७ वैशाख २०८१ शुक्रबार
अन्य

अफिम: रोचक तथा खतरनाक लागू पदार्थ

अफिम धेरै वर्ष पहिलेदेखि नै औषधिको रुपमा प्रयोग हुँदै आएको छ । कडाभन्दा कडा दुखाइ पनि कम गर्ने यसको क्षमता भएकोले हजाराैं वर्षदेखि यसलाई औषधिको रुपमा प्रयोग गरिँदै आएको हो ।

हिप्पोक्रेट्स युनानी चिकित्सक आधुनिक मेडिसिनका पिता मानिनु हुन्छ । वहाँले अफिमलाई औषधिको रुपमा प्रयोग गर्नु हुन्थ्यो । त्यस्तै गरेर त्यसपछिका अन्य कतिपय चिकित्सकहरुले अफिमको दुखाई कम गर्ने खुविबारे प्रशस्त बयान गर्नुभएको छ ।

जर्मन चिकित्सक पारासेलसले सोह्रौं शताब्दीमा अफिमको टिन्चर बनाएर औषधिको रुपमा प्रयोग गर्नु भयो र त्यसपछि धेरै वर्षसम्म अफिमको टिन्चर एउटा अति आवश्यक औषधिको रुपमा रह्यो ।

हुन पनि विभिन्न दुर्घटना भएर इमरजेन्सीमा ल्याएका बिरामीहरु चोट लागेर, हड्डी भाँचिएर दुखाई वा पीडा सहन नसकी बिरामीहरु कराइरहेका हुन्छन् त्यसबेला अफिमजन्य पदार्थबाट बनाइएको सूई दिएको केही छिनमै दुखाइ कम हुन्छ र कराउन छोड्छन् । त्यस्तै हृदयाघात भएर छातीमा अत्यन्त पीडा भएको बेला मर्फिन वा पेथिडिनको सूई लगाएपछि मात्र दुखाइ कम हुन्छ । अफिमजन्य पदार्थले पीडा भएको बेला दुखाइ कम गरेर ज्यान बचाउने काम गर्छन् । दुखाइ कम गर्न तीन चारपटक सुई लगाएका व्यक्तिहरुको अनुभव यस्तो छ दुखाइ हराउने, कुनै चिन्ता वा टेन्सन नहुने र परम आनन्द हुने बताउँछन् । यसबाट पनि हामी अनुमान लगाउन सक्छौँ, औषधिको रुपमा अफिम कति महत्वपूर्ण रहेछ ।

क्यान्डेस बी पर्टले लेखेको पुस्तक ‘मोलीक्यूल्स अफ इमोसन्स’ मा आफूले मर्फिनको इन्जेक्सन पटक–पटक लिँदाको अनुभव यसरी लेख्छिन् ‘घोडाबाट लडेर उनको कम्मरको हड्डीमा चोट लाग्यो, अस्पतालले बेडमा कैयाैं दिन सुत्दा दुखाइ कम गर्ने मर्फिनको इन्जेक्सनले दुखाइ त कम गर्‍यो नै, साथै चिन्तारहित अत्यन्त आनन्दको अनुभव भयो, मानौं संसारमा अरु कुनै कुराको आवश्यकता नै छैन’ । पछि उनी अफिमजन्य पदार्थले कसरी काम गरेर यस्तो आनन्द दिन्छन् भन्नेबारे अनुसन्धानमा लागिन् र निकै प्रख्यात पनि भइन् त्यसबारे केही पछि चर्चा गर्नेछु ।

यो उदाहरणबाट औषधिको रुपमा बिरामी परेको बेलामा प्रयोग गर्दा अफिमजन्य पदार्थबाट बनाएका औषधिले दुखाइ कम गर्न, आनन्द दिन, निद्रा लगाउन र ज्यान बचाउनसमेत महत्वपूर्ण योगदान गर्ने रहेछन् भन्ने कुरा प्रस्ट हुन्छ ।

अफिम कसरी प्राप्त हुन्छ ?

अफिमको बोटलाई (ह्वाइट पपी) भनिन्छ । यसको पाकेको फललाई चक्कुले काट्दा दूधजस्तो सेतो चोप वा रस निस्कन्छ, यसैलाई सुकाएर जम्मा गरिन्छ । सुकाएर तयार पारिएको अफिम खैरो वा कालो रंगको हुन्छ ।

अफिममा धेरै किसिमका रासायनिक पदार्थहरु हुन्छन् । तीमध्ये दुखाइ कम गर्ने मुख्य रासायनिक पदार्थलाई मर्फिन भनिन्छ । अफिमबाट अफिन सन् १८०६ मा एकजना जर्मन रसायन शास्त्री फ्रेडरिकले पहिलोपटक निकालेका थिए । उनले नै यो दुखाइ कम गर्ने पदार्थको नाम मर्फिन राखेका थिए । मर्फिन नाम किन राखियो भन्ने कुरा पनि चाखलाग्दो छ । मरफियसलाई युनानी सपनाका देवता मानिन्छ । फ्रेडरिकले यिनै देवताको आदरस्वरुप, आफूले पत्ता लगाएको रासायनिकको नाम मर्फिन राखेका थिए । मरफियसको नामबाटै होला मर्फिनको इन्जेक्सनलाई नेपालमा पनि मर्फिया भन्ने चलन थियो । मर्फिनको दुखाइ कम गर्ने शक्तिकै कारण शायद यसको नाम सपनाको देवतासँग जोडिएको होला ।

त्यस्तै अफिममा रहेको अर्को रासायनिक कोडिन हो कोडिनले पनि सामान्य दुखाई कम गर्छ र सुक्खा खोकीलाई दवाउन सहयोग गर्छ । त्यसैले कोडिनका चक्कीहरु र कोडिन मिलाएको खोकीका झोलहरु बजारमा औषधिको रुपमा पाइने गर्थे ।

रसायनशास्त्रीहरुले मर्फिनमा दुखाई कम गर्ने शक्तिको अध्ययन गरे, यसको वनावटबारे अध्ययन गरे र अझ दुखाइ कम गर्ने रासायनिक बनाउन सकिन्छ कि भन्ने अध्ययन गरे । मर्फिनको वनावटमा थोरै हेरफेर गरेर एउटा नयाँ रासायनिक तत्व निकाले जसलाई डाइएसिटाएल मर्फिन भनिन्छ । यो रासायनिकको दुखाई कम गर्ने शक्ति मर्फिनको भन्दा दुई गुणा बढी पाइयो । यस्तो धेरै पावर भएको औषधिको नाम पछि हेरोइन राखियो किनकि यसको दुखाइ कम गर्ने शक्ति साच्चै नै शक्तिशाली थियो ।

आजकल अफिमबाट मर्फिन र हेरोइन बनाइन्छ । पेथिडिन र मेथाडोन रासायनिक प्रक्रियाले बनाइएका औषधि हुन् ।

दुखाइ कम गर्ने कुरा गर्दा हामीहरु सबैले प्रायः शरीरको कुनै न कुनै दुखाइको अनुभव गरेका छाैं । टाउको दुख्ने, दात दुख्ने, पेट दुख्ने या घाउ चोटपटक लागेर दुख्ने आदि । कतिपय दुखाइहरु केही समय पछि कम भएको पनि हामीले अनुभव गरेका छाैं । हाम्रो मस्तिष्कमा विभिन्न रसहरु छन् र तिनीहरुको छुट्टाछुट्टै कामहरु हुन्छन् । ती रसहरुमध्ये अफिमजन्य पदार्थहरुको जस्तै गुण भएका रासायनिक तत्वहरु पनि हाम्रो मस्तिष्कबाट निस्कन्छन् जसलाई (इन्डोरफिन्स) भनिन्छ । अफिमजन्य पदार्थहरु जस्तै इन्डोरफिन्सको काम पनि दुखाइ कम गर्ने र मनलाई आनन्द दिने हो । घाँउ चोटपटकका कारण वा शरीर अन्य कारणले दुख्दा हाम्रो मस्तिष्कमा भएका इन्डोरफिन्सले दुखाइ कम गर्छन् । शारीरिक ब्यायाम गर्दा वा ध्यान गर्दा पनि यिनै इन्डोरफिन्सहरुले मनमा आनन्द दिन्छन् ।

अहिले सम्म हामीले अफिम तथा अफिमजन्य पदार्थबारे यी कसरी प्राप्त हुन्छन्, नाम कसरी रह्यो राम्रा पक्ष के हुन् भन्ने बारे कुरा गर्‍याैं । अब यी पदार्थले के कस्ता हानि गर्छन् भन्ने जानकारी लिउँ ।

अफिमजन्य पदार्थको दुरुपयोग:

पहिलो एउटा उदाहरण: एकजना हेरोइनको इन्जेक्सन आफूले आफैँलाई लगाउने युवकलाई उपचार गराउन उनका सम्पन्न बाबुले लिएर जँचाउन आए । युवकका पिता निकै चिन्तित थिए, तर युवक केही आक्रोशित देखिन्थे । के तपाइ लागूपदार्थ हेरोइन छोड्न चाहनु हुन्छ ? भन्दा “मैले कुनै पनि हालतमा छोड्दिन” भने । किन छोड्न चाहनु हुन्न भन्दा उनको जवाफ थियो ‘यसले दिने आनन्द संसारमा अरु कुनै कुराले दिन सक्दैन, विश्वास लाग्दैन भने तपाईंले आफैं लगाएर हेर्नुस्, छोड्न मन लाग्ने छैन’।

यस्तै हेरोइनको लत लागेर १० वर्षदेखि प्रयोग गर्दै आएका फसेका व्यक्तिले आफ्नो दुःख सुनाए ‘छोड्न सक्दिन, ड्रग लिँदा पहिले जस्तो आनन्द आउँदैन, एकैछिनमा आनन्द हराउँछ, लाखौँ लाख उडाए होला, केहीले पुग्दैन । मर्नु न बाँच्नु भएको छ ।

सबै लागूपदार्थ प्रयोगकर्ताहरुको कथा यस्तै हुन्छ, लागूपदार्थ छोड्न प्रायः नसक्ने, यसमै लाग्दा आफ्नो क्यारियर, पढाइ वा प्रगति गर्न नसक्ने हुन्छन् । लागू पदार्थ सुरु नै नगर्नु सबैभन्दा उत्तम हो । हुन त केही उच्च मनोबल भएका व्यक्तिले छिट्टै लागू पदार्थ छोडेर यसको लतमा मानिसहरु नफसून भनेर काम गर्ने उदाहरणहरु पनि छन् ।

अफिमजन्य पदार्थहरु जस्तै मर्फिन, हेरोइन आदिले दुखाइ कम गर्नुको साथै मनलाई आनन्द दिन्छन् । आनन्दको खोजी गर्दै आफ्ना साथीहरुको लहै लहैमा केही युवायुवतीहरुले यस्तो लागूपदार्थ सेवन गर्न पुग्छन् र त्यसमध्ये कतिपय युवा युवतीले बारम्बार लागूपदार्थ लिन थाल्छन् र बानी पार्छन् । जसलाई लागूपदार्थको लत भन्दछौँ ।

हेरोइनजस्तो लागूपदार्थको इन्जेक्सन लगाउँदा एक किसिमको आनन्द आउँछ रे जसलाई “रस” भन्ने चलन छ । यसको अनुभव कस्तो हुन्छ भन्दा यसलाई महिला र पुरुषबीच यौन सम्बन्ध राख्दा चरम उत्तेजना हुँदा हुने आनन्दसँग तुलना पनि गर्ने गरिएको छ । कसैले यसलाई शब्दमा भन्न सकिन्न, अनुभव नै गर्नु पर्दछ भन्दछन् । शायद केही आनन्द, केही आकर्षण पक्कै होला त्यसैले जति खर्च भए पनि जस्तो समस्या परे पनि लागू पदार्थ लिइरहने गर्छन् दुव्र्यसनीहरु । थोरै समयका लागि भए पनि यसले पिर, चिन्ता, दुःख, समस्या आदि  बिर्साउँछ भन्छन् तर शायद केही घण्टा वा मिनेटपछि नै आफ्ना सबै समस्या जहाँको त्यहीँ हुन्छन् र एउटा यस्तो आदत परेको हुन्छ जसलाई सजिलै छोड्न सक्छु भनेर सबै लत लागेकाहरु भन्छन् तर केहीले मात्र छोडेर लागूऔषधको पञ्जाबाट छुट्कारा पाउँछन् ।

सबै अफिमजन्य पदार्थको आदत वा बानी पर्छ । सूईबाट लिन सकिने मर्फिन, हेरोइन, पेथिडिन आदिको छिटो बानी पर्छ भने चक्की वा झोलको रुपमा प्रयोग गर्ने कोडिन आदि पदार्थको केही ढिलो बानी पर्छ ।

नेपालमा मर्फिन वा पेथिडिनको सूई लगाउनेहरु शायद धेरै नै कम हुनुहुन्छ होला । मर्फिन वा पेथिडिनको लत लाग्ने सम्भावना अस्पताल/नर्सिङ होममा काम गर्ने मेडिकल लाइनकै स्टाफहरुमा पहिले पहिले देखिन्थ्यो । आजकल यीभन्दा बढी पावरफूल पदार्थहरु जस्तै हेरोइन पाइने र सूई लिनुको सट्टा अरु किसिमले पनि लिन सकिने हुँदा लागू पदार्थका प्रयोगकर्ताहरु हेरोइन मन पराउँछन् । यो निकै महँगो पर्ने, सजिलै नपाइने र बेलाबेलामा पाइँदै नपाइने भएमा प्रयोगकर्ताहरु बुप्रेनर्फिनको सूई लिनेतर्फ आकर्षित हुने गरेका छन् । बुप्रेनर्फिनको सूईले इच्छाअनुसारको आनन्द नदिए यसमा अन्य विभिन्न सूईहरु मिलाएर ककटेल सूई लिने तथा विभिन्न चक्कीहरुको सेवन गर्ने गरेको समेत पाइएको छ ।

कुरा हेरोइन कै गराैं । उपचारका लागि हेरोइन १० मिली ग्राम ठिक मात्रा मानिन्छ भने हेरोइनको लत लागि सकेको व्यक्तिहरुले कैयौं गुना बढी मात्रा आफ्नो तल तल मार्नका लागि प्रयोग गर्ने गर्छन् । लत लागेपछि टोलरेन्स बढ्छ, यसले दिने आनन्द वा “रस” भने घट्दै जान्छ । अफिमजन्य लागूपदार्थ लिएपछि मस्तिष्कबाट डोपामिन नामको रासायनिक पदार्थ वा न्युरोट्रान्समिटर रिलिज हुन्छ र यसैले आनन्दको अनुभव गराउँछ । यहाँ “रस” भनेको केही समयका लागि हुने परमआनन्द हो । पहिलोपटक कुनै व्यक्तिले धेरै मात्रा हेरोइन लिने हो भने उसको ज्यान जाने सम्भावना धेरै हुन्छ अर्थात् (ड्रग ओभरडोज) भएर मुत्यु हुन्छ ।

हेरोइनको लत लागेकाहरुले हेरोइनको नशामा झुम्मिनका लागि अलि अलि गरेर मात्रा बढाउँदै लैजान्छन् र बढाएको मात्रालाई सहन गर्ने शक्ति पनि बढ्दै जान्छ । यसरी बढी मात्रा पचाउने बानीलाई टोलरेन्स भनिन्छ । यसको अर्थ सुरु सुरुमा थोरै औषधिले दिने नशा, पछि गएर बढी औषधिको मात्राले दिने रहेछ भन्ने पनि हो । कसै कसैले यसलाई शरीरको क्षमता बढेको, धेरै मात्रा लिएर पनि नलाग्ने भनेर लिन्छन् तर लत लागेर यस्तो भएको हो, शरीर बलियो भएर होइन । जस्तै रक्सीको लत लागेको मानिसले धेरै रक्सी खाएर पनि धेरै लागेको देखिँदैन त्यस्तै हेरोइनको लत लाग्दा पनि मात्रा बढ्दै जान्छ ।

हेरोइनको मात्रा बढी भएर लागू पदार्थ प्रयोगकर्ताहरुको मृत्यु पनि हुन सक्छ । कमसल खालको हेरोइन लिई राखेको व्यक्तिले कडा खालको वा असल खालको हेरोइनको त्यति नै मात्रा लियो भने ड्रग ओभरडोज भएर बेहोस हुने वा मृत्युसमेत हुने घटना पनि हुन सक्छन् ।

हेरोइन सेवन गर्ने तरिकाहरुमा टल्किने कागजमा हेरोइनको धूलो राखेर तलबाट पोल्ने र धुँवा पिउने तरिकालाई चेजिङ द ड्रागेन वा चेज गर्ने भन्दछन् । त्यस्तै गरेर हेरोइनको धुलोलाई पानीमा घोलेर, उमालेर, छानेर सिरिञ्जमा राखी इन्जेक्सन लगाउने चलन छ । यी तरिकाहरु लागूपदार्थ प्रयोगकर्ताहरुले अपनाउँछन् । हुन त यस्तो सुई लगाउनु खतरनाक हो तर लागूपदार्थ प्रयोग गर्नेहरुले खतराको प्रवाह गर्दैनन् । आफ्नो स्वास्थ्यबारे ख्याल गर्ने भए त लागू पदार्थ प्रयोग नै गर्दैन थिए होला ।

क्यान्डेस वी पर्टको रिसचबारे केही कुरा गरौँ – अफिमजन्य पदार्थले मस्तिष्कमा कसरी काम गर्छन् भन्ने अनुसन्धान गर्दै जाँदा, मस्तिष्कमा अफिमजन्य पदार्थका रिसेप्टर पत्ता लगाइन् र अध्ययनकै क्रममा मस्तिष्कले आफैँ आनन्द दिने पदार्थ इन्डोरफिन्स उत्पादन गर्छ भन्ने थाहा भयो । एक्युपन्चर गर्दा यिनै इन्डोरफिन्सले दुखाइ कम गर्छन्, शारीरिक व्यायाम गर्दा इन्डोरफिन्स रिलिज भएर आनन्द दिन्छन्, ध्यान गर्दा पनि इन्डोरफिन्स रिलिज हुन्छन् र यौन सम्पर्क राख्दा पनि आनन्द दिने तत्व यिनै इन्डोरफिन रिलिज भएर हो भन्ने उनले लेखेको “मोलिक्युल्स अफ इमोसन” मा छ ।

लगूपदार्थ प्रयोगकर्ताहरुको उपचार गर्दा एक्युपञ्चर तरिका पनि अपनाइन्छ । शारीरिक व्यायाम पनि उपचारको महत्वपूर्ण अंग हो । अब विज्ञानले मस्तिष्कबाट चाहिएको बेलामा इन्डोरफिन्स रिलिज गर्ने तरिका थाहा पाउन सक्यो भने ड्रग एडिक्टको उपचारमा पनि सहयोगी हुन सक्छ ।

अफिमजन्य लागू पदार्थको लत लाग्दा देखिने लक्षणहरु:

*    लागू पदार्थ सेवन गर्ने तल– तल लाग्ने र जसरी भए पनि लागू पदार्थ सेवन गरौँ भन्ने विचार आउने/इच्छा हुने ।
*   लागू पदार्थ सेवन गर्दिन भनेर मन थाम्न नसक्ने, यसको प्रयोग नगरिकन बस्न नसक्ने ।
*    लागू पदार्थ सेवन गर्न नपाउँदा विभिन्न लक्षणहरु देखिने (जसको बारेमा यसपछि जानकारी दिइएको छ )
*    टोलरेन्सका लक्षणहरु: लागू पदार्थको नशामा झुम्न वा आनन्द लिन वा सुरु सुरुमा अनुभव गरेको आनन्द लिनका लागि लागू पदार्थको मात्रा बढाउदै लैजानुपर्ने ।
*    अन्य मनोरञ्जन दिने तथा आफूलाई चाख लाग्ने कुराप्रति ध्यान दिन छाड्ने । लागूपदार्थ कसरी प्राप्त गर्ने, कति बेला सेवन गर्ने, कसरी पैसाको व्यवस्थापन गर्ने वा कसरी यसलाई घटाउने/छोड्ने आदिमा समय बिताउने ।
*   आफ्नो शारीरिक, मानसिक, आर्थिक, पारिवारिक, सामाजिक आदि क्षेत्रमा नकारात्मक असर पर्दा पनि नचेत्ने लागू पदार्थ सेवन गरी राख्ने ।

अफिमजन्य लागूपदार्थको बानी परेकाहरुले लागू पदार्थ लिन नपाउँदा देखिने लक्षणहरुः

*    टाउको दुख्ने, पेट दुख्ने र शरीरका मांसपेशीहरु दुख्ने तथा कर कर खाने
*    वाक वाकी लाग्ने, उल्टी हुने तथा पखाला लाग्ने
*    आँखाको नानी फुल्ने
*    मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने ।
*    हाइ आउने ।
*    नाक र आँखाबाट सिगान तथा आँसु बग्ने ।
*    शरीरका रौंहरु ठाडठाडो हुने ।
*    मन आत्तिने र छटपटी हुने ।

यस्ता लक्षण भएका बिरामीहरुलाई के तपाईं कुनै लागूपदार्थ सेवन गर्नु हुन्छ भनेर सोध्दा ब्राउन सुगर वा कफ सिरफ वा कोडिनका चक्कीहरु वा कुनै अफिमजन्य पदार्थको सूई लिन्छु भन्ने उत्तर आउँछ । नेपालमा प्रयोग हुने हेरोइनलाई ब्राउन सुगर भन्ने चलन छ । हेरोइनलाई ह्वाइट सुगर पनि भन्दछन् किन कि यो सेतो चिनीको दानाजस्तो हुन्छ ।

अफिमजन्य पदार्थ जस्तै हेरोइनको मात्रा बढी भएर ल्याएको बिरामी भने:

*    पूरै बेहोस हुन सक्छ वा अलि अलि मात्र होस भएजस्तो अवस्थामा हुन सक्छ ।
*    स्वास–प्रश्वास क्रिया हुनुपर्नेभन्दा कम हुन्छ  
*    आँखाको नानी धेरै खुम्चिएको हुन्छ ।

यस्ता बिरामी सिकिस्त हुन्छन् र समयमा राम्रो निदान भएन र राम्रो उपचार पाएनन् भने ज्यान जान सक्छ । कुनै पनि अफिमजन्य लागूपदार्थका प्रयोग कर्तामा माथि दिइएका लक्षणहरु देखिए भने तुरुन्तै अस्पताल लैजाने र लागूपदार्थ लिने बानी छ भनेर चिकित्सकलाई जानकारी दिनुपर्छ ।

लत लागेकाहरुलाई कसरी सहयोग गर्ने ?

*    उनीसँग कुरा गर्ने, उनका कुरा सुन्ने । उनको जीवनको उद्देश्य के हो त्यसबारे कुरा गर्ने ।
*    लागूपदार्थ सेवनका कारण भएका नराम्रा वा राम्रा कुराहरु के–के छन् त्यसबारे छलफल गर्ने र उनका कुरा सुन्ने ।
*    उनीसँग विवाद गर्ने, रिसाउने, सल्लाह दिने, धम्की दिनेजस्ता क्रियाकलापहरु नगर्ने ।
*    उनले के निर्णय लिन चाहन्छन् त्यो कुरा सुन्ने उनी आफ्नोबारे निर्णय लिन स्वतन्त्र छन् भन्ने । बल प्रयोग   गरेर उनको निर्णय बदल्न सकिन्न भन्ने याद राख्ने ।
*    यस्तो निर्णय लिन दिँदा, उनको लागूपदार्थ छोड्ने मनसाय पाइएन भने, यसबारे हामी केही दिनपछि फेरि भेटेर कुरा गराैं भन्ने । फेरि भेट्न आउँदा आफ्ना परिवारका सदस्य आफ्नो लागू पदार्थ सेवन नगर्ने वा लागू पदार्थ सेवन पहिले गरेर छोडेको साथीलाई सँगै लिएर आउने सल्लाह दिने ।
*   नारकोटिक्स एनोनिमस नामको संस्था छ भने त्यहाँ जाने सुझाव दिने । त्यस्तो ठाउँको ठेगाना र आवश्यक परे एप्पाइन्टमेन्ट समेत लिइदिने ।
*    लागू पदार्थ प्रयोगकर्ताको परिवारसँग सम्पर्क राखी लागूपदार्थ प्रयोगकर्ताको समस्याबारे जानकारी दिने ।
*    परिवारमा वातावरण के छ, तनावको समस्या छ/छैन र यदि छ भने कसरी तनाव घटाउन सकिन्छ कुरा गर्ने ।
*    परिवारलाई नारकोटिक्स एनोनिमस तथा अन्य उपचार गर्ने संस्थाबारे जानकारी दिने ।

भनिन्छ, मानिसहरु जन्मजात नै एक आपसमा सम्बन्ध राख्न चाहन्छन् र प्रेम पूर्वकको व्यवहार गर्न चाहन्छन् । जीवनमा खुसी हुन र स्वस्थ रहन पनि यस्ता सम्बन्धहरु महत्वपूर्ण मानिन्छन् । यदि विभिन्न कारणहरुले युवा युवतीहरुले यस्तो सम्बन्ध बनाउन सकेनन् भने, मनलाई सन्तुष्ट पार्ने अन्य कार्यतर्फ आकर्षित हुन्छन् ।

कुनै ठूलो आघात पर्दा पनि के कुराले आफूलाई सन्तुष्टी दिन्छ भनेर खोजी हुन्छ । जुवा खेल्ने, युट्यूवमा पोर्नो पिक्चर हेर्ने या लागूपदार्थको प्रयोग गर्नेतर्फ लाग्न सक्छन् । लागूपदार्थ प्रयोग कर्ताहरुलाई हेला गर्ने, नराम्रो दृष्टिले हेर्ने घृणा गर्ने, जेलमा हाल्ने आदिले समस्या झन् बढ्छ । किन लागूपदार्थतर्फ आकर्षण बढ्यो भन्ने खोजी गर्दा र प्रेमपूर्ण व्यवहारले समस्या घट्छ ।

अन्त्यमाः लागूपदार्थको समस्या जटिल छ, समस्याका समाधानहरु विभिन्न छन्, उपचार सम्भव छ तर समय लाग्न सक्छ । युवा÷युवतीलाई लत लाग्न नदिनु उत्तम हो त्यसका लागि परिवार पहिलेदेखि नै सजग हुनुपर्छ । घर, परिवार, वातावरण, माया, ममता, भावनात्मक सम्बन्ध, सामाजिक परिवेश आदि सबै महत्वपूर्ण छन् । समय बदलिएको छ, जेनेरेसन ग्याप छ यसबारे पनि ख्याल राख्नुपर्ने हुन्छ ।

 

 

प्रकाशित: १५ मंसिर २०७६ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App