८ वैशाख २०८१ शनिबार
राजनीति

पहिले हार, अहिले जित

नवनिर्वाचित उपाध्यक्ष रुपा शाही । तस्बिरः नागरिक

वीरेन्द्रनगर- हुम्ला खार्पुनाथ गाउँपालिकामा तत्कालीन नेकपा एमालेबाट रुपा शाही २०७४ मा भएको निर्वाचनमा ७६ मतले पराजयी भइन्। हारबाट उनी विचलित भइनन्। अझ संघर्ष र पराजयलाई सिकाइका रूपमा लिइन्। त्यसको नतिजा उनले शनिबार सम्पन्न उपनिर्वाचनमा देखाइन्।

उपाध्यक्ष पदमा पराजय व्यहोरेकी उनले करिब अढाइ वर्षपछि सोही पदमा निर्वाचित भएकी छिन्। २०७४ सालको निर्वाचन नेपाली कांग्रेसकी सिन्दु हमाल शाहीले एक हजार १८ मत ल्याउँदै विजयी भएकी थिइन्। असार ३ गते कर्णालीमा नदीमा जिप खस्दा सिन्दुको निधन भएको थियो। सोही पदमा हार व्यहोरेकी रुपाले उपनिर्वाचनमा सहभागिता जनाएकी थिइन्। अहिले ६९ मतले कांग्रेसकी उम्मेदवारलाई पछि पार्दै उनी हारको बदला लिइन्। हारेर राजनीतिमा उदाएकी रुपाका लागि यो एउटा अवसर बनेको छ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका अनुसार एक हजार चार सय ५४ मत प्राप्त गर्दै रुपा निर्वाचित भएकी हुन्। यसअघि यही पद नेपाली कांग्रेसले जितेको थियो। शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत ल्याइन् । राप्रपा संयुक्तका दीपबहादुर शाहीले १० मत ल्याए। यहाँ दुई हजार आठ सय ६९ मत खसेको थियो।

‘अहिले मेरो आवश्यकता समाजले बुझेको छ,’ उनले भनिन्, ‘जनताको मागका आधारमा मैले उम्मेदवारी दिएकी हुँ।’ ‘उहाँहरू (मतदाता) ले मलाई जिताउनु भयो, विश्वास,’ उनले भनिन्, ‘हारको कारण म अझ थप सशक्त भएँ।’ ‘जनताले मलाई विश्वास गरे वडाबाट जिल्लामा सिफारिस गर्नुभयो,’ उनले भनिन्, ‘जिल्लाले आवश्यक ठानेर उम्मेदवार बनायो।’

पार्टी जनताका लागि इमान्दारीता, लगनशील र कर्तव्यनिष्ठ भएर काम गर्दा अहिले पुनः उपाध्यक्ष पदमा विजयी भएको उनको भनाइ छ। महिला, दलित, जनजातिलगायत गाउँपालिकाको अन्य विकासमा इमान्दारीकताका साथ काम गर्नेभन्दै उनले बताइन्। यहाँ अध्यक्ष नेपाली कांग्रेसले जितेको छ। खार्पुनाथमा पाँचवटा वडा छन्।

प्रकाशित: १५ मंसिर २०७६ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App