८ वैशाख २०८१ शनिबार
समाज

शिवकला जिल्लाकै एक्ली महिला वडाध्यक्ष

साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा निर्वाचित शिवकला राई। तस्बिर : नागरिक

खोटाङ – साकेला गाउँपालिका–३ खिदिमामा निर्वाचित वडाध्यक्ष शिवकला राई जिल्लाकै पहिलो र एक मात्र महिला वडाध्यक्ष बनेकी छन्। दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष हुँदा शनिबार सम्पन्न उपनिर्वाचनमार्फत उनी जिल्लामै एक मात्र महिला वडाध्यक्षको इतिहास रच्न सफल भएकी हुन्। तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित पति मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त पदपूर्तिका लागि गरिएको उपनिर्वाचनमा नेकपाले सहानुभूतिस्वरूप उम्मेदवार उठाएपछि शिवकला वडाध्यक्षमा निर्वाचित भएकी हुन्। स्थानीय निर्वाचन २०४९ र २०५४ मा पनि पुरुष मात्र वडाध्यक्ष भएको जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कुनै दलले महिलालाई वडाध्यक्षमा उठाएका थिएनन्। शिवकलाले भने आफ्नै पतिको निधन भएपछि वडाध्यक्षको कुर्सीमा पुग्ने अवसर पाएकी हुन्।

विद्यार्थी जीवनमा अखिलमा संगठित भएर राजनीतिमा प्रवेश गरेकी शिवकलाले २०६४ सालमा तत्कालीन एमालेको संगठित सदस्य बनेर पार्टी राजनीति सुरु गरेकी हुन्। खिदिमामा २०३२ माघ ७ गते जन्मिएकी उनले भगवती मावि खोटाङ बजारबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरेकी छन्। थप अध्ययनका लागि भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भए पनि विविध समस्याले अध्ययनलाई निरन्तरता दिन नसकेको उनी बताउँछिन्। भगवती मावि खोटाङबजारमा अध्ययन गर्नेक्रममै २०४७ सालमा अखिलको प्रारम्भिक कमिटी सदस्य बनेकी उनले भोजपुर बहुमुखी क्याम्पसमा पनि सोही पदमै बसेर काम गरिन्। गाउँमा कक्षा ७ भन्दा माथिल्लो कक्षा नभएकाले उनी मावि तहको अध्ययनका लागि खोटाङ बजार पुगकी थिइन्। पतिको निधनपछि जेठी छोरी ११ वर्षीया रुबी राई र कान्छी सात वर्षीया छोरी बेबिलोनसँग बसिरहेकी शिवकलालाई उपनिर्वाचनले वडाध्यक्षको कुर्सीमा पु-याएको हो।

उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई १७ मतले पछि पार्दै नेकपाका उम्मेदवार शिवकला वडाध्यक्षमा निर्वाचित भएकी हुन्। खसेका सात सय ९८ मतमध्ये उनले तीन सय ९१ मत र शुक्रले तीन सय ७४ पाएका छन्। खिदिमामा कुल मतदाता एक हजार तीन सय तीनमध्ये पाँच सय पाँच मत नखसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार मणिकुमारले दुई सय ७९, तत्कालीन माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकुमार राईले दुई सय ७१ र कांग्रेसका उम्मेदवार चौककुमार राईले एक सय ५८ मत प्राप्त गरेका थिए। यस हिसाबले कांग्रेसलाई हारका बाबजुद पनि उत्साह मिलेको देखिएको छ।

प्रकाशित: १६ मंसिर २०७६ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App