोखरा रंगशालाको स्वरूप फेरिदिएको आभास हुन्छ।

प्यारापिट जडान, ट्य्राकमा मार्किङसँगै फुटबल मैदान अन्तिम तयारीमा छ। मार्किङ गर्ने कामसँगै गोलपोस्ट जडान गरिँदै छ। आर्चरीमा समेत स्वागतका लागि स्थानीय संघ आतुर रहेको छ। निर्माणाधीन अवस्थामा पनि भव्य कार्यक्रम गर्नेतर्फ पोखरा उद्यत छ। ब्याडमिन्टन खेलको औपचारिक उद्घाटन भइसकेको छ। सोमबार सागको उद्घाटनसँगै टिम इभेन्टको फाइनल प्रतिस्पर्धा हुनेछ। उद्घाटन समारोहकै दिन पोखरामा महिला क्रिकेटको प्रतिस्पर्धा सुरु हुनेछ। महिला फुटबल भने मंगलबारदेखि सुरु हुनेछ।

प्रकाशित: १६ मंसिर २०७६ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App