coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बेसार खेतीबाट मनग्य आम्दानी

सिन्धुलीको भिमानस्थित हाटबजारमा बेसार बेच्दै मुरली पौडेल। तस्बिर:अनिल/नागरिक

सिन्धुली - ल आयो ८० रुपैयाँ मानोमै शुद्ध बेसार। सिन्धुलीको तीनपाटन गाउँपालिका–२ मझुवाका मुरली पौडेल सिन्धुलीका हाटबजारमा यसरी नै ग्राहक बोलाइरहेका हुन्छन्। ग्राहक बोलाउँदा उनको घाटी मात्रै सुक्दैन, गोजीभरी पैसा पनि हुन्छ। पौडेल व्यावसायिक रुपमा बेसार खेती गर्ने सफल कृषकमा गनिन्छन्। करिब नौ वर्षदेखि उनी निरन्तर बेसार खेतीमा जुटेका छन्।

‘बिचौलियामार्फत बेसार बेच्दा आफूले भन्दा बढी बिचौलियाले नै बेसारको आम्दानी लिन्छन्। त्यसैले आफैंले खेती गरेर बेच्न बजारसम्म आफैं आएको हुँ,’ उनले भने। बेसार बेचेरै उनले चार सन्तानलाई उच्च शिक्षा दिँदै छन्। ‘जेठी छोरी काठमाडौं डिग्री पढिन्,’ उनले भने, ‘अर्की छोरी पनि उच्च शिक्षा नै पढ्दैछिन्,।’ उनले अन्य दुई छोरी पनि उच्च शिक्षा पढ्ने तयारीमै रहेको बताए।

वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले सुनाए। ‘पैसा कामाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन,’ उनले भने, ‘परम्परागत खेती गर्दा खान लगाउन समेत धौधौ हुन्थ्यो, बेसार खेतीले दैनिक जीवनयापन सहज भएको छ।’ २० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा बेसार खेती गरेको उनले बताए। बेसार खेतीका लागि ठूलो जनशक्ति र सीप आवश्यक नपर्ने भन्दै सहज रुपमा आम्दानी गर्न सकिने जनाए।

बेसार बारीमा लगाएको करिब सात महिनामा खन्न र बजार लैजान योग्य हुन्छ। बेसार खेतीका लागि सिँचाइको खासै आवश्यक पर्दैन। अन्य बाली उब्जनी नहुने बाझो पाखोमा बेसार लगाएर सदुपयोग गर्न सकिन्छ। पौडेलले भने, ‘मिहेनत अनुसारको आम्दानी हुन्छ। गत फागुन महिनामा लगाएको बेसार खनेर सुकाइसकेका छौं,’ पौडेलले भने, ‘यतिबेला बेसार बेच्न भ्याइनभ्याइ छ, शरीरभर पहेलपुर भएर बिक्री गर्नुपर्छ, बेलुका आम्दानी हेर्दा मन खुसी हुन्छ।’ बजारमा ल्याएको दिन पाँचदेखि सात हजार रुपैयाँको व्यापार गर्ने गरेको उनी सुनाउँछन्।

विभिन्न स्थानमा लाग्ने हाटबजार उनका लागि मुख्य बजार हो। सिन्धुलीको भिमानमा शुक्रबार लाग्ने हाटबजार, सिन्धुलीमाढीमा शनिबार र बुधबार लाग्ने हाटबजार र रामेछापको मन्थलीमा सोमबार लाग्ने हाटबजारमा प्रत्येक हप्ता बेसार बेच्न पौडेल पुग्छन्। बिचौलिया व्यापारी उनले उत्पादन गरेको बेसार किन्न गाउँमा नै पुग्छन्। तर, बिचौलिया व्यापारीलाई पौडेल बेसार बिक्री गर्दैनन्। ‘बिचौलिया व्यापारीका कारण उपभोक्ताले राम्रो बेसार पाउँदैनन,’ उनले भने, ‘मिसावट बेसारलाई महंगो मूल्य तिर्न बाध्य हुन्छन्।’

आफू पढ्न नसकेकामा उनलाई त्यति चिन्ता छैन। ‘मैले २ कक्षामात्रै पढेको छु,’ उनले भने, ‘आफूले पढ्न नसके पनि छोराछोरीलाई उच्च शिक्षा दिएर राम्रो भविष्य बनाउन सकिन्छ भन्ने लागेको छ।’ मिहेनत र परिश्रम गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। उनले व्यावसायिक बेसार खेती सुरु गरेपछि साहुँ महाजनकोमा काम गर्नुपर्ने बाध्यता पनि हटेको छ। विगत सम्झदै उनी भन्छन्, ‘मैले गाडी चलाउन छाडेर बेसार खेती गर्न थालेको हुँ, उसमै खुसी छुँ।’

उसो त पौडेलमात्रै नभनइ तीनपाटन गाउँपालिकामा मात्रै दर्जनौं किसान बेसार खेतीमा लागेका छन्। थोरै मिहेनतमा बाझौ जग्गामा बेसार खेती गरी सदुपयोग गर्न सकिने भएपछि तीनपाटनकै सुष्मा बस्नेत पनि बेसार खेतीमा जुटेकी छन्। विगत केही वर्षदेखि उनले यो बेसारखेती थालेकी हुन्। जिल्लामा किसान धान मकै गहुँजस्ता बाली लगाउन छाडेर नगदे बालीतर्फ आकर्षित हुँदैछन्। गहुँ, मकै, कोदोजस्ता बाली लगाउँदा मिहेनत उठाउनै मुस्किल हुने उनको बुझाइ छ। ‘तर, बेसार खेतीबाट भने मनग्य आम्दानी भएको महशुस गरेको छु,’ बस्नेतले भनिन्, ‘बेसार खेती गर्दा एक गराबाट १० देखि १५ हजारसम्म आम्दानी हुन्छ, यसैले घर खर्च, छोराछोरीको पढाइ सहजै पु-याउन सकिएको छ।

प्रकाशित: १५ मंसिर २०७६ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App