coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

देवल विमानस्थलको स्तरोन्नति र कालोपत्रेमा ढिलाइ

बझाङ- देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ । ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको हो । 

विमानस्थलको काम नसकिँदा सुत्केरी महिला, बिरामी र दुर्घटनामा परेका व्यक्तिले समयमै उपचार नपाएर ज्यान गुमाएका छन् भने पर्यटक जिल्ला भित्रन पाएका छैनन् । 

विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्ने कामको जिम्मेवारी पाएको अमर कन्सट्रक्सनले २०७५ साउनमा १५ महिनाभित्र काम सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरेको थियो । तर काम अझै सकेको छैन । 

विमानस्थल पुनः सञ्चालन हुने भन्ने खबर सुन्दा स्थानीय निकै खुसी भएका थिए ।  ठेकेदारले जिम्मेवारीअनुसार समयमै काम नसक्दा विमानस्थल बन्नेमा आशंका पैदा भएको विमानस्थलनजिक होटल व्यवसाय गरिरहेकी जला धामीले बताइन्।

जहाज उडेको बेला दैनिक मान्छेको आवतजावतले राम्रो कारोबार हुने गरेकामा जहाज आउन बन्द भएपछि कारोबार घटेको उनको गुनासो छ । विमानस्थल पिच भए फेरि कारोबार ब्युँतिने आसमा रोजगारीका लागि भारत गएका श्रीमानलाई होटलका भाडाँकुडा लिएर आउन अह्राएकी उनी विमानस्थल नबन्दा निराश छिन् । 

२०३५ सालमा निर्माण गरिएको यो कच्ची विमानस्थल २०६५ सालसम्म सञ्चालनमा थियो । २०६५ मा तत्कालीन माओवादी विद्रोहीले विमानस्थलको टावरमा दुईपटक बम विष्फोट गराई क्षतिग्रस्त बनाएपछि नेपाल वायुसेवा निगमले नियमित उडान भर्न छोडेको थियो । अन्य विमान कम्पनीले कच्ची विमानस्थलमा उडान गर्न नमानेपछि त्यसयता यो यहाँ जहाज आएका छैनन् । 

बझाङलाई बाहिरी जिल्लास“ग जोड्ने एकमात्र सडक जयपृथ्वी राजमार्ग पटकपटक बन्द हुने गरेको र वैकल्पिक यातायातको माध्यम हवाई सेवा पनि बन्द भएकाले बझाङबासीले समस्या झेल्दै आएका छन् । 

हिउ“दे वर्षा र बर्खाको बेला ठाउँठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुँदा आपतकालीन विरामीले बर्सेनि ज्यान गुमाउने गरेका छन् भने यात्रुले पनि सास्ती भोग्दै आएका छन् । 

दुई वर्षयता जयपृथ्वी राजमार्ग पटकपटक गरी ५१ दिन अवरुद्ध भएको अभिलेख छ । यस अवधिमा उपचारको लागि धनगढी लैजाँदै गरेका सातजनाको बाटैमा ज्यान गएको छ । 

बझाङको यो समस्यालाई लिएर नागरिक अभियन्ता र सांसदहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पटकपटक डेलिगेसन गएपछि विमानस्थल कालोपत्रे गर्न रकम विनियोजन भएको थियो । पाँच करोड ५० लाखको लागतमा यो विमानस्थल स्तरोन्नतिको ठेक्का लागेको हो । 

कालोपत्रे गर्ने ठेक्का पाएको अमर कन्सट्रक्सनले १५ महिनाभित्र काम सम्पन्न गर्ने गरीसम्झौता गरे पनि प्राविधिक कारणले काम नसकिएको भन्दै आसोज २८ गते ६ महिना म्याद थपिएको छ । चैतभित्र काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि भरत न्यौपानेले बताए । 

बढीजसो बझाङ–नेपालगन्ज उडान भर्ने विमान कम्पनीहरुले नेपालगन्जबाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताएका थिए । तर धनगढी–बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई–तीनवटासम्म टिवनअटरलाई यात्रु पुग्ने सम्भावना रहेको विमान कम्पनीले बताउँदै आएका छन् । 

विमानस्थल सञ्चालन भए सर्वसाधारणलाई मात्र सुविधा नभई जिल्लाको पर्यटन विकासमा पनि टेवा पुग्ने स्थानीयको आस छ । उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले लामो समयदेखि विमानस्थल बन्द भएका कारण जिल्लामा आउने पर्यटक घटेका बताए  । 

उनले विमान सञ्चालनमा आएपछि साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, लगायत दर्जनभन्दा बढी पर्यटकीय स्थल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बताए । 

विमानस्थलको काम पूरा गर्न आफूले पटकपटक ठेकेदारलाई ताकेता गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

प्रकाशित: १५ मंसिर २०७६ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App