५ वैशाख २०८१ बुधबार
अर्थ

पर्यटकीय नगरीमा पर्यटन महोत्सव सुरु

प्रथम सूर्याेदय पर्यटन महोत्सव उद्घाटन गर्दै १ नम्बर प्रदेशमा मुख्यमन्त्री शेरधन राईलगायत। तस्बिर ः भीम÷नागरिक

करफोक (इलाम) - पर्यटन वर्ष सन् १०२० को प्रवद्र्धनका लागि आयोजित प्रथम सूर्याेदय पर्यटन महोत्सव शनिबार सुरु भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा उदाउँदो सूर्यको पूजा र करफोकमा आयोजित समारोहमा दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गरे।

पर्यटकीय नगरी सूर्याेदयमा पाँच लाख पर्यटक सहभागी गराउने लक्ष्यसहित आउँदो १८ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। नगरका विभिन्न ६ स्थानमा एकैसाथ महोत्सवका कार्यक्रम सञ्चालन हुनेछन्। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले सूर्योदय नगरमा अत्यन्त आकर्षक पर्यटकीयस्थल भएकाले नै यो नगरलाई प्रदेश सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरी बजेट विनियोजन गरेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न महोत्सवले सघाउनेछ,’ उनले भने, ‘पूर्वमा सूर्याेदय नगरपालिकाले आफूलाई प्रदेशकै नमूना बनाउँदै अघि बढेको थाहा पाएको छु, यो यात्रा निरन्तर रहोस्।’

मुख्यमन्त्री राईले संघीयतामार्फत् नागरिकको अधिकार केन्द्रबाट हात–हातमै आएको बताए। ‘अहिले नागरिकको घरदैलोमा स्थानीय सरकार छ, प्रदेश र संघीय सरकार पनि छन्,’ उनले भने, ‘संघीयता नभएको भए देश अझै धेरै वर्षसम्म पछि पर्नेथियो, अहिलेजस्तो नागरिकको अधिकार स्थापित हुनेथिएन।’ नेपालको पर्यटन विकास गर्न देशभित्रका पर्यटीयस्थलबारे नागरिक जानकार हुनुपर्ने उनको धारणा थियो। ‘हामीले देशभित्रै भएका पर्यटकीयस्थल चिनेनौं, देश चिनेनौं भने अरूलाई चिनाउन पनि सक्दैनौं,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने महोत्सवले स्थानीय ठाउँ र संस्कृति चिनाउने हो।’

मुख्यमन्त्री राईले अन्तुपोखरीमा फिसिङ कार्यक्रमको पनि उद्घाटन गरे। करफोकमा आयोजित समारोहमा स्थानीय लोपोन्मुख लेप्चासहित विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरियो। सूर्याेदय नगरपालिकाले श्रीअन्तु, गोर्खे, पञ्चकन्या, पशुपतिनगर, फिक्कल र कन्याममा एकसाथ महोत्सवका कार्यक्रम आयोजना गरेको छ। पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले गतवर्ष देशका सय गन्तव्य पहिचान गर्दा सूर्याेदय नगरको कन्याम–फिक्कल–अन्तु सर्किट पनि परेको थियो। यो नगरलाई १ नम्बर प्रदेशसभाले ‘पर्यटकीय नगरी’ घोषणा गरिसकेको छ।

महोत्सव अवधिभर पञ्चकन्यामा अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा विविध प्रतियोगिता सञ्चालन र परम्परागत वस्तु अवलोकनको कार्यक्रम राखिएको छ। गोर्खेमा सिंहदेवी मन्दिर पूजा धार्मिक मेला, रेडपान्डा ट्रेल, कृष्ण मन्दिर, तीनतल्ले झरना, नेपालको दोस्रो जलविद्युत् आयोजना, करिप्पाको ध्यानस्थल, गोर्खे, मानेभञ्ज्याङ रेडपान्डा अवलोकन र सांस्कृतिक कार्यक्रम राखिएको छ।

पशुपतिनगरमा फूल स्टल, जातीय खाना प्रदर्शनी, सस्तो बजार, सांस्कृतिक कार्यक्रम र आँखा शिविर आयोजना गरिँदैछ। कन्याममा स्थानीय गुम्बा अवलोकन, डम्फु साँझ, देउराली हाइक, चंगा चेट, सुन्दर घोडा प्रतियोगिता, रक्तदान र सांस्कृतिक कार्यक्रम गरिँदैछ। फिक्कल क्षेत्रमा टी टेस्टिङ तथा लघु उद्यम प्रदर्शनीस्थल, सांस्कृतिक कार्यक्रम, नाटक र समापन कार्यक्रम गरिने नगरले जनाएको छ।

महोत्सवमा आउने पाहुनाका लागि खाने–बस्ने होटल, सवारी साधनको भाडादर, मनोरञ्जन गराउने, खाना र फूललगायत स्थानीय उत्पादनका स्टल देखाउनेलगायत व्यवस्था गरिएको छ। महोत्सव अवधिभर यी ६ स्थानमा आउ–जाउ गर्ने सवारी साधनमा यात्रुले देख्ने स्थानमा भाडादर टाँस्नुपर्ने छ। नगरले भाडादरबारेको सूचना बोर्ड सार्वजनिकस्थलमा पनि राखेको छ। महोत्सवमा आउने पर्यटकले नगरपालिकाको टोल टोल फ्री नम्बरमा फोन गरी आफू बस्ने होटल र महोत्सव हुने स्थानसम्म पुग्ने सवारी साधनबारे जानकारी लिने सुविधा दिइएको छ।

प्रकाशित: १५ मंसिर २०७६ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App